२-१५ कात्तिक २०७१ | 19 Oct 1- Nov 2014

सिकाइका साथी

Share:
  

दुई दशकभन्दा बढी अध्यापनमा बिताएका विमल गौतम (४७) ले नानीहरूलाई गाउँदै सिकाउने जुक्ति निकालेका छन्। निकालेका छन्।

क बाट कमल पानीमा फुल्ने

ख बाट खरायो बारीमा डुल्ने

२०६२ मा घरमा आफ्नो छोरोलाई क, ख सिकाउने बेलामा फुरेको हरफले २२ वर्ष शिक्षण पेशा गरेका गौतमलाई अहिले लेखक र गीतकारको परिचय दिएको छ। नानीहरूको प्रारम्भिक सिकाइलाई ध्यानमा राखेर उनले लेखेको किताब 'मेरो साथी अल इन वान' को वार्षिक बिक्री दर २०–२५ हजार पुगेको छ। अहिले किताबको तेस्रो संस्करण बिक्री भइरहेको छ। पुस्तकसँगै रहेको डीभीडीले विद्यार्थी र अभिभावकलाई आकर्षित बनाएको उनको अनुभव छ। क देखि ज्ञ र अ देखि अः सम्म सिकाउने, सात बार, बाह्र महीना, रंग आदि चिनाउने ४४ मिनेट लामो डीभीडी पुस्तकसँगै आउँछ।

अ बाट अमला हुन्छ अमिलो

आ बाट आरु खान्छ कमिलो

यसरी लय मिलाएर सिकाउँदा नानीहरूले सजिलै सिक्ने र नबिर्सने गौतम बताउँछन्। पाल्पा, भैरवस्थानमा जन्मेका उनले आफ्नो पालामा परम्परागत शैलीमा क, ख सिकेका थिए। त्यतिबेलाको 'कपुरी क, खरायो ख' सिकाइ उच्चाटलाग्दो थियो। तर, 'ऐबाट ऐना हेरी कपाल कोर, ओबाट ओखर तिहारमा फोर' जस्ता लयबद्ध वाक्यहरूले सिकाइलाई सजिलो बनाएको छ। यसबाट नानीहरूले नजानिंदो पारामा अक्षरसँगै क्रिया र संस्कृति दुवै सिक्ने गरेको गौतम बताउँछन्। खुमन अधिकारी र मन्जु पौडेलले स्वर दिएको गौतमको डीभीडी युट्युबमा पनि लाखौंले हेरिसकेका छन्। मोबाइलमा डाउनलोड गरेर छोराछोरीलाई त्यो भिडियो देखाउने अभिभावक पनि उत्तिकै छन्।

'तिहारमा रोटी मिठाई तीजमा खाने तामा,

मामू–मम्मी भन्ने होइन भन्नुपर्छ आमा।

मकै भुट्दा फुला उठ्छ धान भुट्दा लावा,

ड्याडी हाम्रो भाषा होइन भन्नुपर्छ बाबा।'

गौतमले नेपाली भाषा–संस्कृतिलाई महत्व दिएर बनाएको यो भिडियो भने त्यति चलेन। यसबाट पाठ सिकेर उनी एक–एक शब्दमा लक्षित उमेरका नानीहरूमा केन्द्रित भए। नभन्दै, एक कक्षाका विद्यार्थीलाई पहिले पाण्डुलिपि अनि त्यसपछि पढ्न दिएको किताब 'क्रियटिभ कम्पोजिसन एसे एण्ड स्टोरी' निकै लोकप्रिय भयो। प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहका विद्यार्थीलाई लक्षित गरेर 'क्रियटिभ कम्पोजिसन एसे एण्ड स्टोरी' को फरक–फरक संस्करण निकालिएको छ।

वार्षिक लेखकस्व पाएर हौसिएका गौतम क, ख पछि क का कि की सिकाउन 'मेरो सिनियर साथी' निकाल्ने तयारीमा छन्। यसबाट नानीहरूले 'कबाट कमल, फूल पानीलाई, काबाट काका, बाबाको भाइ' भन्दै मात्रा सिक्नेछन्। सरकारले सिकाइमा आधुनिकीकरण गर्न नसकेको ठान्ने गौतम मोबाइल, इमेल, इन्टरनेट, सामाजिक सञ्जाल आदि सूचनाप्रविधिको विकाससँगै पाठ्यक्रम पनि परिमार्जन हुनुपर्ने बताउँछन्। नानीहरूले सिक्न सहज शैक्षिक सामग्री पाउनुपर्ने बताउँदै गौतम भन्छन्, “बजारमा आएका समय सुहाउँदा शैक्षिक सामग्रीलाई सरकारले मापदण्ड बनाएर पाठ्यक्रममा समेट्नुपर्छ।'

सन्त गाहा मगर

comments powered by Disqus

रमझम