३० कात्तिक - ६ मंसीर २०७१ | 16-22 November 2014

घरको शोभा बगैंचा

Share:
  
थोरै जमीनमा बनेको घरलाई सहज–सुन्दर बनाउने फूल–बिरुवालाई मौसमी स्याहार पनि चाहिन्छ।

देबकी बिष्ट
मौसम अनुसार सही छनोट गर्न सकियो भने थोरै जमीनमा पनि धेरै र सुन्दर बिरूवा लगाउन सकिन्छ। त्यसको लागि पैसा भएर मात्र पुग्दैन, जाँगर र योजना चाहिन्छ। सुन्दरता र आनन्द दिने फूललाई मौसम अनुसार स्याहार गर्नुपर्छ। विस्तारै चिसो बढ्दैछ। चिसोले प्राणीलाई मात्र होइन, वनस्पतिलाई पनि सकसमा पार्छ। फूल र हरिया बिरूवालाई चिसोको समयमा उचित स्याहार नगर्दा मर्ने सम्भावना हुन्छ।

फूल–बिरुवाले घरको भित्री र बाहिरी वातावरणलाई मोहक बनाउने र मौसमी प्रतिकूलताबाट जोगाउने तरीका काठमाडौंको बसुन्धरा, धारापाटी―३ की करूणा श्रेष्ठबाट सिक्न सकिन्छ। सानैदेखि फूल र बगैंचाप्रति मोह भएकी उनले आफ्नो बगैंचामा फूलसँगै विभिन्न प्रजातिका रुख रोपेर घर वरिपरि हरियाली बनाएकी छन्। बिहान र साँझ्ाको समय बगैंचामा नै बिताउने उनी सफाइलाई यस्तो सुन्दरताको एउटा महत्वपूर्ण पाटो भएको बताउँछिन्। अर्थात्, मल बन्ने गरी गरिने फोहोर व्यवस्थापन बगैंचाको एउटा महत्वपूर्ण पाटो हो।

३१ वर्षअघि बनेको करुणाको घर २८ वर्षदेखि विभिन्न खालका फूल र बिरुवाले सजिन थालेको हो। माईतीमा पनि बुबाले फूलमा विशेष चासो दिने भएकाले सानैदेखि बगैंचामा रूचि राखेकी उनले २०४३ सालमा बिहे भएर आएदेखि यो घरमा फूल–बिरुवा रोप्न थालेकी हुन्। उनको घरलाई मौसमी फूलदेखि निकै पुराना रुखसम्मले सुन्दर बनाएको छ। श्रीमान् पनि फूलका सौखिन भएकोले बगैंचा विकासमा आफूलाई सहज भएको करूणा बताउँछिन्। उनी भन्छिन्, “काठमाडौंका विभिन्न नर्सरी बाहेक, श्रीमान्ले हल्याण्डबाट पनि केही बिरुवा ल्याउनुभएको छ।”

उनको घर―कम्पाउन्डभित्र विभिन्न भेराइटीका गुलाब, लालुपाते, सयपत्री, गोदावरी, धूपी, अशोका, वेगनबेली, सेतो दूबो, गुनकेसरी, इन्द्रकमल र अरु थुपै्र खाले मौसमी तथा बाह्रमासे फूल छन्। मौसम अनुसार विभिन्न खालका तरकारी समेत लगाउने करुणा शारीरिक कसरतको लागि पनि बगैंचा उत्तम भएको बताउँछिन्।

राम्रा फूल र अन्य बिरुवा लगाउन धेरै पैसा र जमीन हैन, सोख, जाँगर र योजना चाहिने उनको अनुभव छ। चिसो मौसममा हेरचाह गरियो भने हिउँद सकिनासाथ बगैंचामा वसन्त झुल्किने उनले बताइन्। “बिरूवामा रोग लाग्दा भने उपचारको घरेलु विधि अपनाउनु राम्रो हुन्छ”, करुणा भन्छिन्।

फ्लोरिकल्चर एसोसिएसन नेपाल (फान) का उपाध्यक्ष कुमार कसजू श्रेष्ठ देखासिखी गर्दै भए पनि बिरुवा रोप्नेहरूले नजानिंदो पारामा आफ्नो घरसँगै टोल नै सुन्दर पारिरहेको बताउँछन्। तर, तरीका नमिल्दा भने रोप्नेलाई सँगै फूल–बिरूवालाई पनि सास्ती हुने उनको भनाइ छ।

प्रबगैंचा सुन्दर र स्वस्थ राख्न अपनाउनुपर्ने विधि

खरानीपानीको प्रयोग

साबुनपानीको प्रयोग

गौमूत्र र अन्य घरेलु विधि

अर्ग्यानिक विषादीको सन्तुलित प्रयोग

गुणस्तरीय बिरूवाको चयन

विज्ञको सल्लाह

मौसम र हावापानी सुहाउँदो बिरुवा लगाउने

कुहिएका पात र फूललाई व्यवस्थापन गर्ने

प्रस्तुतिः मीना शर्मा

comments powered by Disqus

रमझम