३० कात्तिक - ६ मंसीर २०७१ | 16-22 November 2014

राजधानीमा नाटकै नाटक

Share:
  
राजधानीका थिएटरहरूमा दर्शकको भरिभराउले नेपाली नाट्य रंगकर्ममा बहार आएको प्रष्ट पार्छ।

दूरदराजका गाउँघरमा कसैले कसैको श्रीमती भगाउँदा जारी (बिगो) तिर्ने/तिराउने संस्कृति अद्यापि छ। उहिले त आफ्नी श्रीमती लैजाने जारलाई सात दिन सात रात खेदेर काट्ने चलन थियो रे! यही जारको कथालाई लिएर अनामनगरस्थित मण्डला थिएटरमा नाटक मञ्चन भइरहेको छ। सुनील पोखरेलको निर्देशनमा थिएटरका तीनमहीने प्रशिक्षार्थीहरूले १४ कात्तिकबाट मञ्चन गरेको यो नाटक ७ मंसीरसम्म चल्नेछ। इन्द्रबहादुर राईको कथा जार लाई खगेन्द्र लामिछानेले नाट्यकरण गरेका हुन्। यो नाटक कति जमेको छ भन्ने कुरा थिएटरमा हरेक दिन देखिने दर्शकको भीडले देखाउँछ। नाटक प्रदर्शन निर्धारित भन्दा एक साता बढाउनु परेको थिएटरका निर्देशक राजन खतिवडाले बताए।

मण्डला थिएटरमा मञ्चन भइरहेको नाटक जार मा अभिनय गर्दै कलाकारहरु।

थियटर भिलेजमा मञ्चन भैरहेको नाटक कथादेश २.५ मा कलाकारहरु।

उता लाजिम्पाटको थिएटर भिलेजमा पनि उत्तिकै भीड छ, आशान्त शर्मा निर्देशित कथादेश–२.५ हेर्ने दर्शकको। एक्टर्स स्टुडियोको प्रस्तुति रहेको कथादेश शीर्षकको यो नाटक श्रृङ्खला कथादेश–२ हुँदै कथादेश–२.५ मा आइपुगेको हो। यो शृंखलामा महेशविक्रम शाहका कथाहरूलाई नाटकमा उतारिएको छ। २५ कात्तिकबाट मञ्चन हुन थालेको कथादेश–२.५ मंसीर ६ सम्म चल्नेछ। थिएटर भिलेजमा यसअघि १४ कात्तिकबाट हेटौंडाको तरंग सांस्कृतिक परिषद्को नाटक 'मान्छे बन्ने रहर' ले दर्शक तानेको थियो। यता, कालिकास्थानस्थित सर्वनाम नाटकघरमा नयाँ पुस्ताका कलाकार समूहको काय १४ कात्तिकबाट जारी छ। दिपेश पौडेल निर्देशक रहेको यो नाटक ६ मंसीरसम्म चल्नेछ।

१८–२६ कात्तिकमा 'टापु' मञ्चन भएको बत्तीसपुतलीको शिल्पी थिएटरमा २८ कात्तिकमा 'कुर्सी खाली छ' देखाइयो। गंगा तिवारीले निर्देशन गरेको यो नाटक देशको समसामयिक राजनीतिक परिस्थितिमाथि केन्द्रित छ। पहिले उपत्यका बाहिर मञ्चन गरिएको यो कचहरी नाटक शिल्पी थिएटरपछि राजधानीका विभिन्न स्थानमा मञ्चन हुनेछ।

ऋषिराम कट्टेल

comments powered by Disqus

रमझम