२-१५ कात्तिक २०७१ | 19 Oct 1- Nov 2014

लाङटाङमा लम्कँदा

Share:
  
जहाँ रात पर्छ त्यहीं बसुँला भन्ने विचारले लाङटाङको प्राकृतिक छटा छिचोल्न सजिलो बनायो।

तस्वीरहरुः अरुणा उप्रेती
चार वर्षअघि रसुवाको लाङटाङ यात्रा गर्दा यस्तो राम्रो ठाउँमा परिवारका सदस्य लिएर अवश्य आउनेछु भन्ने सोचेकी थिएँ। यसपालिको दशैंमा त्यो सुयोग जुर्‍यो। सात दिने यात्रामा न पत्रपत्रिका वा टीभीको टन्टा न त इमेलको अलमल। १० घन्टा हिंड्दा पनि स्फूर्ति नै स्फूर्ति!

हाम्रो यो हिमाली कुना कति प्रसिद्ध भने हामी लाङटाङ निकुञ्ज प्रवेश गर्दा फ्रान्स, अमेरिका, जर्मनी, नेदरल्याण्ड, रसिया आदि मुलुकका पर्यटकको लर्को छुटिसकेको रहेछ– कोही एक्लै त कति जना परिवारसहित। हाम्रै डफ्फामा पनि स्याफ्रुबेसीबाट माल्दिभ्स र इष्टोनियाका पर्यटक मिसिएका थिए। लाङटाङ घुमेर फर्किरहेका दुईजना भारतीय बाटामा भेटिए। उनीहरू मुम्बईका रहेछन्। “कस्तो लाग्यो त यो ठाउँ?” भनेर सोध्दा उत्तर आयो, “अपशोचको बात यो छ कि हामी अरू दुई दिन यहाँ बस्न सक्दैनौं, अर्कोपल्ट पक्कै समय लिएर आउँछौं।”

सजिलो स्वर्ग

स्याफ्रुबेसीदेखि लाङटाङ र क्यानजिङ पुग्ने बाटो सजिलो छ। खाने–बस्ने सुविधा पनि राम्रै छ। दाल–भातको रु.४०० देखि रु.५०० तिर्दा नेपालीलाई केही महँगो हो कि भन्ने लाग्न सक्छ, तर सबै कुरा तलबाट बोकाएर ल्याउनुपर्ने हुनाले यसलाई महँगो मान्न सकिन्न। त्यसमाथि यहाँ न्यानो आतिथ्य पनि छ, प्रकृतिको छटा हेर्दै चिया पिउँदा रु.५० तिर्नुपर्‍यो भनेर चित्त दुखाउनै पर्दैन। यस्तै ठाउँ विदेशमा हुँदो हो त चियाको मूल्य रु.५०० हुन्थ्यो होला।

लाङटाङबाट तीन घण्टामा तीनतिरबाट हिमालले घेरेको क्यानजिङ पुगिंदो रहेछ, जहाँ राम्रा–राम्रा घर मात्र हैन, चिज कारखाना पनि रहेछ। हामीले क्यानजिङको चिज खाँदै र यताउता डुल्दै चौंरीका बथान नियाल्यौं। त्यहाँ दिउँसोको भात खाएर ४५ मिनेट हिंडेपछि एउटा चौंरी खर्क आइपुग्यो। हामी सुस्ताइरहेको बेला चौंरी धपाउँदै गोठमा आइपुगेकी एक जना ७५ वर्षीया हजुरआमाले हतार–हतार चौंरी दुहिन् र हामीसँगै आएका नातिलाई त्यो दूध क्यानजिङ पुर्‍याउन अह्राइन्।

लाङटाङमा लेखिका।
त्यतिमाथि एक्लै, चौंरी पालेर बसेकी हजुरआमा चिज कारखानालाई दूध बेच्दिरहिछन्। अब हिउँद लागेपछि चौंरी लिएर तल झार्ने बताउँदै उनले हामीलाई चूलो नजिकै बसाएर चिया ख्वाइन्। ३८०० मीटरको उँचाइमा एक्लो लाठेको जस्तो जीवन बिताइरहेकी उनले अँगेनाछेउको सामग्री देखाउँदै भनिन्, “यो चम्पा, आलु र चौंरीको दूध नै मेरो खान्की हो।”

हजुरआमाको सक्रिय जीवन देखेर छक्क परेका माल्दिभ्स र इष्टोनियाका सहयात्रीहरूले उनीसँग तस्वीर खिचे, हामीले पनि खिच्यौं। भोलिपल्ट हामी त्यहाँबाट अरू दुई घण्टा उकालो चढ्यौं, हिमाल झनै खुल्यो। बिहान १० बजेको न्यानो घाममा सरर्र हावा चलिरहेको छ। जता फर्क्यो, उतै आँखा टाँसिने हिमाली सौन्दर्य फिंजिएको छ। हामी हर्षातिरेकको अवस्थामा पुग्यौं। यो स्वर्गभूमिमा उभिएका हामी अवाक् हुन्छौं अनि फेरि विभिन्न किसिमका आवाज निकाल्न खोज्दै कराउँछौं।

बेलुका गोठ फर्केर आमैलाई खानामा फापर वा कोदोको ढिंडो बनाइदिनुस् भन्यौं। ढिंडो एक प्लेटको रु.४०० नै पर्दो रहेछ, भात खाए पनि उत्ति नै। यहाँका मानिसले ढिंडोको महत्व बुझेका रहेछन्। काठमाडौंका मानिसले चाहिं कोदो, फापरको महत्व कहिले बुझ्ने होलान्!

सेनाको वनकुकुर

लाङटाङ क्षेत्रमा चौंरी धेरै थिए, तर भेडा नदेख्दा अनौठो लागिरहेको थियो। लाङटाङका लाक्पालाई यसबारे सोध्दा उनले यो ठाउँको भेडी गोठहरू जङ्गली कुकुरले सखाप पारेको बताए। उनकै पनि २०–२५ वटा भेडा रहेछन्, तर आधाजसोलाई वनकुकुरले सिध्याएपछि बाँकीलाई आफैं मासेछन्। “पहिले भेडाको ऊनबाट थुप्रै मालसामान बनाएर बेच्थ्यौं”, उनले दुःख मान्दै भने, “वनकुकुरले हाम्रो त जीविका नै हर्‍यो।”

निकुञ्ज भएकोले ती वनकुकुरलाई मार्न पनि नपाइने रहेछ। यो सुनेर झन् अचम्म लाग्यो।

“ती कुकुर कताबाट आए?”

“निकुञ्जका सैनिकहरूले ल्याए”, लाक्पाले भने।

उनका अनुसार, यहाँ खटिएर आउने सैनिकहरूले आफ्नो पोष्टमा उब्रिने खाना खेर नफाल्न र वनको एकान्तमा वफादार साथीको लागि पनि होला केही कुकुर ल्याएर पालेछन्। कालान्तरमा ती कुकुरका थुप्रै छाउरा हुर्केछन्। धेरै भएपछि सैनिकका उब्रेका खानाले पुगेन, तिनका लागि राशन आउने कुरै भएन। अनि तिनीहरू जङ्गल पसेर जङ्गली भएछन्। तिनका लागि घरपालुवा सुधो जनावर भेडा सजिलो शिकार भएछ। निकुञ्जमा नयाँ प्रजातिको वन्यजन्तु थपिंदा नराम्रो त भएन, तर यसले एउटा परम्परागत पेशा नै समाप्त गरिदिएछ।

comments powered by Disqus

रमझम