७-१३ मंसीर २०७१ | 23-29 November 2014

आस्था र अधिकारको चेपुवामा

Share:
  
१७औं शताब्दीबाट चलेको बलि परम्परा र आधुनिक युगको पशुअधिकारवादको चर्को दबाबमा छिन्, गढीमाई।

गोकुल घोरसाइने
गढीमाईको पूजा गर्दै पुजारी।
किम्बदन्ती भन्छ– हत्या अभियोगमा जेलमा परेका भगवानदास थारूले आफूलाई मकवानपुरगढी जेलबाट छुटकारा दिलाउने इष्टदेवीको त्रिशूल गाडेकै ठाउँमा अहिले गढीमाई मन्दिर छ। तीनै थारूका सन्तान मन्दिरका पुजारी हुनुले १७औं शताब्दीदेखि चलेको यो किम्बदन्ती, आस्थावानहरूका लागि विश्वास भएको छ। तर, सँगै ठूलो परिमाणको पशुबलिका कारण गढीमाईमा लाग्ने मेलाबारे पछिल्लो समयमा विवाद र चर्चा चुलिएको छ। खासगरेर माओवादी द्वन्द्वको बेला नेपाल पसेको अन्तर्राष्ट्रिय मिडियाले गढीमाईमा हुने बलिको बीभत्स पक्षलाई पनि हिंसाकै रूपमा चित्रण गरेपछि यो परम्परा विवादमा तानिएको हो।

यद्यपि, चार शताब्दी पुरानो आस्थाको परम्परा पनि कम जब्बर छैन। कलैया–२ बाराका प्रभुप्रसाद यादव आफ्नी श्रीमती मीनादेवीलाई तीन वर्षदेखि दुःख दिएको ग्यास्ट्रिक गढीमाईकै कृपाले निको भएको बताउँछन्। घरबाट चार किलोमीटर पूर्व बरियारपुरस्थित गढीमाई मन्दिरमा पहिलो पटक पाडो बलि दिन लागेका यादव भन्छन्, “भाकल पूरा नगरे देवी रिसाएर अनिष्ट हुन्छ।”

यादवको जस्तै विश्वासमा बारा, पर्सा, रौतहट र भारतका विभिन्न स्थानका हजारौंले १२ र १३ मंसीरमा गढीमाईमा पशु/पक्षीको बलि चढाउँदैछन्। पाँच वर्षको अन्तरालमा हुने गढीमाईको यस्तो पूजामा मूल पुजारीले सेतो मुसा, परेवा, हाँस, सुँगुर र राँगाको पञ्चबलि दिएपछि सर्वसाधारणका लागि बलि खुला हुन्छ। पहिलो दिन राँगा र भोलिपल्ट बोका तथा पक्षीको बलि दिइन्छ। मन्दिर सञ्चालन तथा व्यवस्थापन समितिले यो वर्ष सिनो व्यवस्थापन गर्न अढाइ बिघा क्षेत्रमा बार लगाएको छ। रु.१ करोड ६१ लाख १० हजारमा मासुको ठेक्का लागेको मूल पुजारी मंगल चौधरीले बताए। उनका अनुसार यो वर्ष मन्दिरमा १५ हजार राँगा र त्यही हाराहारीमा अन्य पशुपक्षीको बलि दिइनेछ।

पशु अधिकारवादी संघ–संस्था र व्यक्तिहरूले बलि रोक्ने मागलाई तीव्र पारेपछि गढीमाई मेला दबाबमा परेको छ। सभासद् राज्यलक्ष्मी गोल्छासहितका पशुअधिकारका पक्षधरहरूले बलि रोक्न अन्तरिम आदेश माग गर्दै सर्वोच्च अदालतमा रीट नै दायर गरेका छन् भने नेपालस्थित विदेशी नियोगहरूले पनि समितिलाई पत्राचार गरेको छ। यसअघि, भारतीय सर्वोच्च अदालतले गढीमाईमा बलि दिन भारतबाट पशुपक्षी लैजान निषेध गरेपछि भारतको स्पेसल सर्भिस ब्यूरो (एसएसबी) ले सीमा क्षेत्रमा निगरानी बढाएको छ। अवरोध भए पनि भारतीय श्रद्धालुहरूले बलि चढाउने पशुपक्षी नेपाल भित्र्याएर आफन्तको घरमा राख्न थालेको मन्दिर सञ्चालन तथा विकास समितिका सचिव मोतीप्रसाद गुप्ता बताउँछन्। नेकपा एमालेको भ्रातृ संस्था युवा संघ, नेपालको केन्द्रीय स्वास्थ्य विभागले मेलामा सञ्चालन गर्न लागेको शिविरको उद्घाटन गर्न ३ मंसीरमा गढीमाई आएका उद्योग मन्त्री महेश बस्नेतले भने आस्थालाई रोक्न नमिल्ने बताएका छन्।

मिलनको पर्व

नेपाल र भारतका सीमा क्षेत्रका बासिन्दाहरू पाँच वर्षको अन्तरालमा हुने गढीमाई मेलालाई आफन्तसँग भेटघाट गर्ने अवसरको रूपमा पनि लिन्छन्। गढीमाईका भारतीय दर्शनार्थीहरू केही दिन नेपाल बसेर आफन्तसँग भेटघाट गर्ने योजनाका साथ मेला भर्न आउँछन्। सीमावर्ती गाविस कवहीगोठका रामसागर साह भन्छन्, “गढीमाई मेलाको बेला हाम्रो क्षेत्रका गाउँहरूमा चार/पाँच जना भारतीय पाहुना नभएको घर हुँदैन।”

यो क्षेत्रमा गढीमाई मेलाको दुई–महीना अघिबाटै पाहुनाको स्वागत सत्कारका लागि सरसफाइका साथै आवास र अन्नपातको समेत जोरजाममा व्यस्तता बढ्ने साहले बताए। त्यसका लागि भारतमा बुहारी हुन पुगेकी छोरी र माइत गएका बुहारीहरू नेपाल फर्कने गरेका छन्। ठूलो संख्यामा उत्तरी बिहारबाट आउने दर्शनार्थीहरूको सुविधाका लागि जिल्ला विकास समिति, बाराले सीमासम्म जोडिएका आधा दर्जन कच्ची सडक मर्मत गरेको छ। बलिको अघि र पछि गरेर मन्दिर परिसरमा करीब एक महीनासम्म लाग्ने मेलामा नेपाल र भारतका झ्ण्डै ५० लाख दर्शनार्थी आउने अनुमान छ। समितिले यस वर्ष रु.४० लाख ५० हजार भेटी संकलनको ठेक्का लगाएको छ। यसअघि मन्दिरमा चढाइएको भेटी पुजारीले राख्थे।

नेपाल र भारतका व्यापारीहरूले मेलास्थलमा धमाधम पसल/स्टलहरू राखिरहेका छन्। समितिले स्टल राख्न मन्दिर परिसर बाहिरको ४० बिघा खेत भाडामा लिएको छ। मेलामा भारतबाट विभिन्न सर्कस, जादू, थिएटर कम्पनीहरू ल्याउने गरिन्छ।

गोकुल घोरसाइने, बारा

comments powered by Disqus

रमझम