४-१० माघ २०७१ | 18-24 January 2014

उज्यालो छर्दै 'नाइट ब्याण्ड'

Share:
  

तुइनको छ है भर, नदी तर्नलाई छ है कर

जाम जाम कान्छी, जाम जाम

नयाँ नेपाल दुःख पुरानै, ... सुख बिरानै...

नाइट ब्याण्ड, नाम रात भए पनि यसले पस्कने गीतहरूले समाजमा उज्यालो छरिरहेका छन्। ८ वर्षअघि स्थापना भएको यो समूह नयाँ बाटो पहिल्याउँदै बढिरहेको छ। हालै 'अनि उकाली सँगै ओराली' नामको १० वटा गीत संग्रहित अल्बम सार्वजनिक गरेको 'नाइट' का गीतहरूमा रहेका शब्द, संगीत र स्वरले जोकसैको ध्यान खिच्छ। सशांक श्रेष्ठ, विभुषण बस्नेतले बनाएका तुइन, कठोर, सुनको जुत्ता... जस्ता गीतको भीडियो हेर्दा र सुन्दा थाहा हुन्छ, यो समूह संगीतको माध्यमबाट समाज परिवर्तनको बाटोमा छ।

मलेशियाबाट चार्टर्ड एकाउण्टेन पढेर फर्केका जेसन कुँवर (३०) यो समूहका मुख्य गायक, वाद्यवादक तथा गीतकार हुन्। उनी सारङ्गी, बाँसुरी, नेवारी बाजा न्याखी र मल्लकालीन बाजा विवाञ्चा बजाउँछन्। नर्भिक अस्पतालका बहिरंग सेवा प्रबन्धक निरज शाक्य (३०) ब्याण्डमा टुंगना, मुर्चुङ्गा र आरबाजा बजाउँछन्। जेसन र निरज नाइट ब्याण्ड स्थापना अघि 'मेटल ब्याण्ड' मा थिए। नयाँ समूह स्थापना गरेपछि साथीहरू थपे। नयाँ साथीहरूमा विराट बस्नेत (२३) नगरा, धिमे र न्याखी बजाउँछन्। सुधीर आचार्य (१७) धिमे, नगरा र मुर्चुङ्गा बजाउँछन्। सुम्निमा (मीना) सिंह (२३) गायनसँगै थारु बाजा प्लिरु बजाउँछिन्। पारसमणि सुवेदी (२१) मादल, मुर्चुङ्गा र धिमे बाजा बजाउँछन् भने पालुवा पात बजाउने शिवकुमार भट्टराई (४४) ले पनि ब्याण्डलाई साथ दिइरहेका छन्। शुरुआती सदस्य विभूषण बस्नेत अहिले बाहिरबाटै म्युजिक भिडियो र अरु सहयोग गरिरहेका छन्।

काठमाडौं विश्वविद्यालयबाट इथ्नो म्युजिकोलोजीमा स्नातकोत्तर गरेका जेसन मौलिक संगीत अध्ययनका क्रममा मुलुकका ५५ जिल्ला पुगिसकेका छन्। उनी संगीतमा केही नयाँ र मौलिक कुरा दिन खोजिरहेको बताउँछन्। संगीतमा लागेका अहिलेका पुस्तालाई मौलिक बाजाबारे थाहा नभएकाले बाजा संरक्षण र प्रवर्द्धनमा लागेको उनको भनाइ छ।

पाटन मन्दिरको टुँडालमा रहेको आकृति हेरेर मल्लकालीन विवाञ्चा बाजा बनाएको यो समूहले दाङको थारु गाउँ गएर प्लिरु र चटकौल बाजा ल्याएका छन्। भक्तपुरको नेवारी बाजा न्याखी बनाएर बजाउन थाले। तराईको जोर मुरलीदेखि हिमालको प्राम्हिम जस्ता बाजाको खोजी गरे। बाँसबाट आफैंले 'जाइलो फोन' बाजा बनाएर प्रयोग गरिरहेका छन्। पूर्वको लिम्बू गाउँको हाक्पारेदेखि पश्चिमको थारु बाजा चटकौलको धुन एकै थलोमा पस्किन पाउँदा उनीहरूलाई सन्तुष्टि हुन्छ। निरज भन्छन्, “शुरुमा मेटल ब्याण्डमा हुँदा विदेशी बाजा धेरै बजाइयो तर आफ्नै मौलिक बाजा बजाउँदाको मज्जै बेग्लै हुनेरहेछ।”
नयाँ बाजाको खोजीसँगै नेवारी बाजा महाली, पालुवा पात र सहनाई बनाउने र बजाउने तरिका सिकाउने उद्देश्यले उनीहरूले वृत्तचित्र समेत बनाएका छन् र ती वृत्तचित्र कन्सर्टमा देखाउने पनि गरेका छन्।

सांगीतिक कार्यक्रमबाट खासै कमाई नभए पनि ब्याण्ड टिकिरहनुको कारण सबै सदस्यको लगाव र जेसनको लगानी हो। उनी चलचित्रमा ब्याक ग्राउण्ड म्युजिक स्कोररको काम पनि गर्छन्। बधशाला, झोला, छड्के, मुखौटा, सुन्तली, टलकजंग भर्सेस टुल्के जस्ता फिल्ममा ब्याक ग्राउण्ड संगीत भरेका उनी भन्छन्, “आफूले कमाएको बेला ब्याण्डका साथीहरूको साह्रो गाह्रो टार्ने गरेको छु।” केहीसमय यता भने नाइट ब्याण्डका गीत युट्युब मार्फत रुचाइन थालेको छ। विदेशमा रहेका नेपाली दर्शकले गीत मन पराएर पाँचदेखि ५० अमेरिकी डलरसम्म पठाउन थालेका छन्। गीतले चर्चा पाउन थालेपछि नेपाली टेलिभिजन च्यानलले भिडियो माग्न थालेको जेसन बताउँछन्।

आर्थिक अभाव र साउण्डको गुणस्तरमा सम्झौता नगरेकै कारण ब्याण्डको पहिलो अल्बम निस्कन तीन वर्ष लाग्यो। युट्युब मार्फत गीत सुनेर बेलायतको सर्फ सोनिक रुड्स कम्पनीले पहिलो अल्बम 'अनि उकाली सँगै ओराली' को मिक्सिङ र मास्टरिङ सित्तैंमा गरिदियो साथै अल्बमको अन्तर्राष्ट्रिय वितरणको जिम्मा समेत लियो। जेसन भन्छन्, “अल्बमको प्रतिक्रिया राम्रो छ। बेलायत, अमेरिकाबाट माग आएको छ।”

नयाँ अल्बमपछि ऐतिहासिक मल्लकालीन बाजा विवाञ्चा र थारु बाजा प्लिरु प्रयोग गरिएको नयाँ गीत पनि तयार भइसकेको छ। गीतले भन्छ :

कालो ढुंगा सिरानी तिम्रो

तुषारो तिम्रो कमिज...

अनुशील श्रेष्ठ

comments powered by Disqus

रमझम