अनेक प्रकारले 'इन्टरेष्टिङ' छ यो किताप। एक जना खाँटी राष्ट्रवादी नेपालीले छिमेकी देशमा चार दशक सरकारी सेवामा बिताएको कथा हो यो। खान लाउन दुःख नभए पनि उनले त्यहाँ काटेको कहरको कथा हो 'रेडियो जिन्दगी'। सप्तरीको राजविराजमा जन्मेको मध्यवित्त ब्राह्मण परिवारको एकजना केटो नेपालको राजधानीको मुखै नदेखिकन भारतको राजधानी पुग्छ। त्यहीं बसेर पढ्छ, जागिर खान्छ अनि रिटायर भएपछि मात्र नेपाल उक्लन्छ। उसले त्यहाँ अनागरिक जस्तो 'विदेशी' भएर खेप्नु परेको पीडा बोलेको छ पुस्तकको पानाले।
एकजना पत्रकारको सेवा–कथा भएकोले यो 'रेडियो जिन्दगी' मा लेखकका सम्पर्क भएका र यहाँ उल्लेख भएका व्यक्तिहरूको संख्या निकै लामो छ। ती व्यक्तिहरू कुनै सामान्य स्तरका छन्, कुनै ठूला स्वनामधन्य पनि। तिनका बारेमा पछि केही केही पढ्न, हेर्न खोज्यो भने फेरि फेला पार्न हम्मे पर्छ। लेखकले अलि मिहिनेत गरेर यसमा उल्लिखित व्यक्तिहरूको नाम र पृष्ठसंख्या अकारादि क्रममा परिशिष्टमा दिएको भए कितापको उपयोगिता अझ्ा बढ्ने थियो। त्यो नहुँदा यो पुस्तक एक पटक पढी मनोरञ्जन लिइसकेपछि थन्काउने खालको भएको छ भन्नुपर्छ।
क.दी.
एड्सबारे उपन्यास
एड्स लाग्या छ। एड्स लाग्या मान्छेले शुभ कार्यमा जानु हुन्न रे। सबैले त्यस्तै भनेका छन्। ब्रतबन्ध, विवाह, मेलामा नगएको दुई वर्ष भयो। देवताले पनि त्यही भन्नुभएको छ। ज्योतिषले पनि त्यही भन्नुभयो। घरमै बस्ने, मेलापात मात्रै गर्ने। शुभ कार्यमा जान हुन्न रे। म गए अशुभ हुन्छ रे।
बच्चु विकको उपन्यास फकिर को एक अंश हो यो। कामका लागि मुम्बई, दिल्ली, कलकत्ता लगायतका भारतीय शहरमा पुगेका सुदूरपश्चिम पहाडका पुरूषहरू एचआईभी संक्रमित हुँदा त्यसको पीडा निर्दोष महिला र बालबालिकाले भोगेको वास्तविकतामा केन्द्रित रहेर लेखिएको उपन्यासले संक्रमितहरूले भोग्नुपर्ने सामाजिक विभेद उतारेको छ। सुदूरपश्चिमका गाउँहरूमा 'दिल्लीको रोग' भनिने एचआईभी/एड्स लागेर भारतमै मृत्यु भएकाहरूका श्रीमती र बालबच्चा समेत संक्रमित भएर नेपाली समाजमा अपमान सहँदै मृत्यु कुरेको तीतो यथार्थले जो कोही पाठकलाई द्रवित बनाउँछ।
एचआईभी/एड्स संक्रमित उपन्यासका केन्द्रीय पात्र गोरश काठमाडौंमा महीनैपिच्छे डेरा सर्छन्। उपन्यासमा गोरश मृत्युलाई बिर्सन सुदूरपश्चिम पहाडका विभिन्न स्थान चहार्दै भारत पुगेको मार्मिक वर्णन छ। त्यही क्रममा वेश्यालय पुग्दा गोरशले सुदूरपश्चिमका युवा कसरी यो प्राणघातक रोगको संवाहक भइरहेका छन् भनेर बुझ्छन्। केन्द्रले सुदूरपश्चिमलाई ध्यान दिन नसक्दा यो क्षेत्र एड्सको चपेटामा परेको यथार्थ उपन्यासमा छ। यो अवस्थाले सुदूरपश्चिमका बालबालिकालाई जीवनको सुरुआत नहुँदै मृत्युको मुखमा पारेको निष्कर्ष फकिर ले दिन्छ।
एउटा युवा पत्रकारको पहिलो उपन्यास भए पनि फकिर पठनीय छ।
मीना शर्मा
यसरी काइदाको जीवन
साइन्स जस्ता विश्वका उत्कृष्ट जर्नलहरूमा आफ्ना दर्जनौं अनुसन्धान प्रकाशित गरेका प्रसाईंले आफ्नो ज्ञान नेपाली समाजका लागि पनि उपयोगी होस् भनेर जीवन जिउने काइदा नामक किताब लेखेर नेपालयबाट प्रकाशन गरेका छन्। गृहिणीदेखि चिकित्सकसम्मलाई उपयोगी पुस्तक १० माघदेखि बजारमा आएको छ। पुस्तकका अनुसार, भोजनको प्रभाव निद्रादेखि प्रेम गर्ने मूडसम्ममा पर्छ। चक्लेट खाँदा त्यसमा रहेको रसायनले प्रेमिकाको मूड सकारात्मक हुने हुँदा 'भ्यालेन्टाइन डे' मा चक्लेट उपहार दिने प्रचलन चलेको हो। डार्क चक्लेटमा रक्तचाप नियन्त्रण गरेर तनाव हटाउने गुण हुन्छ। डा. प्रसाईं भन्छन्, “स्याउको नियमित सेवनले क्यान्सरको जोखिम घटाउँछ। ब्रोकाउली, मुला काँचै खाएको राम्रो तर टमाटर पकाएको राम्रो। ज्वानोमा क्याल्सियम प्रशस्त हुन्छ भने चिराइतो पानीले मधुमेहका रोगीलाई औषधिको काम गर्छ।”
हामीले आफ्नै भान्सामा प्रयोग गरिरहेका खाना–मसलाले पार्ने प्रभावदेखि हाम्रो दैनिक आनीबानीको असरबारे वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भइसकेका जीवनोपयोगी कुराहरू जीवन जिउने काइदा मा समेटिएका छन्। १८ खण्डको यो पुस्तकमा संगीत, साहित्य र संगत अनि दैनिक आहारदेखि व्यायामसम्मका फाइदाहरूलाई वैज्ञानिक प्रमाणसहित पेश गरिएको छ। असल संगीतले दुखाइदेखि वृद्धवृद्धाको डिप्रेशनसम्म कम गर्ने पुस्तकमा उल्लेख छ।
पुस्तकमा पूर्वीय दर्शन र उपचार पद्धतिमा केन्द्रित रहेर पश्चिमी आधुनिक विज्ञानले प्रमाणित गरेका विषयहरू छन्। लेखकले आफ्नो र अन्य वैज्ञानिकहरूका अनुसन्धानका निष्कर्षहरूलाई सबैले बुझ्ने गरी पस्केका छन्। जीनको चर्चाबाट शुरू हुने पुस्तकले पाठकलाई 'विषमुक्त भोजन' सम्म पुर्याउँछ। आफ्नो पहिलो पुस्तकबारे लेखक भन्छन्, “मैले कुनै नयाँ तथ्य प्रस्तुत गरेको छैन, हाम्रा पितापुर्खाले उहिल्यैदेखि खानेकुरा अनि आनीबानीमा देख्दै र भन्दै आएका गुणहरूमा वैज्ञानिक अध्ययन–अनुसन्धानबाट फेला परेका आधारहरू जोड्न खोजेको मात्र हूँ।”
सञ्जीव शर्मा