२-१५ कात्तिक २०७१ | 19 Oct 1- Nov 2014

जनमनका गायक

Share:
  

बुलु मुकारुङ

लोकलहरी गायक तथा संकलक धर्मराज थापा (१९८१–२०७१) वि.सं. २००९ देखि रेडियो नेपालमा आबद्ध भई लोक–संस्कृतिको उत्थानमा लागेका हुन्। नेपाली लोकसंस्कृति प्रवर्द्धनकर्ता थापाले शुरुका दिनमा रेडियो नेपालमा प्रत्यक्ष (लाइभ) गायनमा सहभागी हुँदै डिस्क रेकर्ड मार्फत आफूले ग्रामीण बस्तीमा संकलन गरेका लोकगीत जनसमक्ष पुर्‍याएका हुन्। सुरुआती समयमा मास्टर मित्रसेनका गीत, गायन–गलाबाट निकै प्रभावित भएका उनले बर्मा, आसाम, सिक्किम, दार्जीलिङ तथा देहरादुन आदि नेपाली भाषी गाउँ–बस्ती घुमेर लोकलय संकलन गर्दै सुनाउँदै आएका हुन्। यतिबेला पनि उनलाई सम्झिने पुराना कलाकार तथा गाउँवासी निकै पाको उमेर भएका भेटिन्छन्, तत् क्षेत्रमा।

(१९८१ साउन – २०७१ असोज)

नेपाली लोक–संस्कृतिको संवाहकको प्रमुख भूमिका निर्वाह गर्ने अगुवा संगीतकर्मी थापा अब विस्मृतिको अदेखा स्थानतिर पुगेका छन्। उनका सिर्जना, कृति र साङ्गीतिक कर्म भने नेपाली संगीतको भण्डारमा सुरक्षित पाइन्छ। थापाले विश्वयुद्धहरूका बीच कलकत्तामा खुलेका एचएमभी, कोहिनूर, कोलम्बिया आदि रेकर्ड कम्पनीबाट अनेकन् डिस्क रेकर्ड निकाले। ती रेकर्डमा पाइने गीतमध्ये 'आज मादल बजेको किन...'–रचना/संगीत धर्मराज थापा, 'हरियो डाँडामाथि हलो जोत्ने साथी ...', 'जन्मेको देशलाई नेपाली भेषलाई...', 'हाम्रो तेन्जिङ शेर्पाले ...', 'तेन्जिङ तिमी संसारभरि ...', 'घिन्ताङमा घिन्ताङ मादलै बज्यो' –स्वर प्रेमध्वज प्रधान, 'काली पारे दाइ कति राम्रो ...', –स्वर तारादेवी, 'सिरीमा सिरी नि कान्छी बतासै चल्यो ...,' –स्वर नारायणगोपाल र ज्ञानु राणा,'बाघलाई हान्दा नि हो बघिनी मर्‍यो, –स्वर ज्ञानु राणा, 'घर सम्झ्ाी रोएको होला डाँडा काटी गएको नेपाली ...', 'धुरुधुरु नरोऊ आमा तिम्रो आँसु पुछेर छोडौंला ...', 'आज मलाई सञ्चो छैन लौरो टेकी आएँ ...', 'शिरमाथि नेपाल आमालाई ...' आदि हुन्।

अन्य गीतहरू उजेली मैयाँको स्वरमा 'आज मेरो हिमालको माटो रसिलो छ, आज मेरो नेपालको बाटो सजिलो छ' रचना धर्मराज थापा, संगीत हुतराज शर्मा, उर्मिलाकुमारी श्रेष्ठको स्वरमा 'नेपालीलाई', 'नेपाली कहाँ गयो हाम्रो गीत यसै हरायो', 'झमझम परेली आँखैकी गाजलु सम्झाउने कोही छैन' –संगीत अमरसिंह जेसल, 'यो माया आउने–जाने हो', 'उकालो चढ्ने ए परदेशी'–रचना/संगीत धर्मराज थापा आदि छन्। उनले निखनेका लोकलय, भाका वा गायन नितान्त लोकपरिवेशबाट टपक्क टिपिएका लाग्छन्। ती लोकलय नेपाली जनजीवन, थुम–गढी, रस्ती–बस्ती, घुमफिर गरी सँगालिएका संस्कृति भएकाले यस्तो लागेको हो। थापाले समाजकै भाका संकलन गरेर समाजकै निम्ति प्रस्तुत गरेकाले तिनलाई नेपाली भावनाले सहज स्वीकारेको हो।

लोकलय अन्वेषक थापाका लोकसंस्कृति सम्बन्धी मुख्य दुई कृति 'गण्डकीको सुसेली' र 'सगरमाथाको सेरोफेरो' प्रकाशित छन्, जसले थापालाई २०१३ सालमै 'जनकविकेशरी' को उपाधि दिलायो। २००९ देखि २०२६ सालसम्म रेडियो नेपालमा रहँदा उनले 'लोक मञ्जरी' कार्यक्रम सञ्चालक तथा लोकगीत प्रबन्धकका रूपमा काम गरे। २०२५ सालको 'मंगली–कुसुम' ले उनलाई 'मदन पुरस्कार' दिलायो।

'आइपुग्यौ रेलैमा नौ बजे बेलैमा

देरादुनैमा साथी देरादुनैमा ...।'

धर्मराज थापाले रेडियो नेपालमा (२०४२) गाएको पछिल्लो गीत थियो, यो। उनैको संकलनको यो गीतमा म स्वयम्, जयनन्द लामा र शम्भु राईले पनि स्वर खापेका थियौं। त्यही साल उनले प्रजातन्त्रको काफल पाक्यो हजुर ...' स्वदेशगान पनि रेकर्ड गराएका थिए। उनले रचेका, संकलन गरेका वा संगीत गरेका 'गाउँदै आएँ...' (स्वर कृष्णमान डङ्गोल), 'साउनको हरियाली..., फूलभित्र मुस्कुराउँछिन् धरतीकी रानी... (स्वर गंगा राणा), 'फूल फुल्यो सबै वनभरि, मेरो माया बिर्सनु के गरी...' (स्वर पी.एल श्रेष्ठ), 'एक आनी दुई आनी तीन आनी...' (स्वर पन्नाकाजी) आदि चर्चित छन्। नातिकाजी, शिवशङ्कर, पुष्प नेपाली आदि थुप्रै अगुवा सुर–संगीतकर्मीले थापाका गीत गाएका छन्। उनको बहुचर्चित 'हरियो डाँडामाथि हलो जोत्ने साथी' गीतलाई युवा गायक रामचन्द्र काफ्लेले रि–मिक्स गरी विवादबाट चर्चा कमाएका थिए।

तुरुन्तै गीत वा कविता लेख्नुका साथै लयबद्ध गरी गाउन सक्ने खूबी भएका लोकसंस्कृति अन्वेषक थापा करीब सात दशक साहित्य, संगीत र लोकसंस्कृतिमा सक्रिय रहे। पोखराको बाटुलेचौरमा जन्मेका उनका छोरीहरू ज्ञानु राणा र पानु थापा पनि रेडियो नेपालका चर्चित गायिका हुन्। थापाको अवसानबाट नेपाली लोकसंस्कृतिको क्षेत्रका साथै समग्र मुलुक र जहाँ–जहाँ नेपाली भाषी जनमन पुगेका छन् त्यहाँसम्मलाई अपूरणीय क्षति भएको छ।


पायोनियर सर्जन

डा. सरोज धिताल

तीसको दशक। नेपालमा भर्खरै चिकित्साशास्त्रको पढाइ शुरु भएको थियो। चिकित्सकहरू जति थिए, ती सबै विदेशबाट पढेर आएका थिए। तिनै हुन्थे चिकित्साशास्त्रका गुरु। केही मिशनरी डाक्टर थिए, उनीहरू पनि स्वतः गुरु खलकमै पर्थे। गुरुहरू आफ्ना विद्यार्थीलाई निराश बनाउने कुरा गरिरहन्थे। डा. मोइन शाह त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानको डीन हुँदा समकालीन वरिष्ठ डाक्टरहरू महाराजगञ्ज क्याम्पसका विद्यार्थीलाई 'मोइनका छौंडाहरू' भन्थे रे। त्यो बेला मेडिकलका विद्यार्थी व्यावहारिक ज्ञानका निम्ति वीर अस्पताल र पाटन अस्पताल जानुपर्थ्यो। अलि कम वरिष्ठ डाक्टरहरू पनि 'हेल्थ असिस्टेन्टको मानसिकताबाट मुक्त हुन नसक्नेहरू के डाक्टर बन्छन्' भन्थे।

महाराजगञ्जबाट पहिलो ब्याच निस्कनुभन्दा केही अगाडि मात्र म विदेशमा डाक्टरी पढेर फर्केकोले ती मेरा समकालीन थिए। अहिले पनि उनीहरूकै बीचमा छन् मेरा अन्तरंग मित्रहरू। उतिबेलाका मेधावी विद्यार्थी रहेका तिनका मनमा चिकित्सा विज्ञानका विभिन्न विषयमा खुल्दुली हुनु स्वाभाविक हुन्थ्यो। आज नेपालको चिकित्सा विज्ञानको अभ्यास र शिक्षणका शिखरमा रहेका उनीहरू ज्ञानको भोक लिएर गुरुहरूकहाँ पुग्दा “बाबु, यो त साँच्चैका डाक्टरलाई चाहिने कुरा पो हो त, तिमीले जानेर के गर्छौ' भनिन्थ्यो। उनीहरूले त्यसबेलाका वरिष्ठहरूबाट भोग्नुपरेको यस्ता अपमानका किस्सा थुपै्र छन्।

(१९८९ जेठ – २०७१ असोज)
त्यसबेला असल डाक्टरहरू पनि थिए नै, जो विद्यार्थीमा उत्साह र आत्मविश्वास जगाउँथे, माया गर्थे। त्यस्तै हुनुहुन्थ्यो– नेपालमा सर्जरीको इतिहास निर्मातामध्येका एक प्रोफेसर अञ्जनीकुमार शर्मा, जो भर्खरै संसारबाट विदा हुनुभएको छ। मैले पहिलो पटक भक्तपुर अस्पतालमा देखेको थिएँ, हातमा स्काल्पेल लिएको उहाँलाई। २४ वर्षको ठिटो थिएँ म। मेडिकल अफिसरका रुपमा पहिलो नियुक्ति भएको थिएँ। डा. अशोकानन्द मिश्रको विशेष अनुरोधमा भक्तपुर आएर हामीलाई अपरेशन सिकाउन थाल्नुभएको थियो डा. शर्माले।

एक जना बिरामी अजङ्गको हाइड्रोसिल लिएर आएका थिए। तयारी सिद्धिएकै थिएन, डा. शर्मा आइपुगिहाल्नुभयो। फर्सी जत्रा जुम्ल्याहा हाइड्रोसिल हेरेर 'ओटी जोक' पनि गर्नुभयो उहाँले, तर हियाउने हैन सुपाच्य हुने किसिमको। अनि, अपरेशन अघि आफैंले साबुनपानीले निकै बेर लगाएर सफा गर्नुभयो बिरामीको समस्यालाई। हामी जस्ता ठिटा डाक्टरहरूलाई कर्तव्य सिकाउने शैली थियो त्यो उहाँको। रोयल सर्जनका रुपमा चिनिएका वरिष्ठतम शल्यचिकित्सकको त्यो सरलताले मलाई अत्यन्त प्रभाव पार्‍यो, उहाँलाई मनभित्रैदेखि आदर गर्न थालें।

सदाबहार मुस्कान, रमाइलो पारा र घनिष्ठ व्यवहार डा. शर्माका विशेषता थिए। उहाँसँग काम गर्नेहरू सुनाउँथे– बिरामीसँग जुनियरहरूको बोलीचाली रुखो लाग्यो भने चाहिं उहाँ बेस्सरी रिसाउनुहुन्थ्यो रे। यस्ता अरु पनि प्रसंग छन्। उहाँ बिरामीसँग कुरा गर्दा पहिला 'घर कहाँ' भनेर सोधिसकेपछि 'स्कूलबाट कति टाढा?' भन्नुहुन्थ्यो। टाढा होस् वा नजिक, गाउँमा कतै न कतै स्कूल त पक्कै हुन्थ्यो। त्यहाँबाट कति टाढा भनेर सोध्दा एक त कहिल्यै गल्ती हुँदैनथ्यो, अर्को कुरा त्यस क्षेत्रको शैक्षिक स्थितिको पनि हल्का जानकारी हुन्थ्यो। अनि काठमाडौंको यत्रो ठूलो डाक्टरले गाउँ नै चिने झै गरेपछि बिरामी पनि राम्ररी खुल्थे।

जुनियर डाक्टरहरूको दुःख जहाँ पनि जहिले पनि हुन्छ। दुई दिन लगातार अस्पतालमै ड्युटी त अहिले पनि छ। त्यसरी दिनरात दुःख गरेका आफ्नो युनिटका डाक्टरहरूलाई उहाँ त्यो बेलाको नामी 'इन्दिरा' रेस्टुराँमा लगेर खुवाउनुहुन्थ्यो रे। प्राइभेट प्राक्टिसमा बेला–बेला हातमा खाम थमाइदिंदा पनि जुनियर डाक्टरहरू बूढामान्छेसँग दंग पर्थे। उहाँ आफ्नो क्लिनिकमा आएका बिरामीहरूलाई वीरमा ल्याएर विद्यार्थीलाई देखाउनुहुन्थ्यो। विद्यार्थीप्रतिको जिम्मेवारीबोध र बिरामीसँगको घनिष्ठता विना यो सम्भव थिएन।

दरबारिया जगजगीको बेला मानिसबीचका सम्बन्धमा के–कस्ता चलखेल भए, अर्कै पाटोका कुरा हुन्। त्यो बेला डा. शर्मालाई पनि कहिले सजिलो, कहिले अप्ठेरो पर्‍यो होला। नेपालको लोकतान्त्रिक आन्दोलनमा कुन चिकित्सकको, कतिबेला के भूमिका रह्यो भन्ने जस्ता पक्षहरूमा टेकेर शर्मालाई सम्झनु उपयुक्त हुँदैन। यतिबेला उहाँप्रति श्रद्धान्जली व्यक्त गर्दा पहिलो पुस्ताको नेपाली सर्जनका हैसियतले उहाँले दिनुभएको योगदान सम्झनु बढी उपयुक्त हुन्छ।

क्यान्सर रोग विरुद्धको नेपाली लडाईंमा उहाँले सेनापतिको भूमिका निर्वाह गर्नुभयो। नेपालमै पहिलो पटक हुर्किंदै गरेका चिकित्सा विज्ञानका विद्यार्थी तथा कनिष्ठहरूप्रति उहाँको स्नेह र दायित्वबोधबारे माथि उल्लेख भइसकेको छ। शल्य चिकित्सा लगायतका स्वास्थ्य सेवालाई साँच्चै जनतासम्म पुर्‍याउन र क्यान्सर विरुद्धको लडाईं बाँकी नै छ। यी लक्ष्यहरूतर्फ उन्मुख हुँदा प्रोफेसर शर्माप्रति सच्चा श्रद्धाञ्जली हुन्छ।

comments powered by Disqus

रमझम