धेरै समयपछि आज मलाई आफ्नो घरको याद आयो र सीधै लागें घाटतिर।
कुमार नगरकोटी आफ्नो पुस्तक 'अक्षरगन्ज' को पछिल्लो गातामा लेख्छन् र सही धस्काउँछन्। यो उनको 'सिग्नेचर ट्युन' हो।
उनी घर जान घाट गए। घर सम्झेर घाट जानु उनका लागि जीवन र मृत्युबोध दुवै हुन सक्छ, सत्यबोध हुन सक्छ। घाटतिर लहसिने नगरकोटी 'डेथ इज अ वेष्ट अफ टाइम' भन्छन्। उनको यो प्रवृत्ति पछिल्लो कृति अक्षरगन्ज मा सघन रुपमा दोहोरिएको छ। त्यसो त, कतिपयलाई नगरकोटी स्वयम् समयको बर्बादी हो– शब्दको बर्बादी, कागजको बर्बादी। तर, नगरकोटीको पाठक समूह ठूलो छ। उनी यस्तै यस्तै लेखेर चर्चामा छन्। नगरकोटीलाई नपढी बस्न सकिन्छ, बेवास्ता गर्न सकिन्न।
अक्षरगन्ज नगरकोटी निर्मित यस्तो नगरी हो, जहाँ अक्षरका किसानहरू अर्थात् लेखक–साहित्यकार बस्छन्। नगरका एक मात्र जीवित पात्र नगरकोटी हुन्। सन् १९३१ मा बितेका लेबनानी साहित्यकार खलिल जिब्रान नगरकोटीलाई अक्षरगन्जको यात्रा गराउँछन्। नगरमा भ्यानगग, लियो तोल्सतोयदेखि लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौड्याल, शंकर लामिछाने, भूपी र पारिजातसम्मको बसोबास छ। उनीहरू नगरकोटीबाट पातालको हालचाल बुझ्छन्। गोविन्द भट्ट आफू मर्दा खगेन्द्र संग्रौला कति दुःखी भए भनेर सोध्छन्। जंगबहादुर चाहिं टेलिभिजनको भाँडोमा पुष्पकमल दाहालका हाउभाउ हेर्न नगरकोटीसँगै धर्तीमा ओर्लन्छन्।
नगरकोटी 'म्युजियम अफ कन्टेम्पोररी नेपाली अथर्स' भ्रमण गर्छन् र मरिसकेका पितालाई पत्र लेख्छन्– 'त्यो रत्नबहादुर आज मसित छैन भनी सम्झिल्याउँदा अविश्वास जस्तो लाग्छ। तर, म यथार्थमा तिम्रै एक अंश हुँ। तिम्रो रक्त, मांस र वीर्यबाट निर्मित यो नगरकोटी क्रमशः बूढो हुँदैछ।' 'जिन्दगीः एक मिस्टिक जर्नी' मा एक जना जोमसोमवासी भन्छन्, “रातो राम्रो गुलियो मीठो, कम्युनिष्ट छँदाखेरी।” एक प्रसंगमा नगरकोटी आफैं भन्छन्, “हरेक पिता झुसिलकीरा हो र उसको पुत्र पुतली।”
स्वयम् सुशोभित 'फिक्सन डिजाइनर' नगरकोटीलाई रुपचन्द्र बिष्टको 'थाहा' थाहा छ। उनले धेरै लेखक पढेका छन्, धेरै संगीत सुनेका छन्, धेरै चलचित्र हेरेका छन्, धेरै गल्ली हिंडेका छन् र धेरै कुवाको पानी चाखेका छन्। मदिरा, मृत्यु र खुकुरी चुरोटमा उनको बेहिसाब प्रेम छ।
आफूलाई सोम्नाम्बुलिष्ट (निन्द्रामा हिंड्ने), फकिर, हरफन मौला आदि ठान्ने नगरकोटी लेखनमा अराजक लाग्छन्, तर छाडा हैन। उनी लेखकीय अनुशासनभित्र मनलागी लेख्छन्। खलिल जिब्रानको कवितात्मक निबन्ध शैली पछ्याएका उनी 'क्लोज अप' मा लेख्छन्– 'कहिलेकाहीं लाग्छ, जीवनको खित्कालाई सेलफोनको रिङटोन बनाऊँ। मृत्युलाई यसैगरी आदिवासी संगीत सुनाइरहुँ...।'
विभिन्न पत्रिकामा छापिएका निबन्धहरूको यो संग्रह पहिल्यै पढिसकेका पाठकलाई पनि नयाँ झै लाग्छ। यस्तो लेखकीय क्षमता पस्कन सक्नु लेखक र पुस्तक दुवैको सफलता मान्न सकिन्छ।
रविन गिरी