२८ मंसीर-५ पुस २०७१ | 14-20 December 2014

बाबुको बिंडो

Share:
  
लामो समय रेडियो नाटकमा जमेका मदनदास श्रेष्ठका छोरा रेमनदास अहिले रंगमञ्चमा रमेका छन्।

अंग्रेजी नाटक थ्री पेनी ओपेरामा अभिनय गर्दै रेमनदास श्रेष्ठ बीचमा।
नेपाली समाजमा 'बाबुबाजेको बिंडो थामेस्' भनेर आशिष दिने चलन थियो। यस्तो आशिष रेमनदासलाई लागेजस्तो देखिन्छ। रेडियो नाटकहुँदै चलचित्रमा पुगेका उनी अहिले राम्रो रंगकर्मीको रुपमा प्रस्तुत भइरहेका छन्। राजधानीको होटल बज्रको नाग थिएटरमा मञ्चन भइरहेको अंग्रेजी नाटक थ्री पेनी ओपेरा मा लन्डनका कुख्यात अपराधी म्याक द नाइफको भूमिकामा उनलाई दर्शकले निकै मन पराएका छन्। रेमन भन्छन्, “चरित्रको गहिराइमा पुगेर गरिने अभिनयको मजा अलग हुन्छ, जुन फिल्ममा पाइन्न, नाटकमै पाइन्छ।”

कान्तिपुर एफएममा एक दशकदेखि कार्यक्रम प्रस्तोता रहेका रेमन तीन वर्षअघि भिजा गर्ल मार्फत चलचित्रमा आएका थिए। त्यसपछिका चलचित्र कर्कश र मेघा मा पनि उनले रामै्र गरेको मानिएको थियो। उनी भन्छन्, “फरक परिवेशको विदेशी नाटकमा अभिनय गर्दा साँच्चिकै अनौठो अनुभव भइरहेको छ।” रंगमञ्चमा उत्रिएको यो पटक भए पनि रेडियो नेपालका आधा दर्जन नाटकमा उनले अभिनय गरिसकेका थिए। सानैदेखि बुबाको अभिनय हेर्दै आएका उनी कला क्षेत्र आफ्नो 'प्यासन' भएको बताउँछन्।

जर्मन नाटककार बर्तोल्त बे्रख्तको यो नाटक नेपाली दर्शकमाझ पहिलो पटक प्रदर्शन भएको हो। सविना ल्हेमनले निर्देशन गरेको नाटकले नेपालमा रहेको डन प्रवृत्तिको केही झल्को दिएको छ। स्टुडियो सेभेनले प्रस्तुत गरेको नाटक २६ मंसीरदेखि ६ पुससम्म मञ्चन हुनेछ। नाटकमा अभिनेत्री सुजाता कोइराला, आशान्त शर्मा, केल्साङ डोल्कर लामा, शिरीष वाङदेल, सविना हाउक, रोजिता बुद्धचार्य, सुरज मल्ल, राजेन्द्र श्रेष्ठ, शक्ति राई, चन्द्रबुद्ध मगर लगायतले अभिनय गरेका छन् ।

comments powered by Disqus

रमझम