२८ मंसीर-५ पुस २०७१ | 14-20 December 2014

फेरि नेपाली तारा

Share:
  

२०६१ र २०६४ सालमा भएको नेपाली ताराको तेस्रो सिरिजको टपटेन छान्ने काम २७ मंसीर २०७१ मा भएको छ। सात वर्षको अन्तरालमा भएको गायन प्रतिभा खोज्ने यो 'रियालिटी शो' को आकर्षण कति भने यसमा १८ हजारभन्दा बढी अडिसनमा सहभागी भए। तीमध्येबाट सुदेश सुवेदी, प्रताप लामा, प्रताप दास, सुष्मा विश्वकर्मा, जलजला परियार, स्वेच्छा ठकुरी, विनोद राई, विशाल आत्रेय, देवेश राई र सुरेश लामा टपटेनमा आएका छन्।

नेपाली ताराका विजेता दीपक लिम्बू, सन्तोष लामादेखि पहिलो नेपाली तारामा दोस्रो भएका धर्मेन्द्र सेवान तेस्रो भएका रुपक डोटेल, उत्कृष्ट पाँचबाट बाहिरिएकी तथा महिल्ाातर्फकी सर्वोत्कृष्ट इन्दिरा जोशी नेपाली सांगीतिक क्षेत्रमा चम्केका छन्। टप ट्वान्टीभित्र परेका मल्लिका कार्की र पुष्पा पौडेलसम्मका प्रतिभा संगीत क्षेत्रमा जमेकाले पनि यसप्रतिको आकर्षण ठूलो छ। नेपाली तारा–३ का निर्माता तथा निर्देशक रञ्जित आचार्य संगीतको व्यवसायीकरणका कारण प्रतिभाले विना लगानी कलाकार बन्ने अवसर पाउने भएकोले यसमा आकर्षण रहेको बताउँछन्। “उपयुक्त प्लेटफर्म र आर्थिक अभावमा रहेका प्रतिभाका लागि नेपाली तारा ठूलो अवसरको ढोका भएको छ”, आचार्य भन्छन्, “यसबाट छिरेर उनीहरू स्टार बन्छन्।”

अडिसनको निर्णायक मण्डलमा रहेका संगीतकार सुरेश अधिकारी एक से एक प्रतिभाबाट छानिएर आएकाहरूको अवश्य भविष्य हुने बताउँछन्। उनको भनाइमा, १०–१५ वर्षको संघर्षबाट पाउने लोकप्रियता यो रियालिटी शोले एकै पटक दिने भएकोले पनि गायकी भएकाहरूका लागि नेपाली तारा महत्वपूर्ण अवसर भएको छ।


पुर्खादेखि श्रोतामाझ

लोकगायक फणीन्द्र सुवेदीको चौथो अल्बम पुर्खादेखि श्रोतामाझ आएको छ। शुभाग संगीत प्रतिष्ठानको प्रस्तुति रहेको यो लोकगीत सङ्ग्रहमा पुर्खादेखि, सुन काटी जन्तरै, सुरिलो रुखको र गौंथलीले गुडै लायो २०३४ सालमा रेडियो नेपालबाट गायन शुरु गरेका सुवेदीलाई यो अल्बममा माण्डवी त्रिपाठी र जुना प्रसाईले साथ दिएका छन्। शास्त्रीय सङ्गीतमा प्रभाकर गरेका सुवेदीले यसअघि मंसीर महीना, सुन्तला रसैले र फुल्का खाँदैछ लोकगीत अल्बम निकालेका छन्।


सीताको मौलिक भाका

तेह्रथुम जलजलेकी सीताकुमारी सिंगकले तेह्रथुमको फेदाप क्षेत्रका भाका समेटेर पहिलो अल्बम फेदापहाङमा (फेदापकी रानी) श्रोता/दर्शकमाझ ल्याएकी छन्। लिम्बू लोक (पालम) तथा आधुनिक गीतको भिडियो संस्करणका लागि उनले गाउँमै छायांकन गराएकी छन्। भिडियोहरुमा धरानदेखि तेह्रथुमका डाँडाकाडा, पहिरन, खोलानाला, वनजंगल र परम्परागत घरहरु अटाएका छन्। सीता भन्छिन्, “आफ्नो जातीय क्षेत्रको मौलिक सम्पदालाई सबैका सामु ल्याउन निकै मिहिनेत गरेकी छु।”

सीतालाई पालममा राजु आङदेम्बे र दिवस पयाङगुले साथ दिएका छन्। अल्बमका गीत अमर तुम्याहाङ, लीला सिंगक, बालकृष्ण माबुहाङ, प्रेम निङलेखू, येहाङ लावती र फुङसा पन्धाक हुन् भने संगीतकार इमाहाङ सेत्लिङ, बालकृष्ण माबुहाङ, खगेन्द्र पन्धाक र राजु आङदेम्बे। गुरुदेव कामत तथा श्रीराम आचार्यबाट संगीत शिक्षा लिएकी सीताले नेपाली, लिम्बू र तामाङ भाषाका गरी हालसम्म ३० अल्बमका लागि गाएकी छन्।

comments powered by Disqus

रमझम