११-१७ माघ २०७१ | 25-31 January 2015

अनुकरणीय वनकरपथ!

Share:
  
- महेश थापा
बानेश्वरमा बबाल वनेलु र श्लेष्मान्तकमा सभ्य घरेलुहरूको सभा बसे जस्तो पो भयो बा!

बिलाश राई
मिर्मिरे नहुँदै श्लेष्मान्तक वनमा प्रातःकालीन एकान्त खल्बलिएर चराहरू ब्युँझिए। बाँदर प्रतिनिधिहरू बंकर सभामा सहभागी हुन त्यति सखारै भेला भएका रहेछन्। राता बाँदर, ढेडु, लंगुर लगायत विभिन्न प्रजातिका बाँदर आ–आफ्नो सांस्कृतिक पहिरनमा उपस्थित थिए। एउटा बाँदरले प्रश्नको बोहनी गर्‍यो, “हिजो मध्यरातको बैठक स्थगन गरी तपाईंले नाकाम गर्नुभो, सभाध्यक्षज्यू!”

सभाध्यक्ष गम्भीरतापूर्वक बोले “बाँदर परम्पराको बर्खिलाप निशाचरहरूको समयमा बैठक डाक्ने थिति बसाल्दा पहिलो बाँदरसभा विधान नबनाई भङ्ग भएको नबिर्सौं। ब्रह्ममुहूर्तमा बैठक डाक्दा तामसी प्रवृत्ति मत्थर हुने कुरा पनि उत्तिकै मननीय छ, माननीय बाँदर!”

“प्रतिनिधि चयनमा ठूलो जालसाजी भएकोले संख्याको बलमा नभई सहमतिको आधारमा विधान लेखिनुपर्छ”, विपक्षी खेमाका नाइके बाँदर कड्किए। “तपाईं बाँदर समाजको सामूहिक विवेकशीलता माथि गम्भीर प्रश्न उठाउँदै हुनुहुन्छ, माननीय!” सभाध्यक्षले ध्यानाकर्षण गराए।

एकछिन खुसुरफुसुर गरे'सि बाँदरोचित् व्यवहार प्रदर्शन गर्दै विपक्षी नाइकेले मतदाताहरूको अनादर हुने बोली फिर्ता लिए। विधानका अन्य विषयहरू गोलमटोल मिलिसकेको हुँदा बाँदरसभाका अध्यक्षले श्लेष्मान्तक वन पुनःसंरचनाको अजेण्डा प्रस्तुत गरे। मुख्य विवादित विषय भएको हुँदा बाँदरहरूको ख्याउँ–ख्याउँले सभास्थलमा एकछिन कोलाहल भयो। सबै प्रजातिका बाँदरका लागि अलग–अलग चरन क्षेत्र बनाउँदा मात्र उँभौली मार्ग खुल्ने विपक्षीको बबाल तर्क रहेछ। केही प्रजातिका लागि मात्र चरन क्षेत्र छुट्याउँदा बाँकी बाँदरहरूमा असन्तुष्टि उत्पन्न भई श्लेष्मान्तकको समग्र शान्ति झ्न् खल्बलिने केहीको मत रहेछ।

“बहुमतका कुरासँग बालै भएन, हाम्रो उर्दी मुताविक पुनःसंरचना हुनुपर्छ”, एउटा ढेडु पड्कियो।

“भूमण्डलीकरणको युगमा विश्व बाँदर समुदाय एउटा गाउँमा परिणत हुँदैछ। ज्ञान र अवसरको खोजीमा विश्वका विभिन्न रनवनमा बाँदरहरूको बसाइँसराइ घनीभूत हुँदा एउटा साझा संस्कृति निर्माण हुँदैछ”, अर्को खेमाको लंगुरले मुख खोल्यो, “श्लेष्मान्तकको अर्थतन्त्र विदेशी वन छिरेका बाँदरहरूले पठाएको 'रेमिट्यान्स' को भरमा धानिएको छ भने जातीय कित्ताकाट र एकलकाँटेपनबाट हाम्रो उन्नति कसरी होला?”

“तपाईंको प्रस्तावले त श्लेष्मान्तक पुनःसंरचनाको औचित्य माथि नै बल्ढ्याङ्गे्र प्रश्न खडा गर्छ, मान्यवर”, अर्को खेमाका ढेडुले पुच्छर बटारे, “नमिलेको विषयलाई प्रक्रियाबाट हल गरौं!”

“सहमति बेगर विधान लेखौला!”

दुवै खेमाका बाँदरहरू एकअर्कालाई चिथोर्ने/कोपर्ने भङ्गिमाका साथ आमने–सामने भए।

“तपाईंहरूले भरसक सहमतिबाट, नत्र प्रक्रियाबाट भए पनि एक वर्षभित्रै विधान ल्याउने भीष्म प्रतिज्ञा गरेको हो कि होइन?” सभाध्यक्षले गह्रुँगो स्वरमा भने, “हामी एक्काइसौं शताब्दीका बाँदरहरू समकालीन मानव झैं मतिभ्रष्ट भएका हौं? तपाईंहरूले अहिले प्रदर्शन गरेको उद्दण्ड मानव प्रवृत्तिले हाम्रो समाजलाई कहाँ पुर्‍याउनेछ भन्ने जान्न नयाँबानेश्वर जानुस्!”

सभाध्यक्षको कुराबाट गम्भीर भएका बाँदरहरूको टोली अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अवलोकन गर्न हिंड्यो। सुरक्षाकर्मी र पत्रकारहरूको हजार आँखा छल्दै उनीहरू सभाकक्षको एउटा अँध्यारो भित्तामा झुन्डिए। आधुनिक पहिरनमा ठाँटिएका मनुवाहरूले आफ्नै आसन र माइक भाँच्दै अरूको खप्परतिर हानिरहेको देख्दा हतप्रभ भएको रातो बाँदरले मुख छोप्यो। अप्ठेरोसँग तुर्लुङ्गिएको ढेडुले भन्यो, “मध्ययुगीन बाँदर समाजका लट्ठक सदस्यहरू पनि यति हुल्लडबाज त थिएनन् होला, बाबै!”

मानवघेरा नाघेर बैठक कक्षको उच्चभागतर्फ अग्रगामी छलाङ हानिरहेका एक भद्रलाई देखेर सातो उम्किएको बाँदर प्रमण्डल उल्टो पाउ श्लेष्मान्तक फर्कियो। “कुरो मनासिबै हो, सभाध्यक्षज्यू”, एउटा बाँदरले हाँफ्दै भन्यो, “तर, त्यस्ता सुकुलगुन्डा टाइपका मुस्तण्डहरूसँग तुलना गरेर तपाईंले हामी बाँदर प्रतिनिधिहरूको मानमर्दन गर्नुभो!”

“माननीयहरू, ती पनि यहाँहरू जस्तै आफ्नो समुदायका निर्वाचित प्रतिनिधि हुन्!”

“त्यस्ता लफङ्गाहरू निर्वाचित प्रतिनिधि!” झ्ट्का खाएका माननीय लंगुर हिक्क गर्दै बेहोश भए।

“लौ भन्नुस्, बाँदर समाजलाई तिनै टपरटुइयाँ मनुवाहरूले देखाएको 'अग्रगामी' भासमा जाक्ने?” सभाध्यक्षले सोधे।

“हामीलाई बाँदर समाजको निर्णय क्षमतामा पूर्ण विश्वास छ”, विपक्षी खेमाका नाइकेले भने, “वर्तमान मतादेशको सम्मान गर्दै प्राप्त उपलब्धिलाई संस्थागत गर्न निर्धारित प्रक्रियाबाट विधान रचना गरौं। आफ्ना विमति बोकेर हामी फेरि मतदातासामु जानेछौं।”

बाँदरसभाले विधान निर्माण गर्‍यो।

“कुहिरोको काग बनेका मनुवाहरूले पनि हाम्रो वनकरपथ अनुकरण गर्दै आफ्नो विधान रच्न सकून्”, सन्तोषको सास फेर्दै बाँदरसभाका अध्यक्षले कामना गरे।

comments powered by Disqus

रमझम