किशोरवयदेखि नै फाट्टफुट्ट पेन्टिङ गर्ने श्रेष्ठको सोखले अब नयाँ रुप भेट्यो, उनी प्रकृति कलाप्रति आकर्षित भए। तर, काठमाडौंका रैथाने उनका लागि रुखका जरा र हाँगा खोज्नु र तिनबाट कलाको सिर्जना गर्नु सजिलो थिएन। विराटनगरमा खेती भएका उनी बरोबर त्यहाँ गइरहँदा कामदारले दाउराका लागि ल्याएका जरा र हाँगामा कला भर्न थाले। दाउरा भित्र लुकेको कलात्मक रहस्यलाई खोतल्न थाले।
अहिले उनी काठमाडौंका नदी किनारा र वरपरका जंगलबाट रुखका जरा र हाँगा खोजिरहेका भेटिन्छन्। नक्सालस्थित उनको घर पुग्ने हो भने यिनैबाट सिर्जना गरिएका अनेक रुपका कला देखिन्छ। उनका कलामा महाभारतको युद्ध, राजनीतिले बिगारेको मुलुक, सन्तान प्रेम, मानवता, भ्रातृत्व जस्ता विभिन्न रुप पाइन्छ।
“मलाई लाग्छ, ५० प्रतिशत कला प्रकृतिमै हुन्छ, मैले त शिल्प मार्फत कलाकृतिको रुप दिने मात्र हो”, श्रेष्ठ भन्छन्। साहित्यिक पत्रकार संघको अध्यक्ष भइसकेका उनी आफ्नो फरक खाले कला सिर्जनामा सन्तुष्ट छन्। भन्छन्, “जरा, हाँगाबाट बन्ने मूर्ति भन्ने बित्तिकै सबैले मेरै नाम सम्झिहाल्छन्, त्यसो हुँदा खुशी लाग्छ।”
ऋषिराम कट्टेल