२-१५ कात्तिक २०७१ | 19 Oct 1- Nov 2014

नेपाली संगीतमा गोपाल योञ्जन

Share:
  
गोपालको लेखनी कुनै परिधिभित्र बाँधिएको छैन, संगीत कुनै विधा वा शैलीमा सीमित छैन र गायनको गहिराइ बुझ्नेहरुले उहाँलाई सरस्वती पुत्र भनेका छन्।

रिन्छेन योञ्जन

गोपालको बहुआयामिक पक्षलाई बुझ्न सतही अनुसन्धान र आशयले पुग्दैन। अबको नेपाली गीत–संगीतलाई मार्गदर्शन गराउने हो भने वर्तमान र भावी पुस्ताले उहाँका सिर्जनालाई बुझ्न जरुरी छ। यो सन्दर्भमा मलाई सोध्न मन लाग्छ, गोपालले नेपाल र नेपालीलाई दिनुभएको सांगीतिक पहिचान हामीले कतिको बुझेका छौं वा बुझ्ने प्रयास गरेका छौं?

नेपाली सांगीतिक क्षेत्रको सुनौलो युग निर्माणमा उहाँको योगदान अब्बल र अविस्मरणीय छ। उहाँका सिर्जनामा अनेक विषयवस्तु तथा शैली समावेश छ। त्यस युगमा गोपालका गीतहरु मार्फत नयाँ चिनारी पाउने कलाकार धेरै थिए। केही प्रतिष्ठित नाममा मीरा राणा, उदीतनारायण झा, किरण प्रधान, तारा थापा, धु्रव के.सी., सुशीला कंसाकार, क्षेत्र गुरुङ आदि पर्दछन्। कतिलाई त उहाँले जन्माउनु नै भयो। ८० को दशकका विमला राई, सुनीता सुब्बा, संगीता प्रधान आदि यस्ता केही नाम हुन्। सुनौलो युगको सन्दर्भमा गोपाल योञ्जनको नाम मीतज्यू नारायणगोपालसँग गाँसिन्छ। नारायणगोपाल स्वरका धनी र गोपाल योञ्जन शब्द, संगीत र स्वरका त्रिवेणी थिए। नारायणगोपाल आधुनिक तथा रोमान्टिक गीतहरुबाट नेपालीको मनमस्तिष्कमा अमर छन्। गोपाल योञ्जनबारे यो पनि बुझ्न जरुरी छ कि उहाँले आफू स्वयं एक राम्रो गायक हुँदाहुँदै आफ्नो मीतज्यूलाई गीत गाउने जिम्मा दिनुभयो। उहाँ अरुको खूबीलाई सम्मान गर्न हिच्किचाउनु हुन्नथ्यो।

जति धेरै नयाँ पुस्ताले पुराना सिर्जना स्मरण गर्छन् र अपनाउँछन् त्यति नै ती सिर्जना जीवन्त हुँदै जान्छन्। हाम्रो निजी पहलमा गोपाल योञ्जनको बहुमुखी आयाम झ्ाल्काउने केही नयाँ र केही पुराना २० वटा गीतको अल्बम गोपालय सार्वजनिक भएको छ। गोपालका सिर्जनाको रि–रेकर्डिङ प्रक्रियामा नेपाल तथा दार्जीलिङका गायक–गायिका, वाद्यवादक र प्राविधिज्ञहरुले अत्यन्तै संवेदनशील भएर काम गरेका छन्। गोपालको सांगीतिक यात्रा दार्जीलिङबाट शुरु भएकोले यो प्रक्रियामा दार्जीलिङ पनि समेटिएको हो।

पुराना सिर्जनालाई अमर राख्ने हो भने अब आउने सयौं पुस्ताले सुन्न पाउनुपर्छ। कालजयी गीतहरु अनि मात्र साँचो अर्थमा कालजयी रहनेछन्। कालजयी सिर्जनाको प्रवर्द्धनमा लाग्नेहरुले पनि साधना, संयम र अति गम्भीरता अपनाउनु पर्छ। रि–रेकर्ड र रि–मिक्सको अवधारणा तथा अन्तर पनि बुझ्न जरुरी छ। म त्यो धारको सोचसँग राम्ररी परिचित छु, जसले पुराना गीत रि–रेकर्ड गरिए भने ती गीत र विशेष गरी गायक विस्थापित हुन्छन् भन्ने अतिरञ्जना दोहोर्‍याउँछन्। तर, यस प्रकारको प्रतिक्रिया उत्पन्न गराउने व्यक्ति, समूह र सोचमा हो मा हो मिलाउने जमातलाई बुझ्ने प्रयास गर्दा भने मैले अर्थपूर्ण तर्क भेटिनँ। यस धारणा विपरीत संसारभर जब पुराना सिर्जनाले नयाँ जन्म लिन्छ तब पुरानोको खोजी पनि बढ्छ। साथै यो पनि बुझ्न जरुरी छ कि राम्रा सिर्जनालाई कुनै समय र परिस्थितिमा बाँधेर राख्न मिल्दैन।

विश्लेषक र समालोचकले नेपालको ६०, ७० र ८० को सांगीतिक दशकलाई विना पूर्वाग्रह न्यायोचित तरीकाले विश्लेषण गर्ने हो भने त्यस बेलाको रेकर्डिङ प्रावधान र रेकर्डको क्वालिटीले जस्ताको तस्तै रुपमा अहिलेको डिजिटल युगसँग प्रतिस्पर्धा गर्न नसक्ने तथ्य स्वीकार्न गाह्रो पर्दैन। सम्बन्धित निकायहरुबाट संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने प्रयास पनि त्यति भएका छैनन्। सबैको रि–रेकर्ड सम्भव नभए पनि केही स्तरीय नमूनाहरुले ती पुराना गीत संगीतप्रतिको खोजीलाई पक्कै नयाँ ऊर्जा दिनेछ। गोपाल योञ्जनकै एक गीतले गीतको साँचो अर्थ यसरी खुलाएको छः

मेरो गीत मेरै प्रतिबिम्ब होइन

जो टुटी जाने छैन, छुटी जाने होइन

आकाश जस्ता अमर गीत मेरा

म जस्तो दुई दिनको पाहुना होइन।

comments powered by Disqus

रमझम