जिल्लाको पूर्वी सीमाका गाविस खिदिम–१ र पणेना–१ मा पर्ने खुलुले र सिम्ले सुन्तला खेतीमा पनि नम्बर एक छन्। यी दुई गाउँमा मकै खेती लगभग मासिइसकेको छ। सुन्तलाले गाउँमै एक–दुई जना व्यापारी पनि जन्माइसकेको छ। मकै र अरू खेती गर्दा गाउँमा काम गर्ने मान्छे छैन, पाए पनि ज्याला चर्काे, खर्च उठ्दैन। त्यसैले सबैले बारीमा सुन्तला लगाएका छन्। खिदिम–१ खुलुलेकी जमुना पौडेलले श्रीमान्को वैदेशिक रोजगारीबाट आउने पैसा आफ्नो सुन्तला खेतीबाट बचत हुन थालेको बताइन्। यस वर्ष रु.१ लाख ३५ हजारमा ७० बोट सुन्तला बेचेकी पौडेल पहिलेकै जस्तो खेती गरेको भए घरमा जस्ताको छाना नहुने बताउँछिन्।
खुलुले र सिम्लेमा सुन्तलाबाट एक सिजनमा एक लाख भन्दा बढी आम्दानी लिनेहरू धेरै छन्। पणेना–१ सिम्लेमा पनि ७५ प्रतिशत किसानले अरू बाली छाडेर सुन्तला लगाएका छन्। अबको ५–७ वर्षमा यो क्षेत्रमा पूरै सुन्तलाबारी हुने छाँटकाँट छ। सिम्लेमा सबभन्दा पहिले २०५१ सालमा मकै मासेर सुन्तला लगाउने मोहन पौडेल हुन्। अहिले सबैले यही गरिरहेका छन्। पौडेल समूहले गएको वर्ष ३५–४० लाखको सुन्तला बेच्यो। सुन्तला र जुनारको बिरुवा पनि बिक्री गर्ने पौडेलले गत वर्ष रु.२ लाख ५० हजारमा ७९ क्वीन्टल ३० किलो सुन्तला बेचेको बताए। यस वर्ष २० प्रतिशत उत्पादन घट्यो, एक वर्ष कम फल्ने हुनाले।
जिल्लाका सबभन्दा बढी सुन्तला खेती गर्ने पुराना किसान चाहिं पणेना–१ सिम्लेका होमनाथ पौडेल हुन्। उनी १५०० बोट सुन्तलाबाट वर्षेनि ८–९ लाख रुपैयाँ आम्दानी गर्छन्। बिरुवाको आम्दानी छुट्टै छ। ११ महीनाको हुँदा टुहुरो भएको, सात वर्ष भारतीय सेनामा काम गरेर २०२७ सालदेखि किसानी थालेका पौडेलको सुन्तला खेतीमा प्राविधिक क्षमता देख्दा कृषि केन्द्रका हाकीमहरू समेत छक्क पर्छन्। सुन्तला किसानको गुरु भूमिकामा उनी नै छन्।
सुन्तलालाई सुरक्षित भण्डारण गर्न सके माघपछि आउने भारतीय सुन्तलालाई प्रतिस्थापन गर्न सकिने पौडेलले बताए। सरकार र निजी क्षेत्रले पौडेल जस्ता अनुभवी किसानहरूको भनाइमा ध्यान दिएर काम गरे मध्य पहाडी भेग सुन्तले भेग बन्न सक्छ।
तुलसी गौतम