४-१० माघ २०७१ | 18-24 January 2014

घरमा सीसीटीभी

Share:
  
चोरीको खतराबाट बच्न घरमा सीसीटीभी जडान गर्नेको संख्या बढ्दो छ।

मोबाइलमा सीसीटीभी सिस्टम राखी इन्टरनेटको सुविधा मार्फत घरका गतिविधि प्रत्यक्ष हेर्न सकिन्छ।
कुनै समय थियो, छिमेकीको भरमा घर छाडेर हप्तौंपछि फर्कंदा पनि घर जस्ताको तस्तै हुन्थ्यो। घरमा चोर, डाँका लाग्ने कुरा अन्यत्रको समस्या ठानिन्थ्यो। अझै पनि हाम्रा गाउँघरमा यस्तो स्थिति देखिए आश्चर्य मान्नुपर्दैन। तर, शहरमा भने यस्तो स्थितिको कल्पना समेत गर्न सकिंदैन।

समाजमा संयुक्त परिवारको संख्या घट्नु पनि घरमा चोरी हुनुको अर्को कारण मानिन्छ। परिवार ठूलो हुँदा कोही न कोही घरैमा हुने र यसले चोरीको सम्भावना धेरै हदसम्म कम गर्दथ्यो। तर, अहिले एकल परिवार बढ्दो छ। परिवारमा पुरुष मात्रको आम्दानीले घरखर्च नधानिने अवस्था आएको छ। श्रीमान्–श्रीमती दुवै कामका लागि बाहिर निस्कने, छोरा–छोरी स्कूल, कलेज जाने र काम गर्ने मान्छेको पनि भर पर्न गाह्रो पर्ने स्थितिमा घर असुरक्षित बन्दै गएको छ। यस्तो बेला घरको सुरक्षा कसरी गर्ने? चुनौती थपिंदै छ।

ब्याङ्क अनि ठूल्ठूला डिपार्टमेन्टल स्टोरले सुरक्षाका लागि सीसीटीभी जडान गरेको हामीले देख्दै आएका हौं। सीसीटीभी जडान गरिएकै कारण चोरी रोकिएको र चोर समातिएका थुप्रै घटना छन्।

पछिल्लो समय घरको सुरक्षामा समेत सीसीटीभी प्रयोग हुन थालेको छ। ललितपुर, सानेपाका कृष्ण न्यौपानेले घरमा सीसीटीभी जोडेको चार वर्ष भयो। पाँच महीनाअघि मात्र उनले सीसीटीभीको सिस्टम स्मार्टफोनमा जोडेका छन्। त्यसयता उनी आफू इन्टरनेटको पहुँच हुने जहाँ भए पनि घरका सबै गतिविधिको 'लाइभ' जानकारी पाइरहेका छन्। उनी सीसीटीभी जडानले आफूलाई ठूलो तनावबाट मुक्ति दिलाएको बताउँछन्।

सीसीटीभी जडानका अनेक फाइदा छन्। यसले चोरी भइरहेकै अवस्थामा चोर समातिने, चोरी भइहालेमा पनि कसले के के चोर्‍यो भन्ने पत्ता लगाउने मात्र होइन, घरमा भएका हरेक गतिविधि थाहा पाइन्छ। चोरीमा सीसीटीभी फुटेज सबैभन्दा बलियो प्रमाण हो।

सीसीटीभी जडान गर्दै आएको युनिभर्सल टेक्नोलोजी नेपालका सञ्चालक मोहन ढुंगाना गएको पाँच वर्ष यता घरमा सीसीटीभी जडान गर्नेको संख्या वृद्धि हुँदै आएको बताउँछन्। उनी इन्टरनेटका कारण सीसीटीभी जडानको फाइदा अझ्ा बढेको तर्क गर्छन्। इन्टरनेट सुविधा भएका जुनसुकै ठाउँमा बसेर सीसीटीभी जडित घरका क्रियाकलाप हेर्न सकिने भएकाले अब पहिले जस्तो चिन्ता लिनु नपर्ने उनको भनाइ छ। उनी भन्छन्, “घरमा सीसीटीभी जडान गर्नु चोरीबाट जोगिने आधुनिक उपाय हो।”

सीसीटीभी जडानका लागि रु.३० हजारदेखि रु.५० हजारसम्म खर्च लाग्ने व्यवसायी बताउँछन्।

महानगरीय प्रहरी परिसर काठमाडौमा परेका चोरीका उजुरीको प्रकृति हेर्दा पनि घरमा सीसीटीभी जडान गर्नु आवश्यक रहेको देखाउँछ।

प्रस्तुतिः मीना शर्मा

comments powered by Disqus

रमझम