३० कात्तिक - ६ मंसीर २०७१ | 16-22 November 2014

खै पब्लिक डाटा?

Share:
  
डिजिटल हुने नाममा पीडीएफ वा जेपेग फाइल अपलोड गर्नुले 'डिजिटल' शब्दकै अवमूल्यन भएको छ।

पछिल्लो समय विभिन्न संघ–संस्था तथा सरकारी कार्यालयले आफ्ना प्रतिवेदनहरू वेबसाइटमा सार्वजनिक गर्न थालेका छन्। त्यस्ता संस्थाहरूले प्रायशः प्रतिवेदन पीडीएफ वा जेपेग फाइल फर्मेटमा अपलोड गर्छन्। छापा प्रकाशनहरूले ई–पेपर भन्दै पत्रिकाको पीडीएफ फाइल अपलोड गर्छन्। डिजिटल प्रविधि अभ्यासमा आएको यस्तो चलनले सूचनाको विस्तारमा सघाउ पुर्‍याएको छ।

सूचनासम्मको पहुँच दिलाएको र केही हदसम्म पारदर्शी बनाइरहेको यस्तो 'डिजिटल' कार्य जानकारीको तहसम्म मात्र सीमित छ। क्रमशः डिजिटल हुँदै गएको हाम्रो कार्यशैलीलाई जेपेग र पीडीएफ फर्मेट पर्याप्त नहुन सक्छ। आफूलाई आवश्यक सूचना जानकारीको हदसम्म मात्र सीमित रहनु तर उपयोग गर्न नपाउनु भनेको 'डिजिटल' को अपार सुविधाबाट वञ्चित हुनु हो।

जमाना, पब्लिक डाटाको

पीडीएफ वा जेपेग फर्मेटमा उपलब्ध तथ्यांकहरू आफूले चाहेको सफ्टवेयरमार्फत इम्पोर्ट गरेर प्रयोग गर्न सकिंदैन। उदाहरणका रूपमा अधिकांश सरकारी कार्यालयका नागरिक बडापत्र भित्तामा सीमित छन्। चाहिएमा सार्नुपर्छ या त्यसको एउटा प्रिन्ट कपीसम्म पाइन्छ। वेबसाइटमा रहेछ भने पनि हेर्ने र सार्ने गरिको पीडीएफ वा जेपेग फर्मेटमा हुन्छ।

त्यस्तै प्रत्येक १० वर्षमा हुने जनगणनाको प्रतिवेदन पनि सम्बन्धित कार्यालयको वेबसाइटमा पीडीएफ या डकुमेन्ट फर्म्याटमा भेटिन्छ। तर ती तथ्यांकहरूलाई कस्टमाइज गरेर आफूलाई चाहिएको कुरा निकाल्न भने सकिंदैन। नेपाल लोडसेडिङ सेड्युल नामक चर्चित मोबाइल एप्लिकेशनका डेभलपर चन्द्रमान श्रेष्ठ भन्छन्, “हामीकहाँ पब्लिक डाटाहरू सजिलो फर्मेटमा उपलब्ध छैनन्। हामीले एप्लिकेशन बनाउँदा प्राधिकरणमै पुगेर लोडसेडिङको विवरण माग्थ्यौं। उहाँहरूले एउटा कागजको चिर्कटोमा दिने तथ्यांकलाई डिजिटल रूप दिनुपर्थ्यो।”

आफ्नो आवश्यकता अनुसार उपयोग गर्न सकिने तथ्यांक हो, पब्लिक डाटा। अहिले 'पब्लिक डाटा' भनेर उपलब्ध गराइएका तथ्यांक वास्तवमा सम्बन्धित संस्थाका सूचना मात्र हुन्। यी तथ्यांकहरू उचित प्रविधिका साथ उपयोग गर्न मिल्ने गरी एक्सेसमा राखिन्थ्यो र मोबाइल या कम्प्युटरका सफ्टवेयरहरूमा इम्पोर्ट गर्न सकिने फर्मेटमा हुन्थे भने ती वास्तविक पब्लिक डाटा कहलिन्थे।

आफ्ना तथ्य तथ्यांकहरूलाई समुचित ढंगबाट इन्टरनेटमा नराखेकै कारण वास्तविक पब्लिक डाटाको अभाव भएको छ। र, डिजिटलले दिएको अपार सुविधा हाम्रा लागि सीमित बनेको छ। अहिले कुनै एउटा जिल्लाको साक्षरता प्रतिशत कति हो भन्ने कुरा पत्ता लगाउनु परे– सार्ने, उतार्ने जस्ता झन्झटिलो काम गर्नुपर्छ। यसले समय र श्रम दुवैको बोझ थपिएको छ।

अहिले नेपालका केही ओपन पब्लिक डाटाहरू गुगलमा पाइन्छन्– विदेशी संस्थाहरूले राखेका। 'जीडीपी नेपाल' या 'पपुलेशन नेपाल' अंग्रेजीमा लेखेर गुगल सर्च गर्दा एउटा नक्शासहितको तथ्यांक पाइन्छ जुन विश्व ब्याङ्कले अपलोड गरेको पब्लिक डाटाको आधारमा बनेको हो। जनगणनाको तथ्यांकका लागि केन्द्रीय तथ्यांक विभाग जस्तो मूल स्रोत हुँदाहुँदै अरूले बनाएको तथ्यांक (सेकेन्डरी सोर्स) मा भर पर्नु परेको छ। यसले तथ्यांकको प्राथमिक स्रोतसम्मको पहुँचलाई पनि खुम्च्याएको छ।

भारतले आफ्ना सबै तथ्यांकहरू मबतब।नयख।ष्ल वेबसाइटमा डिजिटल फर्मेटमै राखेको छ। त्यहाँबाट तथ्यांकहरू कस्टमाइज गरी आफूलाई चाहिए बमोजिम निकाल्न सकिन्छ। हामीकहाँ डिजिटल फर्मेटमा पूर्ण तथ्यांकहरू पाइने ठाउँ छैन। यहाँको तथ्यांक खोज्दा या किताब भेटिन्छ, या त त्यसको पीडीएफ भर्सन।

कतिपय संस्थाहरूले तथ्यांकसहितका फाइलहरू एक्सेल फर्मेटमा अपलोड त गर्छन् तर सही तरीकाले संयोजन गरिएका हुँदैनन्। कोलमको शीर्षक, तथ्यांकमा प्रयोग भएका अंक तथा अक्षरहरूको फण्ट आदिका कारण चाहिएको तथ्यांकको डिजिटल उपयोग असम्भव जस्तै छ। एक्सएमएल, एचटीएमएल, सीएसभी, एक्सपीएस लगायतका फर्मेटका फाइलहरूलाई तथ्यांक कस्टमाइज गर्ने धेरै एप्लिकेशनहरूले सपोर्ट गर्छन्। ती फर्मेटमा भएका फाइलहरू हामीले चाहे जसरी प्रयोग गर्न पाउँछौं। र, ओपन पब्लिक डाटाको अभ्यासले तथ्यांकको विश्वसनीयता पनि बढ्नेछ।

पब्लिक डाटा कसरी खोज्ने?

इन्टरनेटमा विभिन्न डाटाबेसमा रहेका पब्लिक डाटा कुनै पनि सर्च इन्जिनबाट सजिलै खोज्न सकिन्छ। विश्वभर प्रचलित गुगलमा आफूलाई चाहिएको पब्लिक डाटाको सम्भाव्य शीर्षक (जस्तैः पपुलेशन नेपाल वा जीडीपी नेपाल) टाइप गरेर सर्च गर्दा हामीले त्यो तथ्यांक सजिलै पाउँछौं।

यसबाहेक पब्लिक डाटाहरू अझ स्पष्टसँग सर्च गर्न www.wolframalpha.com पनि चर्चित छ। कुनै पनि वेब ब्राउजरमा टाइप गरी सर्च बक्समा चाहिएको तथ्यांकको सम्भाव्य शीर्षक (जस्तैः मोबाइल फोन नेपाल) लेखेर सर्च गर्दा त्यसले विस्तृत तथ्यांक पेश गर्छ।

गणेश आचार्य

comments powered by Disqus

रमझम