४-१० माघ २०७१ | 18-24 January 2014

वागमती किनारमा 'वाक वे'

Share:
  
- तुफान न्यौपाने
टेकूदेखि थापाथलीसम्मको वागमती किनारमा निर्माणाधीन 'वाक वे' मनोरञ्जन र शारीरिक व्यायामका लागि काठमाडौं र पाटनको केन्द्र बन्न सक्छ।

निर्माणाधीन टेकू–थापाथली 'वाक वे'।
जीर्ण मठमन्दिर, दुर्गन्धित वागमती नदी, किनाराका अव्यवस्थित बस्ती र घाट। तपाईंले देख्दै आउनुभएको टेकूदोभान–थापाथली नदी किनारा आउँदो असारमा पहिले जस्तो हुने छैन।

साढे दुई किलोमीटरको यो खण्डलाई सरकारले 'सम्पदा मार्ग' नाम दिएको छ। यस क्षेत्रमा हुतराम वैद्य स्मृति पर्यावरण पार्क बनाउने योजना पनि छ।

अहिले काठमाडौं महानगरपालिका र पुरातत्व विभागका अधिकारी अस्तव्यस्त नदी किनारालाई सफा बनाउन खटिरहेका छन्। सवारी निषेधित सात फीट चौडाइको पदमार्ग (वाक वे) का रूपमा विकास गरिने यस क्षेत्रमा ढुंगा छाप्ने काम भइरहेको छ। काम सकिंदासम्म पैदल, साइकल र ह्वीलचियर गुडाउन मिल्ने बाटो मात्रै होइन, चौतारी, व्यायाम स्थल, फूटबल मैदान पनि बन्नेछन्। घाट व्यवस्थित हुनेछन्। अहिले भएका ग्याँस डिपो, कार्पेटको शोरूम, मोटरसाइकल वर्कशप जस्ता पसल पनि अन्यत्र सारिने भएको छ।

महानगरपालिका सम्पदा महाशाखाकी अधिकृत सृजु प्रधान साढे दुई किलोमीटरमध्ये एक किलोमीटरभित्र काम भइरहेको बताउँछिन्। “पुराना मन्दिर, सत्तल र आश्रमलाई संरक्षण गर्दै वातावरणमैत्री संरचना निर्माण गर्ने योजना छ,” प्रधान भन्छिन्, “काम सकिएपछि यो ठाउँ पाटन र काठमाडौं दुवैको केन्द्र बन्नेछ।” यसका लागि शहरी विकास मन्त्रालयले बनाउन लागेको यूएन पार्कसँग अवधारणालाई सहयोग पुग्ने गरी संरचना निर्माण गरिरहेको उनको भनाइ छ। सम्पदा पथ निर्माणमा महानगरपालिकाले गत वर्ष रू.४० लाख र चालु आर्थिक वर्षमा रू.२ करोड बजेट विनियोजन गरेको छ।

टेकू पचलीघाटः हिजो, आज र भोलि

टेकू थापाथली रिसर्च ग्रुप

आलोक तुलाधर

कम्प्युटर मोन्टाज सुरेश श्रेष्ठ

यस क्षेत्रलाई सम्पदा पथ नामकरण गरिनुमा १९औं शताब्दीमा बनेका मठमन्दिर, देवल, सत्तल, आश्रम सुरक्षित रहनु हो। यहाँ रहेको त्रिपुरेश्वरी मन्दिर परिसरमा परम्परागत बाजागाजाको संग्रहालय छ। सन् १८६८ मा तत्कालीन राणा प्रधानमन्त्री जंगबहादुर राणाले दुई पत्नी हेम र हिरण्यको नाममा बनाउन लगाएको मुगल शैलीको हेमहिरण्यजंग नारायण मन्दिर पनि यहीं छ। जंगबहादुरले कोतपर्वको प्रायश्चित गर्न यो मन्दिर बनाएको र कोतपर्वमा चलाएका हतियार मन्दिरमै गाडिएको बताउनेहरु पनि छन्। यही क्षेत्रमा जंगबहादुरले बनाएका तीन वटा आश्रम पनि छन्। दाजु जंगबहादुर यूरोप भ्रमणमा जाँदा राजकाज सम्हालेका बमबहादुरले बनाएको शिव मन्दिर, पचली भैरवको मन्दिर पनि टेकु र थापाथलीबीचमै छ।

पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत सुरेश सुरश श्रेष्ठ यस क्षेत्रमा मल्लकाल यताका थुप्रै सम्पदा भए पनि अध्ययन हुन नसकेको स्वीकार्छन्।

“महानगरपालिका र गुठी संस्थानसँग मिलेर संरक्षण गर्ने योजना छ”, उनी भन्छन्, “शंखमूलतिरका सम्पदालाई समेत वर्गीकरण गर्दछौं।”

टेकू थापाथली अनुसन्धान समूहको अध्ययनमा यस क्षेत्रमा रहेको मल्लकालीन मठमन्दिरको संरक्षणमा ढिलाइ भइसकेको औंल्याएको छ। यहाँका केही नेवारी शैलीका मन्दिरमा उत्तर भारतीय शिखर शैलीको प्रभाव पनि देखिन्छ। मल्लकालीन शैलीमा खप्टिएका छाना र चारैतिरबाट घेरिएका सत्तल रहेका लक्ष्मीश्वर र त्रिपुरेश्वर मन्दिर ९० सालको महाभूकम्पले केही क्षति पुर्‍याएको भए पनि पुरानै शैलीमा फर्काइएको छ (हे. बक्स)। भूकम्पले ध्वस्त यही शैलीको पूर्णेश्वर मन्दिर पनि मुगल शैलीमा पुनर्निर्माण गरिएको छ।

सम्पदा संरक्षण र वातावरणमैत्री 'वाक वे' निर्माणका लागि महानगरपालिकाले 'टेकुदोभान–कालमोचनघाट संरक्षण तथा प्रवर्द्धन समिति' पनि गठन गरेको छ। स्थानीय युवाले फेसबुकमा 'वागमती ह्याङआउट' पेज बनाई संरक्षणका सन्देश प्रवाह गर्दै आएका छन्।

comments powered by Disqus

रमझम