७-१३ मंसीर २०७१ | 23-29 November 2014

सुदूरपश्चिमको अतीत

Share:
  

छगर्खा डुँगरी, डडेल्धुराका बिर्तावाल बाहुन परिवारमा जन्मेका आर. डी. 'प्रभास' चटौतले आफ्ना पुजारी/पंडित पिता–पुर्खाको कन्तुरमा फेला पारेका इतिहासका प्रमाणलाई निफनेर प्रकाशमा ल्याएका छन्। कन्तुरमा रहँदासम्म चटौतहरूको निजी गौरवानुभूतिको विषय रहेका यी लिखत आर. डी. 'प्रभास' चटौत पत्नी राजलक्ष्मी समेतको मिहिनेतबाट सार्वजनिक भएपछि ठोस प्रमाणबाट आधिकारिक हुने प्रामाणिक इतिहासका थुप्रै पाटा खुलेका छन्।

विक्रम संवत् १५३५ (शाके १४००) मा डोटीका राजा सुरतान शाहीले भागेश्वर महादेवको गुठी र पूजा चलाई आयस्ता खानु भनेर जसु चटौतलाई दिएको ताम्रपत्रबाट शुरु भएको किताबले त्यसयताको पश्चिम नेपालको रीतिथितिको विकासक्रम पेश गरेको छ। पुर्खाको संकलनबाट आएको भए पनि इतिहासका यी सबूत प्रमाणहरूलाई यस रुपमा ल्याउन सम्पादक दम्पतीले गरेको परिश्रम किताबमा सरसरी आँखा लगाउँदै बुझिन्छ। किताबको अन्त्यमा राखिएको लघु शब्दकोश खण्डले अहिलेका पाठकलाई उहिलेका अभिलेख तथा प्रशासनिक शब्दहरू बुझ्न सजिलो पारेको छ। कुल नौ भागमा विभक्त किताबमा सुदूरपश्चिम नेपालका क्रान्ति नायक भीमदत्त पन्तबारे छुट्टै खण्ड छ, जसले पन्तका विषयमा यसअघि पढ्न नपाइएका थुप्रै नयाँ तथ्य उनकै डायरीबाट बाहिर ल्याएको छ।

पुस्तक बेलाको बोली बखतको इतिहास

सम्पादक आर. डी. 'प्रभास' चटौत र राजलक्ष्मी चटौत

प्रकाशक नइ प्रकाशन

पृष्ठ २६४+८८

मूल्य रु.६९९

ताम्रपत्र, दानपत्र, आदेशपत्र, सम्झौतापत्र, बिन्तीपत्र, इस्तिहार, तमसुक, रसीद, भर्पाई, चिठीपत्र लगायतका खण्डहरू भएको किताबमा धेरैजसो दस्तावेज राणाकाल (चन्द्रशमशेरदेखि जुद्धशमशेरसम्म) का छन्। ती रोचक दस्तावेजहरूमा राणा शासकहरू कतै तित्रा, कालिज, लुईंचे लगायतका वनेलुको समेत संरक्षक लाग्छन् भने कतै गोडधुवामा समेत कर असुल्न पुग्छन्। रोचक के छ भने, छिमेकी देशहरूमा कानूनको परिकल्पना समेत नहुँदै मुलुकी ऐनले हाँकेको नेपाली समाजमा राणा शासकहरूले इस्तिहारहरू जारी गरेर अनेक रीतिसँगै कुरीतिहरूलाई पनि संस्थागत गरेका थिए। तिनका प्रमाणहरू सव्याख्या समेटिएको बेलाको बोली

बखतको इतिहास पुराना कागजात/अभिलेखहरुको रोचक सँगालो बनेको छ। यो किताब खास गरेर नेपालको भूमि प्रशासन, काइदा–कानून र समग्रमा समाज विकासको क्रम देखाउने ऐना बनेको छ। कतिपय दस्तावेजहरूको मूलरुपको स्क्यान राखिएको छ। ज्ञानमणि नेपाल, दिनेशराज पन्त, चित्तरञ्जन नेपाली लगायतका इतिहासकारहरूको भूमिकाले पुस्तकको महत्व बढाउने मात्र नभई पाठकलाई विषयवस्तु बुझाउने काम समेत गरेका छन्। यो किताब नेपालको इतिहास, कानून, भूमि प्रशासन र समग्रमा नेपाली समाजका अध्येता, अनुसन्धाता, विद्यार्थी सबैका लागि उपयोगी हुनेमा दुईमत छैन।

निजामती सेवामा विशिष्ट श्रेणीबाट अवकाश लिएका आर. डी. 'प्रभास' चटौतले पत्नी राजलक्ष्मीको समेत बौद्धिकता प्रयोग गरेर ल्याएको यो किताब इतिहास–अनुसन्धानको क्षेत्रमा कम काम भइरहेको समयमा आएकोले पनि महत्वपूर्ण बनेको छ। नेपालका अरु क्षेत्र, वंश र परिवारसँग पनि राष्ट्रिय इतिहासका लागि महत्वपूर्ण हुनसक्ने यस्ता दस्तावेज, अभिलेखहरू हुन सक्छन्। चटौत दम्पतीको यो सत्प्रयासले त्यस्ता दस्तावेजहरू भएका अरुलाई पनि प्रकाशनतर्फ प्रेरित गर्ने आशा गर्न सकिन्छ।

नेपाली भाषा–साहित्यको क्षेत्रमा समेत सुपरिचित व्यक्तित्व चटौतले यस्तो गहकिलो पुस्तकमा नराख्दा पनि हुने आत्मप्रशंसा र गुनासाका प्रसंग तथा कटिङहरु समेत राख्ने लोभ देखाएका छन्। खट्किने यही एउटा कुरा हो।

आनन्द पी. राई

comments powered by Disqus

रमझम