११-१७ माघ २०७१ | 25-31 January 2015

मिसम्याचको फन्दा

Share:
  
स्वयंकर घोषणा नीति अनुसार आफ्नो कारोबारको विवरण आफंै तयार पारेर कर तिर्ने प्रावधान आएपछि वास्तविक कारोबारको अंक लुकाएका व्यापारीहरू एकमुष्ट करको मारमा परेका छन्।

लखनपुर–१ झापाको रामजानकी हार्डवेयर संचालक महेन्द्रप्रसाद मैनाली बारम्बारको ताकेतापछि मंसीर दोस्रो साता दमकस्थित कर दाता सेवा कार्यालय पुगे। उनले आर्थिक वर्ष २०६६/६७ यताको चार आवको कारोबारमा नदेखाएको अंशको कर रु.८ लाख ६३ हजार ७३० पुगेको रेकर्डले देखायो। उनले लगातार चार आवमा वर्षेनि रु.७ लाखदेखि रु.१० लाखसम्मको कारोबार देखाएर वार्षिक रु.२ हजार हाराहारी मात्र कर बुझ्ाएका थिए। “यति कडा हिसाबमा परिएला भन्ने लागेको थिएन”, मैनालीले भने, “मलाई सामान बेचेका कम्पनीहरूको बिल हेरेर कारोबारको हिसाब निकालिएछ।”

मैनालीले यति थाहा पाउँदासम्ममा अलि कम कर तिर्ने गरी हिसाब मिलाउन सकिन्छ कि भनेर आन्तरिक राजस्व कार्यालय चन्द्रगढी धाएको समेत सुनाए। उनको हार्डवेयरको वार्षिक कारोबार सरदर रु.९० लाख हाराहारीमा छ। तर, उनले कसमस सिमेन्ट, मारुती सिमेन्ट, नारायणी रोलिङ मिल्स, शालिमार सिमेन्ट, कन्साई पेन्ट्स, बन्दना स्टिल्स, शुभश्री जगदम्बा सिमेन्ट तथा जगदम्बा सेल्स टे्रडिङ, भवानी किरण ट्रेडर्स र भ्रमण हार्डवेयर लगायतका अधिकृत बिक्रेताहरूसँग खरीद गरेको सामानको सही परिमाण करको दायरामा आएको थिएन। त्यो कुरा करदाता सेवा कार्यालयलाई थाहा भएपछि मैनालीले चार वर्षको कारोबारको मिसम्याच परिमाणको कर भुक्तानी गर्नुपरेको हो। मिसम्याच कारोबारको कर फरफारक गरेपछि उनले लखनपुर–१ पाडाजुँगीस्थित आफ्नो रामजानकी हार्डवेयरको नाम फेरेर सतासीमाता सप्लायर्स राखेका छन्। खराब नियतले नभई कारोबारको राम्रो रेकर्ड नराखेका कारण ऋण काढेर कर तिर्नुपरेको मैनालीको दाबी छ।

व्यापारीले कर कार्यालयमा बुझाएको विवरणमा उत्पादक वा अधिकृत बिक्रेताबाट खरीद गरेको वस्तुको सही परिमाण उल्लेख नगर्दा देखिने कारोबारको अन्तरलाई मिसम्याच भनिन्छ। आव २०७०/७१ को कारोबार विवरण कर कार्यालयमा बुझ्ाएर त्यसबापतको कर भुक्तान गर्ने म्याद पुस मसान्तमा सकिएको छ। अब त्यस अवधिमा कर नबुझ्ाउनेहरूको कारोबार रेकर्ड हेरी म्याचिङ्ग गरेर जरिवानासहित कर असुल्न थालिने कर कार्यालयले बताएको छ। मिसम्याच कारोबारको कर भुक्तान गर्न सरकारले गत असोजमा तीनमहिने म्याद तोकेको थियो। यो अवधिमा मेचीमा ६०३ व्यापारीले मिसम्याच कारोबारको रु.२ करोड ९७ लाख ६५ हजार १९९ कर भुक्तान गरेका छन्।

“नियतवश होइन, राम्रो रेकर्ड नराखेका कारण ऋण काढेर कर तिर्नुपर्‍यो।”

महेन्द्रप्रसाद मैनाली

सञ्चालक, सतासीमाता हार्डवेयर

तिनैमध्येका एक दमक–५ बेलडाँगीका खडग बुढाथोकीको सिक्किम होटलले आव २०६६/६७ देखि ०६९/७० सम्ममा कुल डेढ करोडको पेय तथा मदिरा खरीद गरेको विवरण दमक–१३ को स्वस्तिक ट्रेडर्स र दमक–१ को लावती ट्रेडर्सले कर भुक्तान गर्दा दमकस्थित करदाता सेवा कार्यालयमा बुझाएका थिए। सिक्किम होटलले भने हरेक आवमा १० लाख हाराहारी मात्र कारोबार भएको विवरण पेश गरी त्यसै अनुसार कर तिरेको थियो। सिक्किम होटलले पुस अन्तिम साता आयकर र मूल्य अभिवृद्धि कर समेत गरी रु.६ लाख ३४ हजार २८१ बुझ्ाएको छ।

सरकारले चालु आवको पुस मसान्तसम्ममा मिसम्याच कारोबारको कुल परिमाणको पाँच प्रतिशत (मूल्य अभिवृद्धि कर तीन प्रतिशत र आयकर दुई प्रतिशत) भुक्तानी गरेर फरफारक हुन 'अफर' दिएको थियो। यो मौकामा दमक– ११ को सन्दिप इन्टरप्राइजेजका सन्दिप अग्रवालले पनि चार आवको करीब रु.८० लाखको खरीद मिसम्याचको रु.४ लाख २३ हजार ७१ कर पुस अन्तिम साता भुक्तानी गरेका छन्।

ढाँटे फसिन्छ

करबारे पर्याप्त जानकारी नहुँदा धेरै वर्षको एकमुष्ट तिर्नुपर्दा मर्कामा परेको व्यापारीहरू बताउँछन्। मिसम्याच कारोबारको करीब साढे ६ लाख कर तिरेका सिक्किम होटलका प्रबन्धक खडग बुढाथोकी एकमुष्ट तिर्नुपर्दा जग्गा धितोमा राख्नुपरेको बताउँछन्। उनले आफूलाई 'एम्बुसमा पारेको' बताए। तर, करदाता सेवा कार्यालय दमकका अधिकृत कविता प्याकुरेल ढाँट्ने करदाता फँस्ने बताउँछिन्। “करलाई बाध्यता ठान्नुहुन्छ, त्यो नै समस्या बनेको छ”, प्याकुरेल भन्छिन्, “लेनदेनको हिसाबकिताब सही नराख्ने र करको दायरामा सकेसम्म नआउने मानसिकता देखिन्छ।”

आन्तरिक राजस्व कार्यालय झापाका प्रमुख षडानन्द गुरुङ कर नीतिमा भएका परिवर्तनबारे व्यवसायीहरूको ठूलो हिस्सा बेखबर बताउँछन्। उनका अनुसार, उद्योग वाणिज्य संघको समन्वयमा कर कार्यालयले कर शिक्षा कार्यक्रम चलाएको छ, जुन करदाताले चाहेको बेला संचालन हुन्छ। “डिजिटल युग हो, प्रत्येक कारोबार कहीं न कहीं रेकर्ड भइरहेको हुन्छ”, गुरुङ भन्छन्, “ढाँट्न खोजे फँसिन्छ।”

गोपाल गडतौला, झापा

comments powered by Disqus

रमझम