२८ मंसीर-५ पुस २०७१ | 14-20 December 2014

अफिम क्रान्ति

Share:
  
- महेश थापा
हुनु न खानुको 'अफिम क्रान्ति' को फुइँ हाँक्ने कुन लालबुझक्कड आइलाग्यो भन्दै नझर्किबक्सेला!

दि काठमाण्डु पोष्ट
हाम्रो दक्षिणी छिमेकमा अफिम खेती गराई उत्तरी छिमेकीमा बेच्ने रस्साकस्सीमा पश्चिमाहरूले दुइटा युद्ध गराएको इतिहास जो–कोहीलाई मालूम होला, तर भर्खरै नेपालबाट उद्घोष भएको 'अफिम क्रान्ति' को कुरा चाहिं विकिपीडिया या गुगलमा गोता खानेहरूलाई पनि पत्तो नहुन सक्छ।

हामी नेपालीका लागि अफिम उर्फ 'कालो पदार्थ' अनिष्टकारी छ। दरबार हत्याकाण्डको प्रमुख खतबात त्यही 'पदार्थ' माथि लाग्याथ्यो। राजाको मन्त्रिमण्डलमा सामेल हुन खुट्टो उचालिरहेका 'क्रान्तिकारी'हरूलाई लप्पु ख्वाउने 'माघ १९' पनि त्यही 'पदार्थ'को रमरमीमा आएको हुनसक्ने सम्भावना कम छैन। थाइल्यान्ड/सिङ्गापुरतिर 'कालो पदार्थ' काण्डमा नेपाली सुकुमारले झयालखानाको चक्कर मार्दाको समाचारले नेपाली नाकलाई बेला–बेला झिंगापुर बनाएकै हो। यस्तो अशुभ, अफाप एवम् अवैधानिक जिनिसले क्रान्ति कसरी गर्छ? भन्ने प्रश्न उठ्न सक्छ।

तर, स्वतः सुत्ने प्रश्नहरू उठ्दै गरुन्, आफ्नो खोपडीमा धर्मलाई अफिमसँग जोडेका गुरुवर मार्क्स वा सो सरहको भेजा भएको दाबी गर्ने हाम्रा 'क्रान्तिकारी' विद्वान्ले एकाध दर्जन अदनालाई त्यही बुटी सुँघाएर मन्दिर तोडान्–फोडान् अभियान छेडिसके। विद्वान्का चेलाहरूले अफिमको नशामा हिन्दू संस्कार–संस्कृतिको पुच्छर निमोठ्ने क्रममा किरियापुत्रीलाई गोली ठोके, मन्दिर छिर्नेहरूको हर्नासो भाँचे। समयको चर्खा घुम्दै जाँदा तिनै विद्वान् पिताजीको चौरासी पूजामा जम्लाहात गरेर थचक्क बसेछन्। तपाईंलाई लाग्ला, कथनी र करनीबीच यति ठूलो फेरो रहनु पाखण्डको पराकाष्ठा हो। यद्यपि, यस्तो विचार उम्लिए पनि दिल थामेर बस्नु बेस, किनकि जब्बरे तर्कहरूले लैस विद्वान्लाई हिलो लाग्न नभ्याउँदै तपाईं शिखण्डी साबित हुने बबाल जोखिम छ।

त्यसमाथि, उनको कर्कस थेसिस बजारमा आई पनि सकेको छ। पछिल्लो थेसिस कराउँछ– 'कसैको बिमाख नहुने गरी आफ्नो धार्मिक इच्छापूर्ति गर्नु/गराउनु मार्क्सवादसम्मत हो।' अब झ्टपट् बुझौं– मन्दिर जाने र किरियापुत्री बस्ने निमुखाहरूले उनको पिंडालु बारी फाँडेर बचत पूँजीलाई बुर्ती खातामा चढाइदिएकाले विगतमा भाटे कारबाही गरिएको हुनुपर्छ। उनको मार्क्सवादी ज्ञानमा जोड, घटाउ, गुणन, भागा गर्दा मानिसहरूको अन्तर्राष्ट्रिय जाति नभई जात, कुल र सम्प्रदायहरू मात्र हुने तत्वबोध भएको छ।

कैलाश मानसरोवर तीर्थाटनका बेला जातभातको लहरो धर्मरूपी थाङ्ग्रोमा अडिएको आत्मज्ञान पलाएकाले बन्धुहरूको कुलपूजामा सरिक हुनु अवाञ्छित नरहेको उनको तर्क लर्तरो छैन। बन्धुहरूको अनुष्ठानमा सरिक हुँदा धर्मकर्म, भजन–कीर्तन भन्दा स्कूल स्थापनाको बात मारेको तथ्यलाई त विरोधी साँढहरूले उच्च सम्मान गर्नू नि! उता, कहिले पार्टीको धार्नी पुग्ला र सिंहदरबार सरम्ला भन्दा–भन्दै संगठन आठ पोलमा झ्रेको शोकमा यस्तै धार्मिक अनुष्ठानहरूमा धाएर मन बहलाउने हो। पूजा, आराधना र भाकलकै भरमा दक्षिणतर्फ नमोदय भएको पला/घडी विचार्दा गंगामा डुबुल्की नलगाई वैतरणी पार नहुने जानेरै यो पापड बेल्नु पर्‍या हो। “एकताका बटुकहरूको टुप्पी टपाटप उडाउनुभा'थ्यो। अहिले तिनले चौरासीपूजा गराउने यजमानको केशमुण्डन गराउनुपर्ने अर्जी दिएमा के होला, मान्यवर?” विद्वान् कमरेडसँग सत्संगको मौका छोप्दै मैले स्वाट्ट सोधें।

“त्यो विज्ञानसम्मत थियो भन्ने हाम्लाई लाइरा'छ!” उनले गजक्क पर्दै भने। “खुलस्त पारिदिनुभए कृपा हुन्थ्यो, प्रभु!” मैले अनुनय गरें।

“स्याटलाइट र वाई–फाईको जमानामा खप्परको एन्टेना नसुहाएकोले त्यस्तो अभियान छेडेका हुम्।”

“अनि, मार्क्सले मार्क्सवाद नबुझेर धर्मलाई कालो पदार्थ भनेका रहेछन् कि कसो?”

“हे भगवान्! पिताको चौरासीमा नगाको'भे निर्दयी कम्निस्ट भन्थे, जाँदा नक्कले कम्निस्ट भनेर हत्तु पारे। यस्तो जुल्मी दुनियाँमा म बबुरो राम कता पो जाम्?” करिबन भक्कानिंदै उनले भने, “विपरीत ध्रुवबीचको एकत्वबाटै क्रान्ति सम्भव हुने सत्यधरी नबुझनेहरूलाई म के भनम्? डुब्न लागेकोले सिन्काको सहारा लिन नपाउने? मार्क्सवाद र धर्मको 'फ्यूजन'बाट मात्र एक्काइसौं शताब्दीको जनवादी क्रान्ति सम्भव हुनेमा भ्रम नरहोस्!”

थप प्रश्न सोधेर 'निन्दक' बन्नु अनुचित लागेर मैले शुभकामना दिंदै भनें, “तपाईंहरूको अफिम क्रान्तिले सफलताको शिखर चुमोस्!”

comments powered by Disqus

रमझम