३० कात्तिक - ६ मंसीर २०७१ | 16-22 November 2014

यूरोपमा माझिंदै

Share:
  
- सुरेन्द्र सिटौला

स्पेनमा रहेकी पेम्बा छोटी शेर्पा (३८) यूरोपस्थित नेपालीहरूको एक्लो कलाकार भएकी छन्।

आठ वर्षअघि नेपालमा छँदा गायनमा खुट्टा टेक्न खोजिरहेकी सोलुखुम्बु, गोलीकी पेम्बाले यूरोप आएर पनि त्यो साधना छोडिनन्। अहिले उनी यूरोपकी चर्चित नेपाली गायिका बनेकी छन्। स्पेनमा बस्ने उनी जर्मनी, फ्रान्स, पोर्चुगल, बेल्जियम लगायत यूरोपेली मुलुकहरूमा आयोजना हुने नेपालीहरूको कार्यक्रममा प्रमुख आकर्षण बन्ने गरेकी छन्। “यहाँका नेपाली संघ–संस्थाहरूले आयोजना गरिरहने कार्यक्रमहरू मेरो लागि माझिने अवसर पनि बन्ने गरेको छ”, पेम्बाले फोनमा भनिन्।

उतै रहँदा कच्चा चोला र सेलोमा दुई नेपालीभाषाका अल्बम निकालेकी उनले आफ्नै मातृभाषामा दुई वटा अल्बम निकालेकी छन् भने एक दर्जन फुटकर र अरुका आधा दर्जन अल्बममा गाएकी छन्। उनी गीत रेकर्डिङका लागि वर्षेनि नेपाल आउँछिन्। संगीत गुरुहरू साम्बदेव सापकोटा, शिलाबहादुर मोक्तान र चन्दन श्रेष्ठकी चेली पेम्बा भन्छिन्, “विदेशमा पनि नेपाली गीत गाएर बस्न सकेकी छु, यो ठूलो कुरा हो जस्तो लाग्छ।”

अन्तर्राष्ट्रिय नेपाली कलाकार मञ्च, स्पेन शाखाकी उपाध्यक्ष रहेकी पेम्बाको लागि यूरोपमा स्वादको कुरा के छ भने त्यहाँका नेपालीहरूका लागि उनी थोरैमध्येकी राम्रो कलाकार हुन्। ताप्लेजुङका हेम शेर्पासँग घरजम गरेकी उनी यूरोपमा नेपालीहरूको बाक्लो उपस्थितिले आफ्नो गायनलाई मलजल गरेको बताउँछिन्। “नेपाली गीत–संगीतको क्षेत्रमा शेर्पाहरूको कमी भएकोले पनि मैले राम्रो हौसला पाएकी छु”, पेम्बा भन्छिन्।”

ऋषिराम कट्टेल

comments powered by Disqus

रमझम