४-१० माघ २०७१ | 18-24 January 2014

स्वस्ति शान्ति

Share:
  
- महेश थापा
देब्रे/दाहिने नहेरी एकोहोरो संविधानको रटना लगाउनेले सधैं खानाकै सुर्तामा रहने उखानको घरज्वाइँ सम्झाएका छन्।

बिलाश राई
आसन्न साढेसाती नदेख्ने बेहोशीहरूले जाबो संविधानको रटना लाएर जब्बरे सुर्तालाई छायाँमा पारेको फिक्री लिएर हिंड्दै थिएँ, एक मित्रको धोद्रे स्वरले झवाट्ट रोक्यो।

“बर्बादै हुने भो नि!”

“हो, सोत्र्यामै होला जस्तो छ!” यी पुराना मित्रले चाहिं असली संकटको भेट्ना छामेको आशामा मैले लोली मिलाएँ।

“नालायक नेताहरूले बर्बादै पार्ने भए”, उनले थपे।

थाहा भयो, साथी रुम्जाटारतिरै रुमल्लिएका रहेछन्। मैले नाकको पोरा फुलाउँदै बेस्कन घुरें। मेरो डिङ्गे थुतुनो देखेर हो वा हाम्रो छिप्पट यारी भर्भराउँदो दुश्मनीमा परिणत हुने लख काटेर हो, मित्रले त्यहाँबाट लस्किनु श्रेयस्कर ठाने। म चाहिं ८ माघको संविधानसभा भवनभित्र सम्भावित परिदृश्य सम्झ्न थालें। टुहुरो संविधानसभाको निरीह अध्यक्ष हुनुपरेको औडाहामा सभामुख महोदयले अस्ति झ्न्डै कालकूट पिएका! धन्न, झ्न्डै पिउनु र नपिउनु एउटै भएकोले खराब परिणाम आएन।

एक थान संविधान नआउँदा पछिल्लो समय नेपालमा 'सुसाइडल टेन्डेन्सी' बेपत्ता बढेको मनोवेत्ताहरूको कथन छ। सत्ययुगको विषादी भएकाले सभामुखज्यूलाई निष्पि्कक्री छाडिदिए हुन्छ भन्ने मनोवेत्ताहरू पनि नदेखिएका होइनन्। तर, कलियुगमा त्यसको अपग्रेडेड भर्सन 'पोटासियम साइनाइड' हो भन्ने पढालेखा सभामुखलाई थाहा नहोला भन्न सकिन्न। जे होस्, एकबाजी फेल हुनुभएका सभाध्यक्षले फेरि गुल्टिङ खानु पर्दाको सन्त्रासमा कुनै अशुभ निर्णय पो लिनुहोला कि भन्ने त्रास यथावतै छ।

अर्कातिर माननीयहरूको टेन्सन आफ्नो ठाउँमा छँदैछ। बन्दकोठामा खामबन्दी गरेर तानिएका ताननीयहरूको विषयमा दैव जाने, तर प्रत्यक्ष निर्वाचित माननीयहरूलाई जनताले खसोखास संविधान लेख्नै अह्राएका हुन्। त्यो जण्ड जनादेशले बरा माननीयहरूलाई नजान्या कर्म गर्नुपर्ने बाध्यतामा बाँधेर मरेको छ। आगोले निभाओस् र पानीले डढाओस् भन्ने कामनामा लिट्टी कस्नेहरूले माननीयहरूलाई लडबुङ्गो सावित गर्न खोजेर के फलिफाप भैजाला र? पक्ष/विपक्षमा फाँटवारी लागेर तिघ्रा ठोकान् गरिरहेका माननीयहरू भने संविधानमा धारा जोड्न नसक्ने जानेर रगतको आहाल जमाउने हुँकार गरिरहेका छन्। यस्तो हुँकार सुनेर हल्का हृदयघात व्यहोरेका एक जिजुबाले सोधे, “सदरचिडियाखाना नयाँबानेश्वरतिर सारेछन् कि क्या हो, बाबु?”

उता प्रमुख प्रतिपक्षी नेता हेडक्वाटरै खोलेर लड–भिड गर्ने किरिया खाइरहेका छन्। जति लोलोपोतो गरे'नि सरकारी क्वाटराँ ढिम्किने उद्यम नचले'सी उनको मथिङ्गलमा हेडक्वाटरे मसानको कत्थक चलेको हुनुपर्छ। सडक पसारोमै देहत्याग गर्नु परे गरुँला, विधिसम्मतढङ्गले संविधान ल्याई खानदिन्न भन्ने उनको उद्यम पनि चल्ला जस्तो चाहिं देखिन्न। अतः हेडक्वाटर खोल्ने चक्करमा तिलौरा खाने सिजनबीच खप्पराँ फुलौरा फलाउनु भन्दा बरु यो जाडोमा एक क्वाटर मारेर रमरमाउनु बेस! परन्तु, हामी अदनाको सुझाव सधैं खोलाको गीत हुने गरेको छ।

सभाध्यक्ष विषपानको मूडमा, माननीयहरू संविधानसभा पर्व रच्ने सुरमा अनि प्रतिपक्षी नेता प्राण उत्सर्ग गर्ने धुनमा रहेको हेक्का नराखी साँझ्, बिहान, चारै प्रहर साउने भ्यागुतो माफिक ट्वार–ट्वार (संविधान–संविधान) भनिरहनुले हामी नेपालीहरूको फक्कडपनालाई उजागर गर्छ। असली संकट ठम्याउने ल्याकत बुचीट्वाँट भएकैले हाम्रो दुःख अपार भएको हो। नेता एवम् माननीयहरू यदुवंशी तालमा तुरिए भने हाम्रो टाउकोमा गिर खेल्ने नेतृत्व फेरि कसरी पैदा गर्ने? यो बबाल सवाललाई नजरअन्दाज गर्दै आफ्नै खुट्टोमा बञ्चरो हान्ने बेवकुफी नगरौं।

८ माघमा संविधान आओस् होइन, नेताज्यूहरूको गाथमा खैरियत रहोस् भनी कामना गर्न सम्पूर्ण नेपालीले गाउँ, टोल, शहर, बजार, गल्ली, चोक एवम् नुक्कडहरूमा आ–आफ्नो धर्म, संस्कृति, परम्परा र गच्छे अनुसार स्वस्ति–शान्ति गरौं, गराऔं। हे देव, अर्थोक केही माग्दैनौं, ९ माघको झुल्के घामले हाम्रा समस्त नेता एवम् माननीयहरूलाई साबुत दर्शन गर्न पाओस्। स्वस्ति शान्ति!

comments powered by Disqus

रमझम