७-१३ मंसीर २०७१ | 23-29 November 2014

एण्ड्रोइड कि आईओएस?

Share:
  
- गणेश आचार्य
कसैले एण्ड्रोइड भन्दा आईओएस राम्रो या आईओएस भन्दा एण्ड्रोइड राम्रो भन्ने जिद्दी गर्‍यो भने मान्नुस्, ऊ एकपक्षीय छ।

नेपाल दूरसंचार कम्पनी र निजी मोबाइल सेवा प्रदायक कम्पनीहरूका विभिन्न तथ्यांकले ८४ प्रतिशत नेपालीलाई पुग्ने गरी सिमकार्ड वितरण भइसकेको छ। यो संख्यामा वितरीत सिमकार्ड कस्तो खाले फोनमा प्रयोग भइरहेको छ भन्ने यकिन तथ्यांक छैन। अर्थात् कतिले साधारण 'बार फोन' र कति जनाले 'स्मार्ट फोन' चलाउँछन् भन्ने चाहिं स्पष्ट छैन। तर मोबाइल फोनसँग बानी पर्नेहरूको संख्या बढेसँगै धेरैको द्विविधा बढेको प्रष्ट देखिन्छ– फोन किन्दा एण्ड्रोइड छान्ने कि आईओएस? एप्पलको आईओएस अगाडि कि गुगलको एण्ड्रोइड? भन्ने जस्ता बहस ज्यादै चल्छन्।

काठमाडौंको नयाँसडकस्थित पसलमा डेढ महीनाअघि आएको डेढलाख रुपैयाँ मूल्यको एप्पल आइफोनको पछिल्लो संस्करण आइफोन–६ बिक्री नहुने डर– चार दिनमै चार वटा बिक्री भएपछि– बिक्रेता दिलीप अग्रवालको हरायो। उनका अनुसार, ती ग्राहकहरू व्यावसायिक प्रयोगकर्ता भने होइनन्। यसखाले खरीदलाई आइफोन 'स्टाटस् मार्क' भएको संकेत मान्ने प्राविधिकहरू चिन्ता व्यक्त गर्छन्। एण्ड्रोइडको वकालत गर्नेहरू त भन्छन् पनि, 'एप्पलको डिभाइस आफूसँग हुनु भनेको मैले एप्पल किन्न सक्छु भनेर देखाउनु मात्रै हो।'

आइफोन चलाउनेहरू भने यसमा जतिको ब्रान्ड विश्वसनीयता एण्ड्रोइडमा नपाइने तर्क गर्छन्। सयौं ब्रान्डमा उपलब्ध एण्ड्रोइड भन्दा एप्पलको आइफोनले एकद्वार नीति अनुसार वितरण गर्ने सफ्टवेयर र हार्डवेयरमा ढुक्क हुन सकिने उनीहरूको तर्क हुन्छ। तिम्रो भन्दा मेरो फोन राम्रो भन्ने यो बहस विश्वभरका आईओएस र एण्ड्रोइड प्रयोगकर्ताबीच व्याप्त छ। इन्टरनेटमा आईओएस र एण्ड्रोइडमध्ये कुन राम्रो भन्ने हजारौं ब्लगपोष्ट भेटिन्छन्। एउटा फोन छोडेर अर्कोमा लागेको अनुभव लेख्ने धेरै छन्। यसले देखाउँछ, यो कहिल्यै नटुंगिने बहस हो। त्यसो भए, कुन फोन रोज्ने त?

काठमाडौंका प्रविधिप्रेमी रवि रायमाझी मोबाइल फोन चलाउने एकथरी जमात एउटा स्ट्याण्डर्ड चाहने बताउँछन्। उनका अनुसार, फोनमा धेरै प्रयोग वा एपहरू इन्स्टल गर्न नचाहने जमात टिकाउ फोन चलाउन मन पराउँछन्। उनीहरूको रोजाइमा आईओएस पर्छ। अनेक एपहरूमा स्वतन्त्रतापूर्वक डुल्न चाहनेहरू भने एण्ड्रोइड चलाउँछन्। यसले देखाउँछ, आईओएस वा एण्ड्रोइड जस्ता अपरेटिङ्ग सिस्टमहरू तिनका एप्लिकेशनको आधारमा दाँजिन थालेका छन्। यी फोनलाई दाँज्ने अरू कारण पनि छन्।

आवश्यकताः रविले भनेझैं के कामका लागि फोन चलाउने भन्नेमै कुन फोन छान्ने भन्ने प्रश्नको उत्तर पाइन्छ। अर्थात्, एप्लिकेशनहरूमा कुनै प्रयोग गर्नु छैन या एउटा ब्रान्डको गुणस्तरीयतालाई ध्यानमा राखी स्ट्याण्डराइज्ड फोन बोक्नु छ भने एप्पलको आईओएस राम्रो। स्वतन्त्र भएर विभिन्न एप्लिकेशन इन्स्टल गर्ने चाहना हो भने एण्ड्रोइड उत्तम। स्वतन्त्रताको कुरा अपरेटिङ्ग सिस्टमको सोर्ससँग जोडिन्छ। एण्ड्रोइड ओपन सोर्स सफ्टवेयर हो, जसका अवयवहरूलाई आफूले चाहे जसरी परिमार्जन गर्न सकिन्छ।

संख्या र गुणस्तरः अहिले एण्ड्रोइडको प्ले स्टोरमा फोन र ट्याब्लेटमा समेत चल्ने करीब १० लाख एप्लिकेशन छन्। तीमध्ये आधाजसो निःशुल्क चलाउन पाइन्छ। आईओएसमा भने करीब साढे सात लाख एप्लिकेशन उपलब्ध छन्। तीमध्ये तीन लाख जतिलाई आइप्याडमा पनि चलाउन मिल्छ। यद्यपि तीमध्ये धेरैजसो एप्लिकेशन चलाउन पैसा तिर्नुपर्छ। तर, विश्वका उत्कृष्ट एपहरूको सूचीमा धेरैजसो आईओएसकै एप्लिकेशनहरूको नाम आउँछ।

विकल्प र संजालः एण्ड्रोइड किन्न चाहनेले फरक विशेषताका सयौं ब्रान्ड र फरक–फरक मूल्यमा मन डुलाएर निर्णय लिन सक्छन्। आईओएस भने एप्पलमा मात्रै उपलब्ध भएकाले धेरै गम खान पाइँदैन। अमेरिकाको इन्टरनेशनल डाटा कर्पोरेशनको पछिल्लो तथ्यांक अनुसार, विश्वका ७० प्रतिशत स्मार्टफोन प्रयोगकर्ता (ठूलो संजालमा जोडिन चाहने) हरूको रोजाइ एण्ड्रोइड छ। २१ प्रतिशतले आईओएस चलाउँछन्।

क्यामेरा र म्युजिकः मूल्यको हिसाबले उही रेन्जका फोनहरू हेर्ने हो भने एण्ड्रोइड भन्दा आईओएसको क्यामेरा र म्युजिक गुणस्तरीय छन्। एण्ड्रोइडमा पनि पछिल्लो समय आएका केही महँगा फोनहरूमा एप्पललाई टक्कर दिने सुविधा छ।

बटमलाइनः एण्ड्रोइड र आईओएस दुवैले आ–आफ्नो उत्कृष्टता देखाउँदै आएका छन्। उनीहरूका टच इन्टरफेस, आकार लगायतका धेरै कुरा समान पनि छन्, तर यीमध्ये कुन राम्रो भन्ने बहस पनि चलिरहेकै छ। विश्व चर्चित धधध।मभदबतभ।यचन मा आईओएस र एण्ड्रोइड पक्षधरहरूबीच बहस जारी छ। आईओएस मन पराउनेहरूले त्यसको क्यामेरा, एप, स्ट्याबिलिटी, स्ट्याण्डर्ड आदिको बखान गर्छन् भने एण्ड्रोइड पक्षधरहरूले त्यसमा उपलब्ध नयाँ फीचर, एप र अपरेटिङ्ग सिस्टमसँगको स्वतन्त्रता, मूल्य र गुणस्तरको प्रशंसा गर्छन्। यो अवस्थामा आफ्नो आवश्यकता हेरी एण्ड्रोइड वा आईओएस छान्नु बुद्धिमानी ठहर्छ, किनकि दुई थरीको बहसबाटै थाहा हुन्छ, दुवैका आ–आफ्नै फाइदा र बेफाइदा छन्।


तेस्रो रोजाइ

एण्ड्रोइड–आईओएस टक्करको झमेलामा नफँस्ने विकल्प पनि छ। त्यो हो– विण्डोज फोन। नोकिया, एचटीसी, सोनी लगायत ब्रान्डका विण्डोज फोनमा कम्प्युटरमा जस्तै माइक्रोसफ्टको विण्डोज ७, विण्डोज ८ वा विण्डोज ८.१ राखिएका हुन्छन्। विण्डोजको आफ्नै एप्लिकेशन स्टोर छ, जहाँ आईओएस र एण्ड्रोइडमा पाइने धेरैजसो एप्लिकेशन हुन्छन्। अहिले विण्डोजको एप स्टोरमा तीन लाखभन्दा बढी एप्लिकेशन छन्। मूल्यमा पनि आईओएस वा एण्ड्रोइडकै बराबरीमा आउने विण्डोज फोनका प्रयोगकर्ताहरूमा नोकिया लुमिया ५२० सबभन्दा प्रचलित छ। अहिले विश्वमा करीब १० करोड विण्डोज फोन चलिरहेका छन्।

comments powered by Disqus

रमझम