त्यही क्रममा मध्य नेपालको नवलपरासीमा ४० वर्षअघिसम्म कालो आँखा हुने खबटे कछुवा पाइन्थ्यो भन्ने थाहा पाएका उनले झापा र इलामका खोलाहरूमा साइक्लिमिज ओल्धानी प्रजातिका कछुवा र पाङसुरा टेन्टोरिया सर्कमडाटा प्रजातिका कछुवा फेला पारे। झापाको भद्रपुरबाट भ्यागुता बोकेर लन्डनको ब्रिटिश म्युजियम पुगे अनि बेलायत, जर्मनी, स्पेन र नेदरल्याण्डका प्राणीशास्त्रीहरूसँगको छलफलमा सहभागी भए। यसरी उनले २०६२ मंसीरमा नेपालमा उभयचर तथा सरीसृपहरूको वर्गीकरण, वितरण तथा उनीहरूमाथिको पर्यावरणीय प्रभाव शीर्षकको शोध तयार पारे, जसलाई यो क्षेत्रमा भएको एउटा गतिलो अध्ययन मानियो। यसरी खम्बुले त्रिभुवन विश्वविद्यालय र जर्मनीको युनिभर्सिटी अफ म्युनिखको संयुक्त कार्यक्रममा विद्यावारिधि गरे।
तर दुर्भाग्य, विद्यावारिधि लिएको ६ महीना नबित्दै उनका दुवै आँखाको रेटिनामा रगत जमेर तीव्र गतिमा दृष्टि धमिलिन थाल्यो। बिर्तामोडबाट मोटरसाइकलमा भद्रपुर र्झ्दै गर्दा देब्रे आँखामा कीरा ठोक्किएको सानो निहुँले यस्तो भयावह परिणाम देखाएपछि उनले पोष्ट डक्टरेटको लागि जर्मनी जान मिलेको सबै चाँजोपाँजो स्थगित गर्नु पर्यो। “केही समय त मलाई सम्हालिनै गाह्रो भयो”, प्राणीशास्त्रका ५८ वर्षे प्राध्यापक भन्छन्, “मानसिक समस्याको शिकार नै भएँ।”
तर संसारमा दृष्टिविहीनहरूले तरक्की गरेका कैयौं उदाहरण देखे/सुनेका खम्बुले पोष्ट डक्टरेटलाई माया मारेर अध्ययन–अध्यापनलाई जारी राखे। बोल्ने सफ्टवेयर भएको कम्प्युटरको मद्दतबाट २०६८ सालमा एम्पि्कबियन्स अफ कञ्चनजंघा–सिंहलीला कम्प्लेक्स, नेपाल नामको आकारमा सानो तर महत्वले गतिलो पुस्तक निकाले। विद्यावारिधिको शोधदेखि यताको आफ्नो जीवन र प्राज्ञिक कर्म जीवनसंगिनी शुभलक्ष्मी र हिमप्रसाद गौतम, गंगाप्रसाद अधिकारी, होम सुवेदी लगायतका साथीहरूको योगदानबाट सम्भव भएको खम्बु बताउँछन्। “समान पेशामा रहेका उनीहरूको प्रेरणा, भरोसा र सहयोगको लागि जीवनभर अनुगृहीत छु”, प्राध्यापक खम्बु भन्छन्।
म्युनिख विश्वविद्यालयका प्रा.डा. डब्ल्यु स्याख्ले र स्लाइख एचसँगको सहलेखनमा फिल्ड गाइड टु एम्पि्कबियन्स एण्ड रेप्टाइल्स अफ नेपाल र मेरो अनुसन्धान यात्रा नामक कृति पनि प्रकाशित गरेका प्राध्यापक खम्बु बासस्थानमाथि सीधा अतिक्रमण र रासायनिक वस्तुको प्रयोगले संसारभर उभयचर र सरीसृप लोप भइरहेको बताउँछन्। कसैले सरीसृप र उभयचरको कुरो उप्काउँदा जोशिंदै ज्ञानको बाकस खोल्ने खम्बुको दिमागी चिलाइ विद्यार्थी र अनुसन्धाताहरूसँग यस्तो छलफल गर्दा मर्छ।
घर नजिकैको मेची क्याम्पसमा सातामा १५ घण्टी लिने उनको क्याम्पस बाहेकको समय घरमै बित्छ। अहिले बोल्ने कम्प्युटरमा 'अटोबायोग्राफी' लेख्दै गरेका उनको संसारलाई आँखाले सीमित पारेको छ। र पनि, प्रा. खम्बु भन्छन्, “सकेसम्म धेरै गर्नु नै जीवन हो, अब नसकिएला भनेर त के पो हुन्छ र!”
गोपाल गडतौला
कर्जन्हाका स्वयंसेवी
'भोलन्टरी सर्भिस ओभरसिज' (भीएसओ) मार्फत नेपाल आएका ५८ वर्षीय अमेरिकी स्वयंसेवी माइकल रोसेनक्रान्ज (माइक) सिरहाको कर्जन्हामा आफूले रोपेको आँप फुलेपछि घर फर्कन चाहन्छन्।
स्थानीय बालबालिकाका लागि अस्पतालकै कोठामा पुस्तकालय स्थापना गरेका माइकले किताब लगायतका सामग्री अमेरिकाबाटै झिकाएका छन्। पुस्तकालय स्थापनामा क्यालिफोर्नियाको लसएञ्जलसबाट उनका बाबु नोरम्यान रोसेनक्रान्जले ठूलै सहयोग गरेका छन्। लेखपढ र चित्र बनाउन सिकाउनेदेखि फिल्म–डकुमेन्ट्री देखाउनेसम्मको सुविधा भएको पुस्तकालयमा समय मिलेसम्म माइक आफैं बालबालिकासँग जुटिरहेका हुन्छन्। “अधिकांश गाउँलेहरू बिरामी परेपछि अस्पताल हैन, झारफुकतिर लाग्छन्”, माइक भन्छन्, “अहिले भने पुस्तकालयमा आउने बालबालिकाले आफ्ना अभिभावक बिरामी हुँदा डोर्याएर अस्पताल ल्याउन थालेका छन्।”
गाउँमा स्वास्थ्य चेतनाको स्तर निकै तल रहेको राम्ररी थाहा पाएका यी स्वयंसेवीले हाटबजारमै स्वास्थ्य शिविर सञ्चालन गराउन थालेका छन्, जसबाट गाउँलेहरूका लागि 'एक पन्थ, दो काज' होस्। गाउँलेहरूको स्वास्थ्यमा सुधार ल्याउन अनेक 'टि्रक' गरेका उनी हाटको दिन अस्पतालकै क्यान्टिनमा बनाइएका 'सस्तो र स्वस्थकर खाना' को स्टल राख्छन्, जहाँ दाँतको परीक्षण पनि गरिन्छ। “कर्जन्हा र आसपासका गाविसका लगभग शतप्रतिशतमा दाँतको समस्या छ, तर दुखाइले सीमा नाघ्न नथालेसम्म उपचार गराउन आवश्यक ठान्दैनन्”, माइक भन्छन्, “जीवन धान्ने समस्याले स्वास्थ्यलाई बेवास्ताको विषय बनाएको छ।”
माइकको यो भनाइमा त्यस भेकको गरीबी र त्यसमा उनको सरोकारको गहिराइ देखाउँछ। 'फ्रिलान्सर' पत्रकार समेत रहेका उनी अमेरिकाको अनलाइन पत्रिका 'हफिङ्टन पोष्ट' र नेपालको 'दि हिमालयन टाइम्स' लगायतका पत्रपत्रिकामा त्यही सरोकार लेखिरहन्छन्। लसएञ्जलस शहरमा हुर्के–बढेका उनले नेपाल आउनुअघि केही समय भारतमा स्वयंसेवा गरेका थिए। भीएसओका लागि 'लाइभ्लीहुड' सल्लाहकार समेत रहिसकेका उनले सामाजिक न्याय, सशक्तिकरण, स्वास्थ्य र शिक्षाका क्षेत्रमा काम गरेका छन्।
स्कूल जाने उमेरकी बालिकाले टाउकोमा दाउराको भारी राखेर भोकैप्यासै हिंडेको देख्दा चित्तै दुख्ने गरेको बताउने माइक बायोग्याँस, ब्रिकेट जस्ता विकल्पहरू भए पनि कर्जन्हाका महिलाहरूको दिन दाउरा संकलनमै बितेको देख्दा दुःखी हुन्छन्। उनले स्थानीयलाई स्वस्थ खानेपानीका लागि 'बायो स्याण्ड फिल्टर' बनाउन भने सिकाएका छन्। “स्थानीय युवकहरूलाई सामाजिक कामका लागि 'फन्ड रेजिङ', प्रस्ताव लेख्न सिकाएको छु”, माइक भन्छन्, “अलिकति फुर्सद भयो भने गाउँ पनि डुल्नु परिहाल्यो।”
उनले काठमाडौंमा पनि गतिलै काम गरेका छन्। उनैले सिकाएका नेपाली सेनाका अपाङ्गता भएकाहरूको ह्वीलचेयर बास्केटबल टीम अहिले अन्तर्राष्ट्रिय खेल खेल्नेे भइसकेको छ। गत वर्ष उनकै पहलमा बास्केटबल खेलाडीहरूका लागि ११ वटा ह्वीलचेयर जुटाइएको थियो। अब उनी कहिलेसम्म नेपाल बस्छन् त? “कर्जन्हा अस्पताल परिसरमा आँपका बिरुवाहरू रोपेको छु”, माइक रमाइलो उत्तर दिन्छन्, “तिनमा फूल लाग्न दिनुस्।”
सञ्जीव शर्मा