२८ मंसीर-५ पुस २०७१ | 14-20 December 2014

घातक रहर

Share:
  
- मिलन बगाले
नियम मिच्ने होडले नै हो– कायरो र काठमाडौंलाई धराप बनाएको।

हिमाल आर्काइभ
इजिप्ट भन्नासाथ भव्य पिरामिडसहितको अलौकिक वास्तुसभ्यता आँखासामु नाच्न थाल्छ। मरेपछिको आफ्नो शवलाई समेत धेरै व्यवस्थित बनाउने शासकहरूले जिउँदो छँदा उपभोग गर्न बनाएका दरबार, बगैंचा र अरू भव्य संरचनाका धेरै अंश अझै पनि त्यहाँ संरक्षित छन्। प्राचीन सभ्यताको उद्गमस्थलको रूपमा विख्यात इजिप्ट त्यसलाई स्याहारेर सम्पदाको बजारीकरण गरी विदेशी मुद्रा कमाउने काममा निकै प्रख्यात छ।

पछिल्लो समयमा भने इजिप्ट गैर–कानूनी निर्माण प्रवृत्तिका कारण अन्तर्राष्ट्रिय समाचारको विषय बन्न थालेको छ। मंसीर दोस्रो साताको खबर अनुसार, इजिप्टको राजधानी कायरोको मातारिया जिल्लामा कानून मिचेर तला थपिएको आवासीय भवन भत्कँदा १५ जनाको ज्यान गयो। यो समाचारले कायरोमा पनि हाम्रो काठमाडौंमा जस्तै गैर–कानूनी संरचना निर्माणले परिणाम देखाउन थालेको स्पष्ट पार्छ। भ्रष्ट प्रशासन, नाफाखोर ठेकेदार र आफ्नै जीउधनप्रति सचेत नहुने नागरिक दोषी देखिएको यो घटना हाम्रो पारासँग ठ्याक्कै मिलेको देखिन्छ।

हामीकहाँ कायरोमा झैं घर भत्कने श्रृंखला शुरू नभए पनि उच्च भूकम्पीय जोखिममा रहेका यहाँका 'जथाभावी' भवनहरू कुनै पनि बेला तासको महल हुने खतरा छ। काठमाडौं उपत्यकाको कुन ठाउँमा कति अग्लो (तले) घर बनाउने? भनेर २०६४ सालको भवन निर्माण मापदण्डले बताउँछ। शहर व्यवस्थित र स्वस्थ बनोस् भनेर तत्कालीन काठमाडौं उपत्यका नगर विकास समितिले बनाएको मापदण्डले जग्गाको अनुपात अनुसारको घर बनाउन भनेको छ।

उपत्यकालाई पुरानो शहरी, आवासीय, संस्थागत, औद्योगिक, संरक्षण, शहरी विस्तार, सतह सवारी, विमानस्थल र खेलकुद गरी ९ क्षेत्र र विभिन्न उपक्षेत्रमा विभाजन गरेको मापदण्डले सम्बन्धित ठाउँको प्रकृति अनुसार एफएआर (फ्लोर एरिया रेसियो) तोकेको छ। ठिमीलगायतका ठाउँमा सीधै बनाउन पाइने अधिकतम तला तोकिएको छ। सबैलाई थाहा छ– घर–भवन नियम अनुसार नै बनाउनुपर्छ। तर, नियम मिच्नुलाई बहादुरी ठान्ने प्रवृत्तिप्रति नियमनकारी निकाय मौन बसिदिनाले शहर जोखिमै जोखिममा छ।

चिसा ओडारको नियति

एकमुखे ओडार राम्रो कि दुईमुखे सुरुङ राम्रो? सुन्दा अनौठो लाग्ने यो प्रश्न मोदनाथ प्रश्रितले २०५६ सालमा वास्तुशास्त्र सम्बन्धी एक लेखमार्फत राखेका थिए। उनको लेख भन्छ– एकझयाले कोठा एकमुखे ओडार जस्तै हो। त्यो भन्दा दुईमुखे सुरुङ धेरै स्वस्थकर हुन्छ। काठमाडौंका गोरेटा भन्न लायक साँघुरा सडक र मापदण्ड मिचेर जबर्जस्ती अग्लो पारिएका घरभित्र शहरवासी चिसो ओडारको नियति भोगिरहेछन्। जमीन नटेकी आकाशिने जबर्जस्तीले शहरलाई खर्लप्पै खाइसक्यो। बाहिरबाट हेर्दा धनीजस्तो देखिए पनि खोक्रो काठमाडौं यतिबेला आफ्नै घरभित्र लुगलुग कापिरहेको छ।

केही महीनाअघि इस्ष्टिच्यूट फर सोसल एण्ड इन्भायरोनमेन्ट ट्रान्जिसन, नेपाल (आइसेट, नेपाल) ले आयोजना गरेको प्रवचनमा वास्तुकलाका प्राध्यापक डा. सुदर्शनराज तिवारीले मल्लकालीन वास्तुकलाको उदाहरण दिंदै ती घरहरूले मानिसलाई मौसम अनुसार बाँच्न सहज बनाएको बताएका थिए। नयाँ निर्माणमा त्यो ज्ञान पटक्कै उपयोग नगरिएको जगजाहेर छ।

शहरको चौघेरोबाट आकाश मिच्ने होड चलिरहँदा सरकार भीरपाखा बटुलेर नगरपालिका र उप–महानगरपालिका बनाउने दौडमा छ। चितवनको गीतानगर, पटिहानी मंगलपुर र फूलबारी गाविस नगरपालिका नै नबनी यसपालि सोझ्ै उप–महानगरपालिका बन्यो। इटहरी उप–महानगरपालिकामा खनार, एकम्बा र पकली गाविस गाभिए भने धरानमा विष्णुपादुका गाविस। बुटवलमा सेमला र मोतिपुर गाविस थपिए भने काठमाडौं उपत्यका त गाविसविहीन नै बनेको छ।

नियम कानून मिच्ने होडले काठमाडौंलाई धराप बनाएको अवस्थामा घोषणा भएका नयाँ नगर–शहरहरूमा तरेली परेका गरा र लहलह झ्ुलेका बाली हुनुपर्छ भन्ने होइन, तर त्यहाँ बान्की परेका सुरक्षित भवन, खुला क्षेत्र, सलल सडक र सरसफाई पक्कै हुनुपर्छ। कायरोको दशा काठमाडौं र बाहिरका शहरहरूमा नदोहोरियोस्। नियम–कानून मिच्ने 'बहादुरी'भन्दा माथि उठेर सभ्य बन्न रहर गर्ने सबैको जय होस्।

comments powered by Disqus

रमझम