वर्षभरिको ट्यूसन, छात्रावास र बीमा शुल्क गरेर ११ हजार ८०० यूरो (करीब रु.१५ लाख) सहित करीब रु.२० लाख खर्चेर नेदरल्याण्ड आएकी तुलसीलाई सातामा पाइने २० घण्टा कामको कमाइले पढाइ खर्च नजुट्ने थाहा भइसकेको छ। एक वर्षको पढाइ र होस्टलको लागि नेपालबाट ल्याएको पैसा बुझाए पनि अर्को वर्ष कसरी चलाउने भन्ने चिन्तामा छिन्, उनी। “त्यसमाथि काम पनि नपाउने समस्या छ”, तुलसी भन्छिन्, “धेरैजसो नेपाली विद्यार्थीले काम पाएका छैनन्।”
समस्यै समस्या
तुलसीसहित ३० जना नेपाली विद्यार्थी अध्ययनरत अपेल्ड्रोनस्थित विट्टेनवर्ग कलेजमा दुई महीनाअघि अरू २५ जना थपिएका छन्। काठमाडौंका विभिन्न कन्सल्टेन्सीले पढाइसँगै रोजगारीको लोभ देखाएकै भरमा यूरोपको सपना बुनेर आएका उनीहरू वास्तविकता बुझ्ेपछि छाँगाबाट खसेझैं भएका छन्। काठमाडौंका स्टिभ केसी, पूजा सापकोटा, निशा तामाङ र पोखराका दिलीप तामाङको अवस्था पनि उस्तै छ।
र पनि, नेपालबाट विद्यार्थी आउनेक्रम रोकिएको छैन। ६ महीनायता करीब ६० जना विद्यार्थी पठाइसकेका नेपालका कन्सल्टेन्सीहरूले आउँदो फेबु्रअरीमा तेस्रो लटका अरू २० जनालाई पठाउने तयारी गरिरहेका छन्। आएकाहरू भने खर्च धान्न नसकेर गैरकानूनी रूपमा बस्नुपर्ने (यहाँको भाषामा 'इलिगल' बन्ने) बाध्यतामा छन्। रु.२० लाख जति खर्च गरेपछि श्रीमान्–श्रीमती नै यूरोप आएर दुवैले यूरो कमाउने सपना आएलगत्तै तुहिन्छ।
जस्तो, डिपेन्डेन्ट भएर आएका तुलसीका श्रीमान् दीपक निउरेले काम गर्न पाएनन्। तुलसी आफ्नो कमाइले आफैंलाई नधान्ने चिन्तामा छिन्। कलेजसँगको एकवर्षे कन्ट्रयाक्ट गरेको चार महीना भित्रै श्रीमान् या श्रीमती ल्याउन पाउने भए पनि 'डिपेन्डेन्ट' लाई काम गर्ने अनुमति छैन।
आम्सटरड्याममा रेस्टुरेन्ट चलाइरहेका पर्वतका रामहरि शर्मा यूरोप छिर्ने धुनमा राम्ररी नबुझ्ी विद्यार्थी भिसामा आउनेमध्ये धेरैले दुःख पाएको बताउँछन्। ९ वर्षअघि नेदरल्याण्ड प्रवेश गरेका शर्माले शरणार्थी दाबी गरेर अर्को पाँच महीनामा स्थायी बसोबासको अनुमति पाएका थिए, तर अहिले यूरोपको कहीं पनि त्यस्तो अवसर पाइँदैन। शर्मा भन्छन्, “यूरोपको खर्च धान्न सक्नेहरू पढ्नकै लागि मात्र आए हुन्छ, तर कमाउँदै पढ्न घर–जग्गा धितो राखेर समस्याको दलदलमा पर्न कोही नआउनुस्।”
नेपाली जनसम्पर्क समिति, नेदरल्याण्डका निवर्तमान अध्यक्ष समेत रहेका शर्माको भनाइमा नेपालको द्वन्द्वकालमा 'ज्यानको खतरा' भन्दै शरणार्थीको रूपमा 'पर्मानेन्ट रेसिडेन्सी' (पीआर) पाउने सम्भावना अब छैन। खर्च नपुगेर 'इलिगल' भएका धेरै विद्यार्थी यूरोपभरि भौंतारिन बाध्य हुने गरेको शर्माले बताए। उनका अनुसार, नेदरल्याण्डमा करीब १५ सय नेपाली रहेकोमा ३०० विद्यार्थी भिसा र त्यति नै संख्यामा भिसा सकिएर 'इलिगल' भएर भौंतारिएका छन्। त्यसमाथि, बेलायत सरकारले विदेशी विद्यार्थी झ्िकाउने कलेजहरूमाथि प्रतिबन्ध लगाउन थालेपछि त्यताका पनि नेपाली विद्यार्थी नेदरल्याण्ड लगायतका यूरोपेली देशतिर आएको शर्माले बताए।
पाँच वर्षअघि अध्ययनका लागि बेलायत पुगेका चितवनका राजन क्षेत्री (नाम परिवर्तन) एक वर्षदेखि नेदरल्याण्डमा शरणार्थी दाबी गरेर बसेको भेटिए। नेपालमा घर–जग्गा धितो राखेकोले बेलायतबाट यता छिर्न बाध्य भएको उनले बताए। बेलायत बस्न नमिलेपछि ट्रक र पानीजहाजमा सामानसँगै लुकेर यूरोप छिर्ने विद्यार्थी पनि छन्। नेदरल्याण्ड र बेल्जियममा पक्राउ परेपछि पोर्चुगल छिरेर थोरै पैसामा जोखिमपूर्ण काम गर्नेहरू पनि उत्तिकै छन्।
आम्सटरड्याममा अलपत्र परेका नेपालीलाई सकेसम्म सहयोग गर्दै आएका बाग्लुङका विष्णु शर्मा यूरोप छिरेर एक जनाले चार करोड कमाएको सुनेर आउनेहरू धेरै भएको बताउँछन्। “यहाँ आएका ९९ जनाले दुःख पाएको भने कसैले देख्दैनन्”, विष्णु शर्मा भन्छन् “यहाँ दुःख छ नआऊ भन्दा नेपालमा भएका साथीहरू 'आफू छिरेर कमाइरा'छस्, हामीलाई चाहिं नआइज भन्छस्?' भनेर उल्टै रिसाउँछन्।”
स्वीट्जरल्याण्ड पनि उस्तै
काम गर्दै पढ्छु भन्नेका लागि यूरोपको कुनै पनि देश भरपर्दो गन्तव्य होइन। १२ वर्षअघि विद्यार्थी भिसामा यूरोपको महँगो देश स्वीट्जरल्याण्ड आएका काठमाडौंका निराजन श्रेष्ठ (३१) डेढ वर्षभन्दा बढी पढ्नै सकेनन्। कलेजलाई तिर्नुपर्ने वार्षिक १६ हजार फ्रयाङ्क (हाल रु.१६ लाख भन्दा बढी) जुटाउन नसकेपछि पढाइ छाडेर 'इलिगल' बस्न बाध्य भएको उनी बताउँछन्। भिसा र खर्च गरेर पहिल्यै रु.२५ लाख खर्चेको उनको परिवार थप रकम पठाउने अवस्थामा थिएन। अनि 'इलिगल' बसेको एक वर्षमा स्वीस केटीसँग विवाह गरेर 'लिगल' बनेका श्रेष्ठ भन्छन्, “परिवारको सम्पत्तिले धान्ने भए पढ्नकै लागि स्वीट्जरल्याण्ड आए हुन्छ, तर काम गर्दै पढ्न चाहिं यहाँ सम्भवै हुँदैन।”
विद्यार्थी भिसामै १४ वर्षअघि स्वीट्जरल्याण्ड पुगेका लमजुङका धर्म गुरुङ (३५) ले चाहिं बेलायत र हङकङमा भएका आफन्तहरूको सहयोगबाट पाँचवर्षे पढाइ पूरा गरेका थिए। उनका अनुसार, स्वीट्जरल्याण्डको कलेजमा पढ्न कम्तीमा पनि वार्षिक रु.३० लाख चाहिन्छ। कलेजमा छात्रवृत्ति खोजेर आए ५० प्रतिशत खर्च काम गरेर जुटाउन सकिए पनि छात्रवृत्ति र काम दुवै पाउन मुश्किल हुने उनी बताउँछन्। पढाइसँगै काम पाइने दलालहरूको प्रलोभनमा परेर डेढ वर्षअघि स्वीट्जरल्याण्ड आएका करीब १०० नेपाली विद्यार्थी विचल्ली परेर फर्किएको बताउने गुरुङका अनुसार, अहिले मुश्किलले ५० जना जति नेपाली विद्यार्थी स्वीट्जरल्याण्डमा पढिरहेका छन्। गैर–आवासीय नेपाली संघ (एनआरएन) स्वीट्जरल्याण्डका अध्यक्ष रहेका गुरुङ भन्छन्, “नेपालका करोडपतिका छोराछोरी मात्र स्वीट्जरल्याण्ड आएर पढ्न सक्छन्।”
नेपालीलाई वैदेशिक रोजगारीका लागि संसारका १०९ मुलुक खुला भए पनि २५ देशमा मात्र नियमित गइरहेका छन्। तीमध्ये पनि ९० प्रतिशत मलेशिया, साउदी अरब, कतार, दुबई र कुवेत गएका छन्। कामकै लागि यूरोपेली देशहरूमा जाने नेपाली एक प्रतिशत मात्र छन्। यूरोपमा काम गर्न जान चाहनेहरूले विद्यार्थी भिसाको सहारा लिने गरेका छन्। विद्यार्थी र पर्यटक प्रवेशाज्ञामा यूरोप आएर लुक्नेको संख्या ठूलो छ। यसरी 'इलिगल' बस्नेहरूले न पढ्न र राम्रो कमाइ गर्न सक्छन् न त सुरक्षाको अनुभूति गर्न पाउँछन्।