१६-३० मंसिर २०६९ | 1-15 December 2012

होण्डा को डिलर बालाजुमा

Share:
  

 

स्याकार ट्रेडिङ कम्पनीले बालाजुमा होण्डा मोटरसाइकल र स्कुटरको नयाँ शो–रुम स्थापना गरेको छ। कम्पनीको आधिकारिक वितरक कपुरी ब्रदर्श इन्टरप्राइजेजले बालाजुको शो–रुम सञ्चालन गर्ने जनाइएको छ। 
 
सीजी ग्यास गिजर 
चौधरी समूहको सीजी इलेक्ट्रोनिक्सले सीजी ब्राण्डको ग्यास गिजर नेपाली बजारमा बिक्री शुरू गरेको छ। जाडो र गर्मी दुवै मौसमलाई उपयुक्त गिजरमा अटो ग्यास लिकेज र चाइल्ड लकको सुरक्षा तथा डिजिटल डिस्प्ले, ह्याण्ड सावरलगायतका सुविधा रहेको कम्पनीले जनाएको छ। सेतो र कालो रङमा उपलब्ध दुई वटा मोडलका गिजरको मूल्य रु.५९९० र रु.६१९० तोकिएको छ। 
 
एलजी लाई उपाधि 
दक्षिण कोरियाली ब्राण्ड एलजी ले भारतमा सबैभन्दा विश्वासिलो 'कन्जुमर ड्युरेवल ब्राण्ड'को उपाधि जितेको छ। ब्राण्ड विश्वास रिपोर्ट २०१२ मा कम्पनीले उक्त उपाधि जित्न सफल भएको हो। कम्पनीको प्रतिबद्धता अनुरुप सेवा दिएकाले एलजी सो उपाधि जित्न सफल भएको हो। नेपालमा एलजी का उत्पादन चौधरी समूहले बिक्री गर्दै आएको छ। 
 
इत्तेहाद पाँचौं वर्षमा 
संयुक्त अरब इमिरेट्स (युएई)को राष्ट्रिय ध्वजावाहक इत्तेहाद एयरवेज ले नेपालमा उडान शुरू गरेको पाँचौं वर्ष पूरा भएको छ। यो अवधिमा पाँच लाख यात्रुलाई नेपालबाट सेवा दिन सफल भएको र औसत ८० प्रतिशत अकुपेन्सीमा उडान गरेको कम्पनीले जनाएको छ। २६२ सीट क्षमताको दुई क्याविन एयरबस ए ३३० जहाजबाट आवुधावी–काठमाडौं उडान गर्दै आएको इत्तेहाद एयरवेज ले विश्वका ८७ गन्तव्यमा सेवा दिंदै आएको छ।  
 
वेष्टर्न युनियन को सहयोग 
वेष्टर्न युनियन को परोपकार संस्था वेस्टर्न युनियन फाउण्डेसन र कम्पनीका नेपालस्थित एजेन्टहरूले नेपाली ग्रामीण महिलामा वित्तीय साक्षरता र उद्यमशीलता बढाउन कार्यक्रम सञ्चालन गर्ने भएका छन्। मर्सी कर्प्स नेपालले सञ्चालन गर्ने एकवर्षे कार्यक्रम अन्तर्गत ६० हजार अमेरिकी डलर खर्चेर पाँचथर र भोजपुरका १२०० महिलालाई तालिम दिने जनाइएको छ।  
 
ह्विलपुल शो–रुम 
घरायसी उपभोग्य वस्तु उत्पादक ह्विलपुल कर्पोरेसनले नयाँ बानेश्वरमा काठमाडौंको तेस्रो शो–रुम स्थापना गरेको छ। १७० देशमा उपस्थिति जनाएको अमेरिकी ब्राण्ड ह्विलपुल ले नेपालमा भ्याकुम क्लिनर र नयाँ रेफ्रिजेरेटर सार्वजनिक गरेको छ। 
 
नविल ब्याङ्कले ग्राहकलाई इन्टरनेटमार्फत विश्वभरि अनलाइन किनमेल सुविधा दिने 'ई सेक्युर' शुरू गरेको छ। नविल ब्याङ्कबाट मास्टरकार्ड र भीसाका डेविट, क्रेडिट तथा प्रिपेड कार्ड लिएका ग्राहकहरूले घरमै बसेर अनि ब्याङ्कमा डलर खाता भएका ग्राहकले कार्डमार्फत डलरमै र नेपाली खाता भएका ग्राहकले भारु र नेरुमा पैसा भुक्तानी गर्न मिल्ने वेबसाइटमार्फत वस्तु तथा सेवा खरीद गर्न सक्नेछन्। यो कारोबारको प्रत्यक्ष नियमन थ्री डी प्रणालीमा आधारित 'एक्सेस कन्ट्रोल सर्भर' मार्फत भीसा र मास्टरकार्डले गर्ने भएकाले कुनै जोखिम नरहेको ब्याङ्कको दाबी छ।  
 
एस डेभलपमेन्ट ब्याङ्कले धादिङस्थित ग्रामीण आपसी विकास नामक संस्थालाई कार्वन उत्सर्जनमा कमी ल्याउन योगदान गरेवापत पुरस्कृत गरेको छ। संस्थाले १,९३५ सुधारिएको चुलो जडान गरी २,८०० टन हरितगृह ग्यास उत्सर्जनमा कमी भए वापत रु.३ लाख ६० हजार पुरस्कार प्रदान गरिएको हो। वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, न्यु ह्याम्पसायर च्यारिटेवल फाउन्डेसन र पटनम फाउन्डेसनले धादिङ, सिन्धुपाल्चोक र दैलेखमा पाँच हजार सुधारिएको चुलो जडान कार्यक्रम शुरू गरेको छ।  
 
नेपाल बंगलादेश ब्याङ्कले काभ्रेको कुशादेवीबाट शाखारहित 'घरदैलो ब्याङ्किङ सेवा' शुरू गरेको छ। ग्रामीण भेगका जनतालाई वित्तीय पहुँचमा ल्याउने उद्देश्यले यस्तो सेवा शुरू गरेको ब्याङ्कले जनाएको छ। कुशादेवी, रयाले र महेन्द्रज्योति गाविसलाई लक्षित गरी शुरू गरिएको सेवाबाट खाता खोल्ने, रकम जम्मा गर्ने, झ्िक्ने तथा उपभोग्य वस्तु/सेवाको बिल भुक्तानी गर्ने जस्ता सीमित ब्याङ्किङ सेवा लिन सकिन्छ।  
 
हिमालयन ब्याङ्कले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र १३.४२ प्रतिशत नगद लाभांश दिने भएको छ। ब्याङ्कले गत आर्थिक वर्षमा रु.९५ करोड ३८ हजार मुनाफा गरेको थियो। 
 
नेपाल इन्भेष्टमेन्ट ब्याङ्कको सहायक कम्पनी एनआईबीएल क्यापिटल मार्केट्स लिमिटेडले सीडीएस एण्ड क्लियरिङ लिमिटेडको सदस्यता पाएको छ। मर्चेन्ट ब्याङ्करको रूपमा नेपाल धितोपत्र बोर्डमार्फत यसअघि नै लाइसेन्स पाइसकेको कम्पनीले अब लगानीकर्तालाई शेयर खरीद बिक्रीमा सहयोग पुर्‍याउनेछ। 
comments powered by Disqus

रमझम