३० कात्तिक - ६ मंसीर २०७१ | 16-22 November 2014

क्यान्डी क्रस

Share:
  
हरेक दिन 'क्यान्डी क्रस सागा' मा रमाउने विश्वका सात करोड मानिसमध्ये सात लाख नेपाली छन्।

एप गेम 'क्यान्डी क्रस सागा' विश्वका युवामाझ्ा कति लोकप्रिय छ भन्ने कुरा गत वर्ष स्वीडिस कम्पनी 'किंग्स डिजिटल इन्टरटेनमेन्ट' ले यसैबाट १८ लाख डलर आम्दानी गरेबाट प्रष्ट हुन्छ। दुई वर्षअघि शुरु भएको यो गेमको लोकप्रियता अझै बढ्दो छ– प्रति दिन हजारौं नयाँ प्रयोगकर्ता थपिंदै।

क्यान्डी क्रस सागा नखेलिने देश सम्भवतः उत्तरकोरिया मात्र हो। यो गेम विश्वमा सांस्कृतिक–भौगिलिक विविधतालाई जित्दै लोकप्रिय हुनुको पछाडि के कारण छ त? “यो सजिलो र सबैको पहुँचमा भएकोले विश्वका सबै वर्गका मानिसले मन पराएका हुन सक्छन्”, क्यान्डी क्रस बनाउने टमी पामले हिमाल सँग भने, “सन् २०११ मा यो गेम डेभलप गर्ने सोच बनाउँदा यस्तो होला भन्ने लागेको थिएन।”

निःशुल्क डाउनलोड गर्न सकिने यो गेम मोबाइल फोन र कम्प्युटरदेखि ट्याबलेटसम्ममा खेल्न सकिन्छ। यो गेम खेल्नेमा २५–५५ उमेर समूहका महिला बढी छन्। आफूले डेभलप गरेको गेममध्ये आफ्नी आमा र बहिनीले खेल्ने 'क्यान्डी क्रस' मात्र भएको पामले बताए। “पुरुषहरुले खेल्ने गेम बजारमा प्रशस्तै पाइन्छन्”, एनसेल एप क्याम्पमा सहभागी हुन काठमाडौं आएका पामले भने, “छनोटको कम अवसर पाएका महिलाहरुले 'क्यान्डी क्रस' रुचाएका छन्।”

हुन पनि, क्यान्डी क्रसको 'प्यारेन्ट कम्पनी' किंगका मुख्य ग्राहक नै महिलाहरु छन्। 'किंग्स डिजिटल इन्टरटेनमेन्ट' को आम्दानीको मुख्य स्रोत स्वीडेन बाहिरका प्रयोगकर्ता नै हुन्। ठूलो पूँजी र मानव संसाधन आवश्यक नपर्ने एप व्यवसायमा नेपाली डेभलपरहरुले एउटा कोठाबाटै लाखौं डलर कमाउन सक्ने पामको भनाइ छ।
एनसेलकी कर्पोरेट सञ्चार निर्देशक सञ्जु कोइराला एप डेभलपरहरुका रोल मोडल भएकोले पामलाई नेपाल बोलाएको बताउँछिन्। उनको उपस्थिति मात्र पनि एप डेभलपरहरुलाई हौसला हुने भएकोले एनसेलले एप क्याम्प आयोजना गरेर उनलाई बोलाएको सञ्जु बताउँछिन्।

छिरिङ डोल्कर गुरुङ

comments powered by Disqus

रमझम