४-१० माघ २०७१ | 18-24 January 2014

ज्येष्ठ नागरिकको शताब्दी

Share:
  
- भूमिदत्त पौडेल
अबको ३५ वर्षपछि संसारमै ६० वर्षमाथिका मानिसको संख्या अहिलेसम्मकै धेरै हुँदैछ। उमेर समूहसँगै समाजका थुप्रै प्राथमिकता परिवर्तन हुने देखिन्छ।

मानव इतिहासमा पहिलो पटक सन् २०५० मा १५ वर्षमुनिका भन्दा ६० वर्ष माथिको जनसंख्या बढी हुदैछ। विश्वमा सन् २०१३ मा ७ अर्ब २० करोड जनसंख्या रहेको अनुमान थियो । यो संख्या २०५० र २१०० मा क्रमशः ९ अर्ब ६० करोड र १० अर्ब ९० करोड पुग्ने संयुत राष्ट्रसंघको जनसंख्या बिभागको अनुमान छ ।

२०१३ को कुल जनसंख्या मध्ये १४ वर्ष मुनिकाको २६ प्रतिशत, १५–२४ वर्षका १७ प्रतिशत, २५–५९ वर्षका सक्रिय प्रौढ जनसंख्या ४५ प्रतिशत र ६० वर्ष माथि १२ प्रतिशत रहेको थियो। राष्ट्रसंघका अनुसार, सन् २०५० मा १४ वर्ष मुनिकाको जनसंख्या ६ प्रतिशतले घटेर २१ प्रतिशतमा, १५–२४ वर्षको जनसंख्या ३ प्रतिशतले घटेर १४ प्रतिशतमा, उच्च सक्रिय प्रौढ उमेर २५–५९ वर्षको जनसंख्या १ प्रतिशतले घटेर ४४ प्रतिशतमा र्झ्नेछ। तर, ६० वर्ष माथिको जनसंख्या भने सन् २०५० मा पुग्दा ९ प्रतिशतले बढेर २१ प्रतिशत र सन् २१०० मा थप ६ प्रतिशतले बढेर २७ प्रतिशत पुग्नेछ। यसरी यस शताब्दीको मध्यपछि कुल जनसंख्यामा ज्येष्ठ नागरिकको अनुपात अन्य उमेर समूहको भन्दा बढी हुने र यो अवस्थाले निरन्तरता पाउने हुँदा यो शताब्दीलाई ज्येष्ठ नागरिकको शताब्दी भनिएको हो।

जनसंख्याको उमेरगत प्रक्षेपण अनुसार हामीले समाजमा धेरैखाले परिवर्तन गर्नुपर्नेछ। जनसंख्या अनुकूलको व्यवहार अपनाउनुपर्छ। ज्येष्ठ नागरिक मैत्री समाज निर्माणमा श्रम शक्तिको उचित व्यवस्थापन गर्न नीतिगत परिवर्तन जरूरी छ। अहिले बच्चा र युवाका प्राथमिकतामा परेका कतिपय योजना ज्येष्ठ नागरिकमुखी बनाउनुपर्ने हुन्छ। यस्तो बेला अवसरहरू पनि परिवर्तन हुनेछन्। सेवाका क्षेत्र, जस्तैः व्यापार, खाना, खेलौना, कपडा, स्याहार, हेरचाह, अस्पताल, विद्यालयहरू त्यो समय ज्येष्ठ नागरिक केन्द्रित बनाउनुपर्नेछ।

प्रविधिमा पनि व्यापक परिवर्तन जरूरी हुनेछ। हालका कम्प्युटर, मोबाइल, एप जस्ता उत्पादन पनि ६० वर्ष माथिलाई सहज हुने गरी उत्पादन गर्नुपर्छ। राजनीतिक दलहरूका घोषणापत्र र विकासका कार्यक्रमहरूमा पनि परिवर्तन आवश्यक हुन्छ। ती कार्यक्रम स्वतः ज्येष्ठ नागरिकमुखी हुनेछन्। मतदाताको अधिकांश हिस्सा ज्येष्ठ नागरिक हुने भएकाले यसो नगरी दलहरूलाई सुखै छैन। समाजमा वृद्धको जनसंख्या बढ्नुलाई धेरैले भारको रूपमा लिने गरेका छन् तर यो आफैंमा अवसर पनि हो। अवसरलाई कसरी उपयोग गर्ने भन्नेतर्फ भने आजको समाज लाग्नुपर्ने देखिन्छ। अन्यथा भोलिका दिन जटिल बन्ने देखिन्छ।

जनसंख्यामा उमेर समूह परिवर्तनसँगै पारिवारिक र पुस्तागत बनावट पनि फरक हुन्छ। त्यसलाई नबुझी भोलिको समाजको स्वभाव बुझन कठिन हुन्छ। उमेर समूहमा आउने परिवर्तनसँगै हामीले हालसम्म देखे–भोगेको तीन पुस्ताको पारिवारिक संरचना पनि परिवर्तन हुने अनुमान गरिएको छ। विकसित देशमा यस्तो अवस्था प्रशस्त देखिएको छ र कम विकसित देशमा पनि पाँच पुस्ताका परिवार यदाकदा भेट्न सकिन्छ। २०५० पछि भने यस्ता परिवार व्यापक हुँदै जानेछन् (हे. माथिको तालिका)। यस्तो समस्याको सामना कसरी गर्ने? सोच्ने बेला भइसकेको छ। त्यसैले सहस्र शताब्दी लक्ष्यको समाप्तिसँगै शुरू भएको सन् २०३० सम्ममा दिगो विकास लक्ष्य प्राप्त गर्न पनि ज्येष्ठ नागरिक मैत्री समाजले थप ऊर्जा प्रदान गर्नेछ।

(लेखक एजिङ नेपालसँग सम्बद्ध छन्।)

भूमिदत्त पौडेल

comments powered by Disqus

रमझम