४-१० माघ २०७१ | 18-24 January 2014

योगबाट वियोग

Share:
  
- सन्त गाहा मगर
भारतीय योगगुरु रामदेवको भनाइमा लागेर एलोप्याथी औषधि बीचैमा छाड्ने मिगौला, मुटु, उच्च रक्तचाप र मधुमेहका बिरामीहरूको ज्यान हृदयघात, मस्तिष्कघात, पक्षघात, ब्रेन ह्यामरेज र किड्नी फेलियरबाट गइरहेको छ।

हिमाल अर्काइभ।
काठमाडौं, खुलामञ्चमा २० पुस २०६६ मा योगाभ्यास गरिंदै।
पाँच वर्षदेखि उच्च रक्तचापको औषधि खाइरहेका जलेश्वर, महोत्तरीका वैकुण्ठ यादव (६२) लाई गाह्रो भएपछि काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा जचाउँदा ब्लड प्रेसर २०० एमएम पुगिसकेको रहेछ। डाक्टरले दिएको प्रेसरको औषधि छाडेर योगगुरु रामदेवले भने अनुसारको औषधि खान थालेपछि उनको समस्या बढेको थियो। “आस्था च्यानलमा बाबा रामदेवले भने अनुसार मुक्ता वटी नामको औषधि खाएको झ्न्डै बर्बाद भयो”, यादवले भने, “डा. जगदीशप्रसाद अग्रवालको सल्लाहमा पुरानै औषधि खान थालेपछि विस्तारै ठीक हुँदै गयो।”

काठमाडौंकी ५७ वर्षीया विभीषिका थापा (नाम परिवर्तन) दुई सातादेखि ग्रान्डी अस्पतालको इन्टेन्सिभ केयर युनिट (आईसीयू) मा छिन्। पाठेघरको क्यान्सरबाट पीडित उनी नियमित किमो र रेडियोथेरापी छाडेर रामदेवको योगमा लागेपछि आईसीयुमा पुगेकी हुन्। नाम उल्लेख गर्न नचाहने एक जना आफन्तका अनुसार विभीषिकाले पनि योग गर्दा क्यान्सर निको हुने 'ज्ञान' आस्था च्यानलबाटै पाएको बताउँछन्। “त्यही कारण उहाँको स्वास्थ्यस्थिति नराम्ररी बिग्रियो”, उनले भने।

यादव र थापा रामदेवको लहलहैमा लागेर एलोप्याथिक औषधि छोड्दा तुलनात्मक रूपमा कम क्षति हुनेमध्ये पर्ने बताउँछन्– शिक्षण अस्पतालका प्रा.डा. जगदीशप्रसाद अग्रवाल। उनले योगबाट रक्तचाप, चिनीरोग, वाथ, मुटु र किड्नी रोग निको हुन्छ भन्ने विश्वासमा परेर बीचैमा औषधि छाडेर प्राणायामको शरणमा गएका धेरैले ज्यान गुमाइसकेको बताए। “रामदेवको विश्वासमा ब्लड प्रेसरको औषधि छाड्दा ब्रेन ह्यामरेज भएर बित्नेमा एक जना पूर्व न्यायाधीश समेत छन्”, प्रा.डा. अग्रवाल भन्छन्, “योगलाई पैसा कमाउन प्रयोग गरिनाले बिरामीहरूको अकालमा ज्यान गइरहेको छ।”

उनका अनुसार, कडा खालको उच्च रक्तचाप भएका र मुटुको रक्तनली साँघुरिएकाहरूले जीवनशैली परिवर्तनका साथै एक वर्षभित्र एन्जिओप्लास्टी वा बाईपास सर्जरी गर्नुपर्छ। रामदेवले जीवनशैली परिवर्तनमा ठूलै योगदान दिए पनि रोग र उपचारबारे विल्कुलै गलत प्रचार गरेको प्रा.डा. अग्रवाल बताउँछन्।

रोग बढाउने कारक

आस्था च्यानलमा बाबा रामदेवले भने अनुसार मुक्ता वटी नामको औषधि खाँदा रोगले झनै च्यापेपछि डा. जगदीशप्रसाद अग्रवालको सल्लाहमा औषधि खान थालेका उच्च रक्तचापका बिरामी जलेश्वर, महोत्तरीका वैकुण्ठ यादव।
शुरूमा मधुमेह भएकी भक्तपुर सल्लाघारीकी अनिता खड्गी (नाम परिवर्तन) को मिर्गौला फेल भयो। नियमित डायलासिस् गराइरहेकी उनलाई हृदयघात समेत भएपछि बाईपास सर्जरी पनि गर्नु पर्‍यो। ५३ वर्षीया खड्गीले २०६६ मा रामदेव काठमाडौं आउँदा खुलामञ्चमा चलेको शिविरमा सहभागी भएपछि प्राणायाम गर्न थालेकी थिइन्। त्यहाँसम्म त ठीकै थियो, तर उनले डाक्टरले लेखेको औषधि छाडेर रामदेवले भने अनुसार १०० ग्राम तितेकरेला, १०० ग्राम काँक्रो/लौका र १०० ग्राम गोलभेंडाको रस खान थालिन्। त्यसको करीब चार महीनापछि उनलाई दम बढ्ने, पिसाब कम हुने अनि हात–खुट्टा र मुख सुन्निने हुन थाल्यो। त्यसपछि वरिष्ठ मुटुरोग विशेषज्ञ प्रकाशराज रेग्मीले परीक्षण गर्दा मिर्गौला र मुटु बिग्रिसकेको थाहा भयो। “शरीरमा आइसकेको रोग योग र प्राणायामबाट निर्मूल हुन्छ भनेर प्रवाह गरिएको सन्देशले हृदयघात र किड्नी फेलको समस्या बढाएको छ”, डा. रेग्मी भन्छन्।

योग र प्राणायामले सबै रोग निर्मूल हुन्छ भन्ने भ्रमकै कारण चितवनमा एक बालकको मुटु अप्रेशन गर्नै नमिल्ने अवस्थामा पुगेको डा. रेग्मीले बताए। भरतपुर–१२ का ती बालकको मुटुमा वेंट्रीकुलर सेप्टल डिफेक्ट (१.६ से.मी. को प्वाल) र मुटुभित्रको चाप ५० मिलिमिटर्स अफ मर्करी (मिमि) थियो। जतिसक्दो चाँडो अप्रेशन गर्नुपर्ने यस्तो जन्मजात समस्यालाई रामदेवको कपालभातिले जटिल बनायो। “हरेक दिन बिहान, दिउँसो र बेलुका ३०–३० मिनेट कपालभाति प्राणायाम गराएँ”, बालकका बुबा विशाल शर्मा भन्छन्, “एक वर्षपछि जाँच्दा मुटुको प्वाल जस्ताको तस्तै थियो तर भित्रको चाप ८० मिमि पुगिसकेको रहेछ, यसलार्ई अप्रेशन गर्न नमिल्ने अवस्था मानिंदो रहेछ।”

मुटुमा प्वाल परेको, बनावट नमिलेको, नसाहरू उल्टा भएको लगायतका जन्मजात समस्यामा बाबा रामदेवको कपालभाति सहित १० हजार योगाभ्यास गरे पनि केही नलाग्ने डा. रेग्मी बताउँछन्।

औषधि छाड्नै हुँदैन

सबै रोगको निदान योगलाई मानेर औषधि छाड्दा परिणाम (डाक्टरी भाषामा रि–बाउण्ड इफेक्ट) घातक आउने बुझाउन माथिका उदाहरण काफी छन्। डा. प्रकाशराज रेग्मीको पुस्तक 'योग र मुटु रोग' का अनुसार, औषधि नखाँदा वा बीचमा छाड्दा उच्च रक्तचापका बिरामीमध्ये ९० प्रतिशतको आकस्मिक मृत्यु हुन सक्छ। पुस्तक भन्छ– 'ठण्डाका मतलब– ट्वाइलेट क्लिनर' (चिसो भनेकै कोकाकोला भन्ने विज्ञापनलाई उडाउने रामदेवको वाक्य) भन्दा कसैको ज्यान जाँदैन। नङ रगड्दा सेतो कपाल पनि कालो हुन्छ भन्नुमा पनि ज्यानको खतरा छैन। तर, 'प्राणायाम से उच्च रक्तचाप निर्मूल होता है' भन्ने प्रचारबाजीले हजारौंको अकालमै ज्यान जान सक्छ। तर, आस्था च्यानलमा बाबा रामदेव भनिरहेकै छन्, “प्राणायाम से उच्च रक्तचाप नियन्त्रण हि नही, निर्मूल होता है, इस लिए प्राणायाम करो, ब्लड प्रेसर कि दबा कि कोई जरुरत नही!”

योगा सिकाउन काठमाडौ आउँदा बाबा रामदेव।
ग्राण्डी इन्टरनेशनल अस्पतालको इमर्जेन्सी एण्ड ट्रमा केयर डिपार्टमेन्ट प्रमुख डा. अजयसिं थापा खासगरी शहरिया जीवनशैलीमा ठूलो परिवर्तन ल्याएका रामदेवले रक्तचाप, मधुमेह वा औषधि नगरी नहुने अरू रोग पनि योगबाट ठीक हुन्छ भनिदिंदा बिरामीहरू खतरामा परेको बताउँछन्। इमर्जेन्सी मेडिसिनमा डिएम थापाले एलोप्याथी औषधि विरोधीको कुरा पत्याउँदा धेरैले इमर्जेन्सी वार्डमा भर्ना हुनु परेको बताए। योगले रोग निर्मूल पार्छ भन्ने रामदेवको विश्वास परेका बिरामीहरू भने उच्च रक्तचाप, मधुमेह, मुटु, मिर्गौला आदि रोगबाट सदाका लागि मुक्त हुन डाक्टरको औषधि छाडेर टेलिभिजन अगाडि कपालभाति र अनुलोम विलोम गरिरहेकै छन्। “त्यसरी औषधि छाडेका रोगीहरू ढीलो या चाँडो हृदयघात, पक्षघात वा किड्नी फेलियर भएर इमर्जेन्सीमा भर्ना हुन पुग्छन्”, डा. रेग्मी भन्छन्, “तीमध्ये केहीलाई मात्र डाक्टरहरूले बचाउन सक्छन्।”

त्रिवि शिक्षण अस्पतालको मधुमेह विभाग प्रमुख प्रा.डा. प्रदीपकृष्ण श्रेष्ठका अनुसार, मधुमेह र उच्च रक्तचापलाई एलोप्याथिक औषधिले पनि नियन्त्रण मात्र गर्ने हो। मधुमेहका कारण किड्नी फेल हुन नदिन, हृदयघातबाट बचाउन वा आँखा अन्धो हुन नदिन एलोप्याथिक औषधि चलाइन्छ। “एलोप्याथीले निको नभएको रोगलाई योग वा कुनै आयुर्वेदिक धूलोले चट् पार्छ भन्नु सरासर ठगी हो”, प्रा. डा. श्रेष्ठ भन्छन्, “निको पार्ने भए त त्यस्ता व्यक्तिले नोबेल पुरस्कार पाइसकेका हुनेथिए।”

प्रा.डा. श्रेष्ठको विचारमा, मधुमेह, उच्च रक्तचाप जस्ता रोगको मूल औषधि त्यस सम्बन्धी ज्ञान हो। तर, ५०० रहेको मधुमेहलाई व्यायाम र खानपानमा ध्यान दिएर ४५० मा झार्ने बित्तिकै बिरामीहरू योगको भ्रममा पर्ने गरेको उनी बताउँछन्। “एलोप्याथीका विरोधीहरूले न मधुमेहलाई ११० मा झार्न सक्छन् न त मुटु, आँखा र किड्नी जोगाउन सक्छन्”, प्रा.डा. श्रेष्ठ भन्छन्, “उनीहरूले गर्ने भनेको भ्रम सिर्जना मात्र हो, जसले गर्दा बिरामीहरू धेरै ढीलो डाक्टरकहाँ पुग्छन्।”

एलोप्याथीले निको नभएको रोगलाई योग वा कुनै आयुर्वेदिक धूलोले चट् पार्छ भन्नु सरासर ठगी हो।

प्रा.डा. प्रदीपकृष्ण श्रेष्ठ

रामदेवले योगलाई पैसा कमाउन प्रयोग गर्दा बिरामीहरूको अकालमा ज्यान गइरहेको छ।

प्रा.डा. जगदीशप्रसाद अग्रवाल

मानसिक तनावका कारण रक्तचाप उच्च भएका बिरामीलाई प्राणायामबाट 'नर्मल' बनाउन सकिन्छ भन्ने तर्कलाई भने डाक्टरहरू बेठीक मान्दैनन्। डा. रेग्मीले योग र मुटु रोगमा लेखेका छन्, “तर मिर्गौलामाथिको ग्रन्थीमा ट्युमर भएका, मिर्गौलाको रक्तनली सुकेर ब्लड प्रेसर बढेका, ठूलो धमनी साँघुरिएर प्रेसर बढेकालाई पनि परीक्षण नै नगरी एउटै समूहमा राखेर 'प्राणायाम करो ब्लड प्रेसर निर्मूल हो जायगा' भनेर पेट हल्लाउने र सिंह जस्तो गर्जन लगाएर मानिसको ज्यानमाथि खेलबाड नगर्नुस् महाराज!”


'अब चूप लाग्न सकिंदैन'

डा. प्रकाशराज रेग्मी

अहिले एलोप्याथी, होमियोप्याथी, आयुर्वेद, औषधिविहीन लगायतका चिकित्सापद्धति चलनमा छन्। उपचारपद्धति नै पेशा भएपछि आर्जन गर्नै पर्ने भयो। आर्जन गर्ने लक्ष्य भएपछि कसरी बढी आर्जन हुन्छ भन्नेमा प्रतिस्पर्धा भयो। आयुर्वेदिकमा गएको बिरामीलाई एलोप्याथिक औषधि खायो भने जिन्दगीभरि खाइरहनुपर्छ, 'साइड इफेक्ट' पनि हुन्छ, तर आयुर्वेदिक औषधि चलाउँदा रोग सदाका लागि निर्मूल हुन्छ भनिन्छ। त्यही बिरामीलाई औषधिविहीन पद्धतिवाला चिकित्सकले औषधि–सौषधि खानै पर्दैन भनिदिन्छ। उता योगवाला 'योग गर, सब ठीक हुन्छ' भन्छ। योगले जमेको नसा पनि खुल्ने, मुटुको प्वाल पनि टालिने कुप्रचार चलेको छ। यस्तो कुप्रचारले बिरामीहरूको ज्यानै जानेसम्मको हानि हुन थालेकोले बोल्नै पर्ने अवस्था आएको हो।

हामी एलोप्याथीका डाक्टरहरूलाई पनि योगका फाइदा–बेफाइदा थाहा छ। म आफैंले योगलाई पूरक उपचार पद्धतिको रूपमा राखेको छु, बिरामीहरूलाई प्राणायाम गर्न भन्छु। औषधि पनि खाने, योग पनि गर्ने हो, योगलाई नै चिकित्सा विधि बनाउने होइन। आयुर्वेदिक वा एलोप्याथिक डाक्टरले योग पनि गर्नु भन्नु एउटा कुरा हो, तर योगवालाले औषधि दिनु गलत हो। किनभने, योग आफैंमा चिकित्सापद्धति वा औषधिशास्त्र नभई आध्यात्मिक कुरा हो। तर, रामदेवले नियमित औषधि खानु नपर्ने, ल्याब टेस्ट, परीक्षण केही गर्नु नपर्ने भनेपछि मान्छेहरू त्यस्तो हाइसन्चोको पछिलागेका छन्। शिक्षित भनिएकाहरूले समेत डाक्टरले दिएको औषधि छाडेर रामदेवको मुक्ता वटी खाएको देख्दा अचम्म लाग्छ। त्यो मुक्ता वटी जसमा रिजरपिन मिसाइएको हुन्छ। ३० वर्ष अगाडिसम्म एलोप्याथीमा पनि रिजरपिन प्रयोग हुन्थ्यो, तर त्यसले मस्तिष्कमा असर गरेको प्रमाणित भएपछि प्रतिबन्धित गरियो।

योगवालाले दिने आयुर्वेदिक औषधि निकै महँगो छ र एक पटकमा दुई–तीन हजारको पोका भिराएको देखिन्छ। नेपालमा पनि यो व्यापार निकै फस्टाएको छ। उनीहरू बिरामी निको पार्ने औषधिदेखि हात धुने साबुन र खानेतेलसम्म बेच्छन्। यो जनताको स्वास्थ्य रक्षामा नभई पूर्णतया व्यापारिक भएको छ। एलोप्याथीको विरोध गर्ने रामदेवले आयुर्वेदिक औषधिले रोग निको हुन्छ, 'साइड इफेक्ट' पनि गर्दैन भन्दासम्म त ठीकै थियो, तर एलोप्याथिक औषधिले किड्नी फेल हुन्छ, लिभर बिगार्छसम्म भन्न थाले। फ्याक्ट्रीमा बनेको केमिकल हो रे! जबकि, एलोप्याथीले आयुर्वेदिक औषधि र योगलाई नराम्रो भन्दैन।

आयुर्वेदिक र होमियोप्याथीमा एलोप्याथीमा जति अनुसन्धान भएका छैनन्। सुगर, क्यान्सर, ब्लड प्रेसर आदि निको पारेको भए आयुर्वेदिक औषधिको अवश्य विकास हुनेथियो। हामी पो कस्ता, जो एउटाले 'योग गर, सब ठीक हुन्छ' भन्दा आँखा चिम्लेर पत्याइदिन्छौं। त्यतिबेला धेरै दुःख लाग्छ, जब हामीले दिएको औषधि फालेर गाह्रो भएपछि बिरामी आउँछन्।

नसर्ने रोगहरू बढ्नुको एउटा कारण आधुनिक भनिएको जीवनशैली हो। योगबाट जीवनशैली सुधार्ने हो भने ८० प्रतिशत मुटु रोग कम हुन्छ। तर, क्यान्सर, सुगर, हर्टअट्याक, मस्तिष्कघात भनेका पिनास, ग्यास्ट्रिक, हातगोडा झ्ाम्झ्ामाएको जस्तो होइन भन्ने बिर्सनुहुँदैन। यस्ता खतरनाक रोगको निदानका लागि रामदेवको पछि नलागी अचूक–प्रामाणिक औषधि गर्नुपर्छ। रामदेवले अर्बौंको औषधि व्यापार त चलाएका छन्, तर ब्लड प्रेसर, सुगरको उपचारलाई हल्का रूपमा लिएर। प्रेसर वा सुगर नाप्दा कम भयो भन्दैमा रोग ठीक भएको हुँदैन। प्रेसर ठीक देखिए पनि औषधि छाड्नुहुँदैन। एकछिनका लागि ब्लड प्रेसर घटाउनु ठूलो कुरा होइन। किड्नीबाट निस्कने इन्जाइमले ब्लड प्रेसर बढाउँछ। रामदेवको उपायले त्यो इन्जाइम निकाल्ने नसाको भेउ नै पाउँदैन।

comments powered by Disqus

रमझम