११-१७ माघ २०७१ | 25-31 January 2015

'ब्याड लक' ब्याटिङ

Share:
  
- सन्त गाहा मगर
प्रतियोगिताका बलिया प्रतिस्पर्धी नामिबिया, नेदरल्याण्डस् र क्यानाडालाई पराजित गर्न सफल टीम नेपालको निर्णायक समयमा ब्याटिङ नचल्दा डिभिजन–वान पुग्ने सपना अधुरै रह्यो।

३ माघमा युगान्डा विरुद्धको खेलमा ज्ञानेन्द्र मल्ल।
३ माघमा नामिबियाको विन्डहोकमा प्रतियोगिताकै सबैभन्दा कमजोर मानिएको युगाण्डासँग भोगेको दुई रनको पराजय नेपाली क्रिकेट टीमका लागि निकै महँगो सावित भयो। तीन महीनाअघि मलेशियामा सम्पन्न डिभिजन–थ्रीको फाइनलमा ६२ रनले पराजित युगाण्डा नै नेपालका लागि आईसीसी विश्व क्रिकेट लीग डिभिजन–वान यात्रामा बाधक बन्यो। समूह चरणमा नेपालले आयोजक नामिबियालाई तीन, नेदरल्याण्डस्लाई दुई र क्यानाडालाई सात विकेटले हराएको थियो। ९ माघमा केन्यासँग पाँच विकेटले पराजित भएपछि समान ६ अंक भए पनि नेपाल 'नेट रनरेट' मा नेदरल्याण्डस् भन्दा ०.२५४ ले पछाडि पर्‍यो। र, दोस्रो पटक डिभिजन–टु खेलेको नेपालका लागि रेलिगेसनमा नपर्नु नै उपलब्धि हुनपुग्यो।

यसअघि डिभिजन–थ्री च्याम्पियन बनेर न्युजिल्याण्डमा भएको 'वर्ल्डकप क्रिकेट क्वालिफायर २०१४' मा सहभागी १० टीममध्ये नेपाल नवौं स्थानमा रहेको थियो। त्यस आधारमा हेर्दा यसपटक समूह चरणको एउटा खेल मात्र जित्दा पनि नेपालका लागि ऐतिहासिक उपलब्धि हुन्थ्यो। तर नेपाल डिभिजन–वान लक्ष्यसहित नामिबिया पुगेको थियो। राष्ट्रिय टीममा सहायक प्रशिक्षक रहिसकेका जगत टमटा नेपालको ब्याटिङ लाइनमा पर्याप्त सुधार आवश्यक रहेको बताउँछन्। उनी भन्छन्, “खेलाडीको पर्फमेन्स नराम्रो भन्न मिल्दै मिल्दैन, तर ब्याट्सम्यानहरूले अझै कडा परिश्रम गर्नुपर्छ।”

९ माघमा केन्या विरुद्धको खेलमा शरद भेषवाकर।

६ माघमा क्यानाडा विरुद्धको खेलमा वसन्त रेग्मी।

केन्या विरुद्धको खेलमा उपकप्तान ज्ञानेन्द्र मल्लको ९१ र पारस खड्काले क्यानाडा विरुद्ध बनाएको ७७ र नामिबिया विरुद्ध जोडेको ६४ रन नै नेपाली ब्याट्सम्यानका उच्चस्कोर हुन्। केन्यालाई १९५ रनको विजय लक्ष्य दिएको नेपाललाई क्यानाडाले ११५, नामिबियाले १४३ र नेदरल्याण्डस्ले १५९ र युगाण्डाले १४७ रनको लक्ष्य दिएका थिए। प्रशिक्षक टमटाको बुझाइमा नेपालले केन्या विरुद्ध जोडेको १९४ रन बाहेक बाँकी सबै लक्ष्य सम्मानजनक थिएनन्। जबकि, नेपालले त्यसमध्ये युगाण्डासँग पाएको १४७ रनको लक्ष्य पनि भेट्टाउन सकेन। उनी बलिङ–फिल्डिङ राम्रो भएकैले विपक्षीले ठूलो स्कोर बनाउन नसकेको बताउँछन्।

७ माघमा नामिबिया विरुद्धको खेलमा शक्ति गौचन।
हुन पनि समूह चरणका पाँच खेलमा विपक्षी टीमलाई सस्तोमा समेट्ने क्रममा यही प्रतियोगिता मार्फत राष्ट्रिय टीममा डेब्यु गरेका करण केसीले नौ, सोमपाल कामीले आठ, बसन्त रेग्मीले सात, पारस खड्का र शक्ति गौचनले ६/६ र सागर पुनले दुई विकेट लिएका थिए। नेपालले पाँच खेलमा विपक्षी टीमका सातजना खेलाडीलाई रनआउट गर्‍यो। नेदरल्याण्डस् विरुद्धको खेलमा प्रतियोगितामा आफ्नो छेटौं विकेट लिएका बसन्त रेग्मीले विश्व क्रिकेट लिगमा १०० विकेटको कीर्तिमान बनाए। यस्तै क्यानडा विरुद्धको खेलमा कप्तान खड्काले एक हजार रन पुर्‍याए।

नेपाल क्रिकेट संघ (क्यान) मा आवद्ध रेफ्री विजयकुमार झा यसपटक ओपनिङ ब्याट्सम्यानहरू जम्न नसकेको बताउँछन्। सागर पुन, सुवास खकुरेल, विनोद भण्डारी, शरद भेषवाकर जस्ता खेलाडीप्रति राखेको अपेक्षा पूरा हुन नसकेको उनको बुझाइ छ। ब्याटिङबाटै आएका बलर शक्ति गौचन र गत मंसीर पहिलो साता कोलम्बोमा हङकङ विरुद्धको खेलमा कीर्तिमानी ४० रन जोडेका सोमपाल कामी पनि ब्याटिङमा सपोर्टर बन्नुपर्ने रेफ्री झाको सुझाव छ।

डिभिजन–टुको दोस्रो स्थानमा समेत नपुगेपछि प्रथम श्रेणीको मान्यता पाएको अन्तरमहादेशीय चार दिवसीय खेलबाट बन्चित भए पनि टीम नेपालले प्रशस्त संभावना देखाएको प्रशिक्षक टमटा बताउँछन्। उनी खेलाडीहरूलाई आफूभन्दा बलियो टीमसँग पटक–पटक अभ्यास खेल खेलाउनुपर्नेमा जोड दिंदै भन्छन्, “खेलाडीले अझै पनि पर्याप्त एक्सपोजर पाएका छैनन्। सँगसँगै क्यानले घरेलु प्रतियोगिता र भौतिक पूर्वाधारमा जोड दिनुपर्छ।”

comments powered by Disqus

रमझम