११-१७ माघ २०७१ | 25-31 January 2015

फैलिंदो किचन ग्याजेट

Share:
  
दैनिक कामकाजलाई सहज बनाउन इलेक्ट्रोनिक सामानहरू वरदान सावित भएका छन्।

एक जमाना थियो, खाना पकाउन मात्र होइन, एकमुठी पानी तातो पार्न पनि घरभरि धुवाँ हुने गरेर आगो बाल्नुपर्थ्यो। चिसो मौसममा त तै–तै ठीकै हुन्थ्यो, तर गर्मीमा आगो बाल्नु आफैंमा अनिवार्य यातना जस्तो हुन्थ्यो। धुवाँले घर भरिंदा आइलाग्ने अनेक किसिमका स्वास्थ्य समस्या भोग्नुपर्थ्यो। तर, अहिले दाउराको ठाउँमा ग्याँसले दिएको सहजतामाथि भान्सामा भित्रिएका अनेक सामानले सहजता थपेको छ।

गर्मीको समयमा बिहानको खानेकुरा साँझसम्ममा बिग्रिसक्ने समस्यालाई फ्रिजले दूर गरिसकेकोमा फ्रिजको पछिपछि भान्सामा भित्रिएका अन्य इलेक्ट्रोनिक सामानहरूले चिसो खानेकुरालाई तातो पार्न आगो फुक्नै नपर्ने बनाइदिएका छन्। नयाँ―नयाँ प्रविधिले भान्सा र घरभित्रका सबै कामलाई सहज बनाएको छ। तिनले समयको बचतसँगै धुवाँको हानिबाट शरीरलाई जोगाएका छन्। दाउराको झन्झटबाट मुक्ति र एकै पटक धेरै काम गर्न सकिने अवस्था सिर्जना भएको छ। बदलिंदो परिवेशसँगै मानिसका जिम्मेवारी पनि बदलिएका छन्। पहिला जस्तो घरको काम महिला र बाहिरको काम पुरूषले गर्ने भन्ने जमाना पनि अब रहेन। त्यसैले जीवनशैली परिवर्तनसँगै फेरिएका जिम्मेवारी पूरा गर्न आधुनिक स्रोतसाधनको प्रयोग गर्नैपर्ने हुन्छ। घरको काममा सीमित महिलाहरूले बाहिरको जिम्मेवारी पनि सम्हाल्न थालेको अवस्थामा बालबच्चाको स्याहार र अन्य घरेलु काम महिला–पुरूष दुवैको जिम्मेवारीभित्र परेको छ। पछिल्लो समयमा बजारमा आएका इलेक्ट्रोनिक सामानहरूले मानिसलाई त्यस्तो जिम्मेवारी पूरा गर्न सजिलो बनाएका छन्। ती सामानहरूले छिटो–छरितो काम सक्ने असहजताका साथै तनावमुक्त हुन पनि सघाएका छन्।

पढाइसँगै काम गर्नेहरूका लागि पनि यस्ता इलेक्ट्रोनिक सामानहरू सहयोगी साबित भएका छन्। त्यही कारण, आजकल सबैजसो घरमा इलेक्ट्रोनिक सामानहरूको प्रयोग बढेको छ। खाना पकाउन राइस कुकर, खाना तताउन माइक्रोओभन, लुगा धुन वाशिङ मेशीन, भुईं सफा गर्न भ्याकुम क्लिनर, खानेकुरालाई ताजा र चिसो राख्न रेफ्रिजेरेटर आज हरेकजसो घरको विशेषता बनेको छ। यस्ता उपकरणहरू हरेक व्यक्तिका लागि अनिवार्य बनेका छन्। आइरन, विद्युतीय कित्ली, ग्राइण्डर, रोटी मेकर आदिले सबैको समयको बचत गर्नुका साथै जीवनलाई सहज बनाइरहेका छन्।

यसरी इलेक्ट्रोनिक सामानहरू शहरी नेपालीहरूको जीवनशैलीमा अभिन्न अंग बनेका छन्, लोडसेडिङको बाधाका बीचमा पनि।

मानिसहरूलाई आफ्नो गच्छे अनुसारको इलेक्ट्रोनिक सामान किन्न बजारले छनोटको अनेक विकल्प दिएको छ। भाइ र दिदीसँग काठमाडौंको गोङ्गबुमा बस्ने पुष्पा बस्नेत इलेक्ट्रोनिक सामानले हतारको जीवनलाई सहज बनाएको बताउँछिन्। वाशिङ मेशीन, राइस कुकर, ओभन, रेफ्रिजेरेटर जस्ता किचन ग्याजेटले मानिसलाई धेरै काम एकै पटक गर्न सक्ने बनाएको उनको अनुभव छ। “कतिले इलेक्ट्रोनिक सामानलाई घरेलु कामदारको सहज विकल्प बनाएका छन्”, बस्नेत भन्छिन्, “कतिपय अवस्थामा मान्छे राख्नुभन्दा इलेक्ट्रोनिक सामान किन्नु बुद्धिमानी साबित भएको छ।”

नेपालमा एलजी ब्रान्डका विभिन्न इलेक्ट्रोनिक सामानको बिक्री प्रमुख पुरुषोत्तम भण्डारी पनि हरेक घरमा मौसम अनुसारका इलेक्ट्रोनिक उपकरण अनिवार्य जस्तै बनेको र कतिपय अवस्थामा कामदार भन्दा ती उपकरण भरपर्दो भएको बताउँछन्।

प्रस्तुतिः मीना शर्मा

comments powered by Disqus

रमझम