२८ मंसीर-५ पुस २०७१ | 14-20 December 2014

अब कञ्चनजंघा

Share:
  
आफ्नै कठोर मिहिनेत र बलबुतामा विश्वका दुई अग्ला हिमाल आरोहण गरिसकेका माया, पासाङ ल्हामु र दावा याङजुम शेर्पा अब कञ्चनजंघातिर लाग्दैछन्।

माया, पासाङ ल्हामु र दावा याङजुम शेर्पाले पाकिस्तानको माउन्ट के–२ चढ्ने कुरा गर्दा धेरैले उत्साहित पारेनन्। सर्वोच्च शिखर सगरमाथा पुगिसकेका उनीहरुलाई शुभचिन्तकहरुले विश्वको दोस्रो अग्लो चुचुरो चढ्न उत्साहित नपार्नुको कारण थियो– 'किलर माउन्टेन' को रुपमा के–२ ले पाएको कुख्याती, जहाँ अहिलेसम्म ८६ आरोहीको मृत्यु भएको छ। तीमध्ये ६ जना नेपाली छन्। र पनि, उनीहरुले १० साउन २०७१ को दिउँसो ८ हजार ६११ मीटर अग्लो के–२ मा नेपालको झण्डा फहराएरै छाडे, नेपाली महिलाले पहिलो पटक के–२ आरोहण गरेको रेकर्डका साथ।

जलवायु परिवर्तन सम्बन्धी चेतना विस्तारको नारा लिएर के–२ अभियानका लागि गत असारमा पाकिस्तानतर्फ लागेको उनीहरुको टोलीले सरकारी सहयोग पाएन। सहयोग माग्न जाँदा पर्यटन मन्त्रालयका अधिकारीहरुले के–२ को बेसक्याम्पभन्दा माथि जानै नसक्ने भाषण सुनाएर फर्काएको माया बताउँछिन्। व्यक्तिगत दाता, साथीभाइ र परिवारबाट आर्थिक सहयोग जुटाएर के–२ अभियान सफल पारेका यी शेर्पा चेलीहरुले आरोहणको व्यवस्था मिलाउने कम्पनीलाई करीब रु.२० लाख अझै तिर्न सकेका छैनन्। आउँदो वसन्तमा कञ्चनजंघा आरोहणको ६०औं वर्ष पूरा भएको अवसरमा चढाइ गर्ने तयारी थालेका उनीहरु आर्थिक अभावमा छन्।

हिमाल आरोहणका लागि जाँदा यी गाइडहरुलाई सिजनको कमाइ त गुमाउनु पर्छ नै त्यसमाथि के–२ अभियानका बेला सम्भावित सहयोगीहरुसँग रकम लिइसकेकाले तेस्रो अभियानका लागि फेरि हात थाप्न गाह्रो भएको छ। आफ्नै बुताले अगाडि बढेका यी पर्वतारोहीहरु काठमाडौंको शक्तिकेन्द्रमा पहुँच नहुँदा पनि सहयोग पाउन नसकेको बताउँछन्।

सोलुखुम्बुकी पासाङ ल्हामु, ओखलढुंगाकी माया र दोलखाकी दावा याङजुम तीनै जना विवाहित हुन्। उनीहरु पर्वतारोहण वा ट्रेकिङ नभएका बेला हिमाली समुदायको स्वास्थ्य र शिक्षाको लागि स्थापित हिमालयन वुमन वेलफेयर सोसाइटीका लागि काम गर्छन्।

छिरिङ डोल्कर गुरुङ


सातौं आरोहणको तयारी

पूजना आचार्य, शैली बस्नेत, माया गुरुङ, आशाकुमारी सिंह, निमाडोमा शेर्पा, पेमा डिकी शेर्पा र चुनु श्रेष्ठको आरोहण टोली माउन्ट भिन्सन मस्सिफ आरोहणपछि सातै महादेशका अग्ला चुचुरामा पाइला टेक्ने विश्वकै पहिलो महिला टोली बन्नेछ। यो समावेशी टोलीले २००८ मा सगरमाथा, २०१० मा अष्ट्रेलियाको कोसिअस्को र रुसको एलब्रस, २०१३ मा तान्जानियाको किलिमञ्जरो, २०१४ मा दक्षिण अमेरिकाको अकोन्कागुआ र अलस्काको डिनाली आरोहण गरेको थियो। सगरमाथा आरोहणका क्रममा भेट भएपछि सात महादेशका सातै चुचुरा चढ्ने योजना बनाएका टोलीकी सदस्य शैली भन्छिन्, “सगरमाथा चढेपछि हाम्रो आफ्नै सपना पूरा गर्न र अरुलाई पनि प्रेरणा होस् भनेर 'सेभेन समिट' योजना बनायौं।”

यो टोलीमाथि बनेको फिल्म 'होल्डिङ अप स्काई' काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) मा २७ मंसीरमा प्रदर्शन भएको छ। जेम्स गियमब्रोन र रस परस्यो निर्देशक रहेको फिल्ममा टोलीको माउन्ट किलिमञ्जरो आरोहण हेर्न पाइन्छ। फिल्ममा दक्षिण अफ्रिकाकी अभिनेत्री ल्हुबी बोया पनि टोलीमा संलग्न भएकी छन्। आरोहणपछि टोलीका सदस्यहरुले तान्जानियाका विद्यालयहरुमा यात्रा अनुभव सुनाएका दृश्यहरु पनि छन्।

comments powered by Disqus

रमझम