४-१० माघ २०७१ | 18-24 January 2014

बिक्री मूल्यमा छल

Share:
  
बोरामा भर्नुअघि अलैंचीका दाना सफा गर्दै महिला मजदूर।

झापाको बिर्तामोडमा पुस तेस्रो साता एक मन अलैंची रु.१ लाख १० हजारमा किनबेच भयो। यो अहिलेसम्मकै उच्च मूल्य हो। गत साल रु.८० हजारदेखि रु.९५ हजार प्रति मनको भाउ पाएका किसानले यसपालि गाउँमै रु.१ लाख ५ हजारसम्म समाए। पश्चिम एशियामा माग बढेर मूल्य आकाशिए पनि अलैंची किनबेचको दर र निकासी गर्दा भन्सारमा लेखाइएको मूल्यमा भने उत्पात अन्तर छ।

आर्थिक वर्ष २०७१/७२ को अघिल्लो साढे पाँच महीनामा विराटनगर भन्सारबाट निकासी भएको कुल १२ लाख ५१ हजार ६०५ किलो अलैंचीको कुल खरीद मूल्य रु.१ अर्ब २७ करोड १६ लाख ५० हजार देखाइएको छ। यसले प्रति मन सरदर रु.४० हजार ६४० मात्र परेको देखाउँछ। यो रकम कारोबार भएको वास्तविक मूल्यको एकतिहाइ मात्र हो। भारत सरकारले कृषिजन्य वस्तुको आयातमा लगाएको करको कारण न्यून बिजकीकरण भएको नेपाली व्यापारीहरू बताउँछन्।

क्रेताको मुख हेरेर बिल

भारतले कृषि उपज अलैंची आयातमा तीन प्रतिशत कर असुल्छ। त्यसलाई छल्ने सजिलो उपाय बिक्री मूल्य कम देखाउनु हो। वार्षिक सरदर ५०० मन अलैंची व्यापार गर्ने झापा बिर्तामोडको ओमसाई धनलक्ष्मी ट्रेडर्सका संचालक ओमकृष्ण विमली भारतीय व्यापारीहरूको अनुरोधमा बिक्री मूल्य थोर देखाउने गरिएको हाकाहाकी बताउँछन्। वार्षिक सरदर साढे सात टन अलैंची निर्यात गर्ने बिर्तामोडका अर्का व्यापारी निर्मल भट्टराई भन्छन्, “भारतीय क्रेताको मुख हेरेर बिलमा बिक्री मूल्य न्यून लेख्नु सामान्य भएको छ।”

स्रोतः विराटनगर भन्सार कार्यालय

नेपालबाट वार्षिक रु.१० अर्बभन्दा बढीको अलैंची भारत गइरहे पनि व्यापारीहरूले बिलमा कम रकम देखाउँदा कारोबार रकम करीब एकतिहाइ मात्र देखिन्छ। अलैंची व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र घिमिरे अहिलेसम्म कारोबार यसरी नै चलिरहेको बताउँछन्। बिक्री मूल्य कम देखाइएपछि मुनाफा कम देखिन्छ। कम मुनाफामा आयकर पनि कम हुन्छ। नेपालले कृषि उपज निकासीमा भन्सार महसुल नलिए पनि परिणाम अनुसारको सेवा शुल्क र मुनाफा अनुसारको आयकर तिर्नुपर्छ।

बिलमा वास्तविक मूल्य उल्लेख नहुँदा राजस्व छली हुने आन्तरिक राजस्व कार्यालय मोरङका प्रमुख गोपाल कोइराला बताउँछन्। भन्सारमै मूल्य थोर देखाइएपछि आन्तरिक राजस्वले प्रश्न गर्ने ठाउँ नरहने कोइराला बताउँछन्। भन्सारमा सदर भएको बिक्री मूल्यका आधारमा व्यापारीहरूले कर कार्यालयमा १५ प्रतिशत आयकर बुझाउँछन्। नेपाली अलैंचीको एक मात्र निर्यात नाका विराटनगर भन्सार कार्यालयका अधिकृत अर्जुन न्यौपाने व्यापारीले जारी गरेको बिलको आधारमा नै भन्सारले अलैंचीको मूल्य उल्लेख गर्ने बताउँछन्। झापाको आन्तरिक राजस्व कार्यालय प्रमुख षडानन्द गुरुङले अलैंची निर्यात मार्फत आयकर छली भइरहेको सबैलाई थाहा भए पनि निकासी प्रवर्द्धनलाई ध्यानमा राखेर सबैले आँखा चिम्लिएको बताउँछन्।

गोपाल गड्तौला, झापा


पहाडमा फल्ने सुन

समुद्र सतहबाट ७०० देखि २१०० मिटरसम्मको उँचाइमा फल्ने अलैंची नेपाली मध्यपहाडको सबभन्दा महँगो कृषि उपज हो। पूर्वी पहाडको ताप्लेजुङ, पाँचथर, संखुवासभा, इलाम, तेह्रथुम, भोजपुर, खोटाङ लगायतका जिल्लामा प्रतिहेक्टर औसत ५१७ किलो अलैंची उत्पादन हुन्छ। यी क्षेत्रमा रामसाई, गोलसाई, डम्बरसाई र जिर्मले जातका अलैंची लगाइन्छ। केही दशकअघिसम्म पूर्वी पहाडमा केन्द्रित अलैंची खेती अहिले रोल्पा, रुकुम, डोटी, बैतडी लगायतका ३० भन्दा बढी जिल्लाको १४ हजार ४७३ हेक्टरमा फैलिएको छ।

अलैंची खेती नेपालबाहेक भारतको सिक्किम र भूटानमा मात्र हुन्छ। अलैंचीको विश्व बजारमा नेपालको करीब ६० प्रतिशत हिस्सा छ। नेपाली उत्पादनको ९८ प्रतिशत निर्यात हुन्छ।

comments powered by Disqus

रमझम