११-१७ माघ २०७१ | 25-31 January 2015

चाल नपाएको माल

Share:
  
- तुफान न्यौपाने
सरकारले उपत्यकाभित्रका पुरातात्विक सम्पदाहरूको संरक्षण त के यकीन विवरण पनि राख्नसकेको छैन।

आलोक तुलाधर
नरदेवीको वैद्यचोकस्थित करीब २०० वर्ष पुरानो घर ।
पुरातत्व विभागले उपत्यका बाहिरका ७२ जिल्लाका एक हजार ८७२ वटा पुरातात्विक, धार्मिक तथा सांस्कृतिक सम्पदालाई सूचीकृत गरेको छ। ती सम्पदा सरकारी र गुठीहरूको स्वामित्वमा छन्। काठमाडौं उपत्यकाका तीन जिल्लामा चाहिं कति सम्पदा छन् त? विभागका प्रमुख पुरातत्व अधिकृत सुरेश सुरश श्रेष्ठ भन्छन्, “बजेट र कर्मचारीको सीमितता लगायतका कारणले विस्तृत अध्ययन गर्न सकेका छैनौं।” काठमाडौं उपत्यकामा इतिहास, कला तथा वास्तुकलासँग सम्बन्धित १०० वर्षभन्दा पुराना मन्दिर, स्मारक, देवालय, शिवालय, मठ, गुम्बा, बिहार, स्तूप, घर आदि कति छन् कति। प्राचीन स्मारक संरक्षण ऐनले यस्ता संरचनालाई पुरातात्विक सम्पदा मान्छ। यो परिभाषाभित्र पर्ने थुप्रै सम्पदा व्यक्तिगत स्वामित्वमा छन्। गैर–सरकारी क्षेत्रका संरक्षणकर्मीहरूका अनुसार, काठमाडौंमा निजी स्वामित्वमा पुरातात्विक महत्वका ६६१ वटा घर छन्। सरकारी निकायमा भने यस्तो कुनै विवरण पाइँदैन।

सम्पदा नास्ने नक्शा पास

काठमाडौं महानगरपालिका―१८ नरदेवीको वैद्य चोक पुरातात्विक सम्पदाले भरिभराउ पुरानो स्थल हो। पुरातत्व विभागले करीब २०० वर्ष पुरानो भएको अनुमान गरेको त्यहाँका घरहरूमा ६ पुस्तादेखि वैद्य खलकको बसोबास छ। गत मंसीर पहिलो सातादेखि त्यहाँ नयाँ संरचना बनाउन पुराना घरहरू भत्काइँदैछ। ती घरहरू जोगाउन सकिन्छ कि भनेर मैतीदेवीका सामाजिक कार्यकर्ता चन्दन श्रेष्ठले पुरातत्व विभागमा निवेदन दिए, तर २१ दिन ढिला गरेर विभाग त्यहाँ पुग्दा कलात्मक झ्यालढोका बिक्री भइसकेका थिए। दिक्क मान्दै श्रेष्ठ भन्छन्, “संरक्षण गर्नुपर्ने महानगरपालिकाले नै त्यस्ता महत्वपूर्ण घरहरूको ठाउँमा नयाँ बनाउन नक्शा पास गरिदिएको रहेछ, के गर्नु!”

नमूना घर पहिले र जीर्णोद्वारपछि।

तस्वीरहरुः आरपी फाउन्डसन

इन्द्रचोक र असनको बीचमा पर्ने पल्टन घर र मछिन्द्रबहाल बाहिरको भन्सार छेंमा पनि पुरातात्विक महत्वका घरहरू छन्– सबै व्यक्तिगत स्वामित्वका। २०० वर्ष भन्दा पुरानो भन्सार छें कुनै समय राजस्व संकलन केन्द्र रहेको अनुमान छ। भवनभित्र आधुनिक पुनर्निर्माण थालिएको छ, झ्याल–ढोका बिक्री प्रक्रियामा छन्। मछिन्द्रबहाल र इन्द्रचोक क्षेत्रमा पनि यस्ता घरहरू छन्, जसको विवरण कसैले राखेको छैन। प्राचीन स्मारक संरक्षण ऐनले निजी स्वामित्वका भए पनि यस्ता सम्पदा जोगाउने व्यवस्था छ। “तर, घरधनीहरूमा 'मेरो सम्पत्ति, जेसुकै गरुँ146 भन्ने सोच छ”, चन्दन श्रेष्ठ भन्छन्, “नक्शा पास गरिदिने महानगरपालिका छँदैछ।”

निजी स्वामित्वका प्राचीन स्मारकहरूको संरक्षण तथा जीर्णोद्धार सम्बन्धित व्यक्ति र पुरातत्व विभागले गर्ने व्यवस्था भएको ऐनमा त्यस्ता स्मारकहरूको मौलिक स्वरूपमा परिवर्तन, मर्मत तथा जीर्णोद्धार वा भत्काउन विभागको स्वीकृति चाहिने व्यवस्था छ। तर, विभागले यो प्रावधान कार्यान्वयन गर्ने क्षमता देखाएको छैन। उता महानगरपालिकाको सम्पदा महाशाखा अधिकृत सृजु प्रधान आफूहरू सक्रिय हुँदा घरधनीहरू सम्पत्तिमाथिको अधिकार हनन् भएको ठान्ने बताउँछिन्। आर्थिक सहयोग विना संरक्षण गाह्रो भएको प्रधानले बताइन्।

काठमाडौंका सम्पदाहरूको अभिलेखीकरण गर्दै आएको 'इम्प्याक्ट प्रोडक्सन' का संस्थापक आलोक तुलाधर सरकारले खर्च नगरी निजी क्षेत्रका सम्पदा संरक्षण गर्न नसक्ने बताउँछन्। ऐतिहासिक सम्पदा संरक्षण अभियानमा सक्रिय भक्तपुरका रवीन्द्र पुरी सरकारले सम्पदाको अभिलेखीकरण, ऐन कार्यान्वयन र सम्पदामा एकल स्वामित्व मात्र रहने नीति लागू गर्नुपर्ने बताउँछन्। काठमाडौंका असन, नरदेवी, भेडासिं लगायतका क्षेत्रमा पुराना घर, मठ, मन्दिर प्रशस्त छन्। जोगाउन सके यी क्षेत्र नमूना सम्पदास्थल बन्ने पुरी बताउँछन्। उनी भन्छन्, “त्यसबाहेक, नरदेवीमा नारायणगोपाल हुर्केको घर, पशुपतिमा फत्तेमान जन्मे/हुर्केको घर, लक्ष्मीप्रसाद देवकोटा र बालकृष्ण समका घरहरू, त्रिचन्द्र कलेज र दरबार हाईस्कूल तत्काल जीर्णोद्धार गर्नुपर्ने सम्पदा हुन्।”

सराहनीय पहल

सीमित व्यक्तिको प्रयासमा पाटन, भक्तपुर र काठमाडौंका केही निजी घरको जीर्णोद्धार भएको छ। त्यसले पुराना वास्तुकला प्रयोग भएको घरमा पनि आधुनिक शैलीको जीवनयापन गर्न सकिन्छ र तिनको पर्यटकीय प्रयोगबाट मनग्ये आम्दानी पनि गर्न सकिन्छ भन्ने सन्देश गएको छ। काठमाडौंको बाँसबारीमा परम्परागत शैलीको घर बनाएका भरत बस्नेत पुरानो वास्तुकलालाई जीवित राख्न आवश्यक भएको बताउँछन्।

बस्नेतले डिल्लीबजारमा पुरानो घरलाई जीर्णोद्धार गरेर भोजन गृह चलाएका छन्। उनले ज्याठाको 'होटल कान्तिपुर टेम्पल हाउस' को मल्लकालीन वास्तुशैलीलाई पनि बचाएका छन् भने तनहुँको बन्दीपुरमा तीन वटा पुराना घर जीर्णोद्धार गरेर 'गाउँघर होटल' सञ्चालन गरेका छन्। “पुरानो वास्तुकलाको संरक्षणबाट पनि व्यावसायिक फाइदा लिन सकिन्छ भन्ने सन्देश दिन खोजेको हुँ” बस्नेत भन्छन्, “काठमाडौंका बुङमती, खोकना, साँखु, कीर्तिपुर लगायत क्षेत्रका मल्लकालीन वास्तुकला संरक्षण गर्न ढीला भइसकेको छ।”

टोनी हागन घरः पहिले र जीर्णोद्वारपछि (माथि)। संरक्षणकर्मी रवीन्द्र पुरी टोनी हागनका छोरीहरु कटि्रना र मोनिकाका साथ।
पाटनमा पनि पुराना निजी घरहरूको जीर्णोद्धार गरेर गेष्टहाउस सञ्चालन गर्न थालिएको छ। पर्यटकीय उद्देश्यले जीर्णोद्धार गरिएको पाटनको पहिलो घर नेवा छेंले पुराना घरबाट लिन सकिने नयाँ फाइदा देखाएको छ।

उपत्यकाको मल्लकालीन वास्तु संरक्षणमा रवीन्द्र पुरीको सक्रियतालाई निकै सराहनीय मानिन्छ। सन् १९९६ मा जर्मनीको जागिर छाडेर नेपाल फर्केका उनले भक्तपुरको दत्तात्रेय मन्दिर नजिकैको एउटा मल्लकालीन जीर्ण घर किनेर जीर्णोद्धार गरे, जसलाई भक्तपुर नगरपालिकाले नमूना घोषणा गर्‍यो। त्यसका लागि उनले संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को) को एशिया प्यासिफिक कल्चरल हेरिटेज अवार्ड पनि पाए।

त्यसपछि पुरीले स्वीस विद्वान् टोनी हागनले भक्तपुरको सम्पदामाथि खतराको रुपमा चित्रण गरेको कंक्रिटको घरलाई पनि मल्ल शैलीमा ढाले। ऊ बेला हागनले देखेको भक्तपुर–३ गाछेंस्थित त्यो एउटा मात्र कंक्रिटको घरको फोटो आफ्नो नेपाल सम्बन्धी किताबमा राखेर यस्तो प्रवृत्तिले पुरातात्विक सम्पदा नासिने लेखेका थिए। हागनलाई देखाउन पुरीले त्यो घर किनेर जीर्णोद्धार गरे, तर त्यो बेलासम्म हागन बाँच्न सकेनन्। “उनले नेपाललाई लगाएको गुनको कदर गर्न जीर्णोद्धारपछि घरको नाम टोनी हागन हाउस राखें”, पुरी भन्छन्, “हागन हाउसको भुईं तलामा सम्पदा ग्यालरी छ।”

पुरानो घरलाई भत्काएर नयाँ बनाउनुभन्दा जीर्णोद्धार गर्नु आर्थिक र सुरक्षा दुवै दृष्टिकोणले उपयुक्त हुने आर्किटेक्ट इन्जीनियरहरू बताउँछन्। रवीन्द्र पुरीका अनुसार, नयाँ बनाउँदा प्रति स्क्वायर फीट रू.२५००–३००० पर्छ भने जीर्णोद्धार गर्दा प्रति स्क्वायर फीट रू.१००० जति मात्र पर्छ। अर्थात्, सय वर्ष पुराना घरलाई गर्लम्म ढालेर कंक्रिट ठडाउनु भनेको माल पाएर चाल नपाउनु हो।

comments powered by Disqus

रमझम