४-१० माघ २०७१ | 18-24 January 2014

'ठट्टा' देखाउँदै ठिटा

Share:
  

मिलन श्रेष्ठ, आकाश सेढाई र आशिष प्रसाई (बायाँबाट क्रमशः)
तपाईंले पनि विदेशी च्यानल र युट्युबमा प्य्रांक (अरुलाई अनेक कुरा गर्दै झुक्याएर रमाइलो गरिने खेल) हेरेर मज्जा लिनुभएको होला। यस्तो खेल नेपालीमै भए अझ रमाइलो हुन्थ्यो भन्ने पनि लागेको हुन सक्छ।

नेपाली प्य्रांक्टर्स समूहले एक वर्षदेखि नेपालीको यो रमाइलो चाहना पूरा गर्ने प्रयास गर्दै आएको छ। युट्युबमा 'नेपाली प्य्रांक्टर्स' नामक च्यानलमा यस्ता २४ वटा प्य्रांक भिडियो छन्। यी च्यानल नियमित हेर्ने करीब सात हजार दर्शक छन्।

'नेपाली प्य्रांक्टर्स' आकाशको अवधारणा हो। सफ्वेरिका कलेज अफ आईटी एण्ड ई–कमर्समा स्नातक दोस्रो वर्षमा अध्ययनरत् उनमा सानैदेखि प्य्रांकिङ हेर्ने लत लाग्यो। “शुरुमा त मैले पनि नेपाली प्य्रांकिङ छ कि भनेर धेरै खोजें तर पाइनँ”, उनी भन्छन्, “नयाँ काम गर्दा फेमस भइन्छ भन्ने लोभले झुक्याउन थालेको हुँ।” शुरुमा दुई वटा प्य्रांकिङ त उनी एक्लैले गरे। त्यसपछि मिलन आइपुगे। आकाश र मिलन मिलेर आइफोनले भिडियो खिच्न थाले। टीममा आशिष थपिएपछि क्यामेरा र माइक दुवै आयो। “क्यामेराले भिडियो राम्रो हुनथाल्यो। अनि दर्शक ह्वात्तै बढे”, उनी भन्छन्। कफी प्य्रांक, ललिपप प्य्रांक, टचिङ पिपल इन पब्लिक प्य्रांक युट्युबमा रुचाइएका प्य्रांक हुन्।

“कसैलाई क्षणिक रूपमा झुक्याएर वा छक्याएर धेरैलाई रमाइलो प्रदान गर्नु प्य्रांकिङ हो” भन्ने परिभाषा दिएर 'नेपाली प्य्रांक्टर्स' कम्पनी रजिष्ट्रारको कार्यालय, काठमाडौंमा दर्ता समेत गराइएको छ।

हूलमूल प्य्रांकका लागि उपयुक्त स्थल हो भने चुनौती चाहिं मान्छेलाई आफूतिर ध्यानाकर्षण गर्नु हो। “एक्सक्युज मी भन्दाभन्दै पनि रोकिंदैनन्, चिने–चिने जस्तो लाग्यो भनेर कुरा शुरु गर्नुपर्छ। मार्केटिङ गर्ने केटाहरू भन्ठान्छन्” मिलन भन्छन्।

प्य्रांकबारे नेपालीलाई पर्याप्त जानकारी नभएकाले अप्ठेरो परिरहेको आकाशको तर्क छ। “नेपालीहरू अरू झुक्किएको देखेर मरी–मरी हाँस्छन् तर आफू झुक्किएको अरूले नदेखोस् भन्ने चाहन्छन्”, उनी भन्छन्।

त्यसो त रीसको झोंकमा सीधै जाइलाग्नेहरू पनि छन्। “पक्राउ पनि पर्‍यौं, तीन–चारपटक त कुटाइ नै खाइसक्यौं”, आकाशको अनुभव छ। (हे. बक्स)
मिलनका अनुसार भिडियो खिचेकामध्ये ५० प्रतिशत मात्रै आफू झुक्किएको सार्वजनिक गर्न तयार हुन्छन्। महिलालाई झुक्याउन गाह्रो हुने बताउँदै उनी “प्य्रांकिङ हो भन्ने थाहा पाएपछि युट्युबमा नराख्दिनु बेइज्जत हुन्छ” भनेको सुनाउँछन्।

औपचारिक रूपमै झुक्याउने खेलमा लागेका आकाश, आशिष र मिलनले यसैमा करिअर देखेका छन्। तर, घरमा सधैं उनीहरूको कामलाई लिएर विवाद भइरहन्छ। “घरमा के उट्पट्याङ गर्दै हिंडेको भनेर कराउँछन्”, आकाश भन्छन्।

प्य्रांकिङकै कारण उनीहरूले युट्युब मार्फत गएको वर्ष रु.८० हजार कमाए। कमाइ पकेट खर्च र समाजसेवामा लगाएको आशिष बताउँछन्। “दशैंमा रत्नपार्कका माग्नेलाई टी–सर्ट बाँड्यौं”, 'नेपाली प्य्रांक्टर्स' नाममा छापिएको टी–सर्ट देखाउँदै उनले भने। झापाको रेड मग क्याफेसँग मिलेर विश्व खाद्य दिवसको दिन १८ जना वृद्धवृद्धालाई खाना ख्वाएको पनि उनले बताए।

ठट्टा मार्फत चर्चा कमाउन थाले पनि समूहले सामाजिक भिडियो मार्फत चेतना फैलाउने योजना बनाएको छ। “शुरुमै गम्भीर कुरा देखायो भने कसैले वास्ता गर्दैनन्”, आकाश भन्छन्, “युट्युबमा नियमित च्यानल हेर्ने १५–२० हजार दर्शक भएपछि चाहिं गम्भीर काममा लाग्छौं।”

सजना बराल


'एकरात खोरमा'

सातदोबाटोको कसमस कलेजछेउ कक् प्य्रांक खिच्दैथियौं। दोहोरो अर्थ लाग्ने भएका कारण जोखिम पनि थियो। हाम्रै उमेरको एक जना केटालाई “कक् हेर्ने हो?” भनेको त सीधै झम्टियो। मलाई लात्तैलात्ताले हान्यो। “प्य्रांक गरेका हौं” भनेर सम्झाउँदा पनि कुट्न छाडेन। तीन जना मिलेर बल्लतल्ल उसलाई फकायौं। ऊ त्यही टोलको केटो रहेछ। अचेल हामीसँग राम्रै दोस्ती छ, उसको।

झापामा 'सेलिङ ड्रग्स' भन्ने प्य्रांक गरेको बेला हो। बाटोमा भेटिएकाहरूलाई “ड्रग्स किन्ने हो?” भन्दै नक्कली पाउडर देखाएर जिस्काइरहेका थियौं। एउटा ठूलै मान्छेलाई पनि सोधिएछ। तुरुन्त प्रहरी बोलायो। प्रहरीले हाम्रो कुरै सुनेन। एकरात हिरासतमा थुन्यो। दशैंको बेला, 'ठूलै मामाघर आइएछ' भन्दै रात काट्यौं। भोलिपल्ट छुट्यौं।

आकाश

comments powered by Disqus

रमझम