७-१३ मंसीर २०७१ | 23-29 November 2014

पुनरागमनको तयारी

Share:
  

छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले

छोडेन कहिल्यै जहाँ गए पनि मायाको धुइरोले

झ्यालैमा बसेर ल है जिस्क्याउनु पर्दैन ....

दुई दशकअघि नेपाल गुञ्जाएको नेपथ्य समूहको यो गीतका गायक रविन श्रेष्ठ अहिले आफैं बेलायतको हुस्सुमा हराएजस्तो भएका छन्। १७ वर्षअघि हङकङ गएपछि नेपथ्य समूहबाट अलग्गिएका उनी दुई वर्षदेखि बेलायतमा छन्। “हो, नेपालका श्रोताका लागि म हराएजस्तो भएको छु”, लण्डनमा भेटिएका रविनले भने, “तर, चाँडै नै नेपाली संगीतमा 'कमब्याक' गर्छु।”

लामो समय विदेशमा रहे पनि संगीत कर्म नछाडेको उनले बताए। हङकङमा रहँदा स्थानीय नेपाली मञ्चहरुमा निरन्तर प्रस्तुत भइरहने रविनले १२ वर्षअघि त्यहीं एकल अल्बम स्तनीत निकालेका थिए। त्यहीबेला 'छेक्यो छेक्यो' का गीतकार सुक गुरुङको एकल अल्बम इशारा का लागि रविनले गाएको 'पोखरेली कान्छा...' हीट भएको थियो। चार वर्षअघि हङकङमा 'रविन श्रेष्ठ नाइट २०११' एकल कन्सर्ट गरेका उनले हङकङे नेपाली कलाकारहरुको 'भ्वाइस अफ हङकङ' का लागि पनि गाएका थिए। “नयाँ एकल अल्बमको तयारी थालेको तीन वर्ष भयो”, रविनले भने, “यसका लोक, पप, आधुनिक, देशप्रेम र सामाजिक विषयका ६ वटा गीत रेकर्ड गराइसकेको छु।”

देशप्रेम सम्बन्धी 'शान्ति' बोलको गीतको म्युजिक भिडियो समेत तयार भएको उनले बताए।

रविनले गाएको 'छेक्यो छेक्यो...' बोलको गीतले उनीसँगै २०४८ सालमा स्थापना भएको पोखरेली ब्याण्ड नेपथ्यलाई चर्चाको शिखरमा पुर्‍याएको थियो। त्यसबेला ब्याण्डले निकालेको नेपथ्य र हिमाल चुचुरे अल्बममा रविनले गाएका 'आँगनैभरी...', 'गोधूलि साँझमा...', 'लजाउने मायालु...' जस्ता गीत निकै चर्चित भएका थिए। नेपथ्यका ६ संस्थापकमध्ये रविन लगायत पाँच जना लाखापाखा लागेपछि अमृत गुरुङले नयाँ पुस्ताका कलाकारहरुको साथ लिएर ब्याण्डलाई पुनर्जीवन दिएका छन्।

लामो समय देश बाहिर बसे पनि 'छेक्यो छेक्यो...' पुस्ताका श्रोता–दर्शकले आफूलाई अझ्ौ नबिर्सेको रविन बताउँछन्। पहिलाको त्यो परिचयले नयाँ केही गर्ने दबाब दिइरहेको उनको अनुभव छ। “श्रोताले मेरा नयाँ गीतहरु सुन्ने दिन पनि अब धेरै टाढा छैन”, उनी भन्छन्।

अनुशील श्रेष्ठ

comments powered by Disqus

रमझम