११-१७ माघ २०७१ | 25-31 January 2015

नयाँ शैली पछ्याउँदै

Share:
  
शहर र शहरी जनजीवनलाई चित्रकला मार्फत अभिव्यक्त गर्ने उनीहरूको शैली रोचक छ।

काठमाडौं विश्वविद्यालयबाट फाइन आर्टस्मा स्नातक गरेका आदित्य अर्याल (२९), श्रद्धा श्रेष्ठ (२६) र सुदीप वल्ल (२८) अर्बान आर्टस्मा रुचि राख्छन्। उनीहरूले लैनचौर, महाराजगञ्ज, जमल, कुपन्डोल लगायत ठाउँका भित्ताहरू रंगाएका छन्। शहर र शहरी जनजीवनलाई चित्रकला मार्फत अभिव्यक्त गर्ने उनीहरूको शैली रोचक छ।

आदित्य अर्याल

श्रद्धा श्रेष्ठ
ललितपुर, कुपन्डोलमा चित्रकला सम्बन्धी विभिन्न कार्यक्रम गर्ने 'आर्ट ल्याब' स्टुडियो छ। 'प्रसाद', 'नियन स्ट्रिम', 'आर्ट ल्याब यत्तिकै', 'र्‍यान्डम इम्प्याक्ट' आदि ल्याबले विभिन्न समयमा गरेका प्रदर्शनी हुन्। जसमा चित्रकार आदित्य, सुदीप, श्रद्धा लगायतका चित्र प्रदर्शन गरिएका थिए। सुदीप र श्रद्धा आर्ट ल्याबका संस्थापक सदस्य पनि हुन्।

आदित्यका अनुसार चित्रकलालाई सर्वसुलभ बनाउन ल्याब खोलिएको थियो। ल्याब मार्फत उनीहरूले विभिन्न होटल तथा रेस्टुरेन्टमा आफ्ना कला प्रदर्शन गरे। “चित्रकलाका पारखी मात्रै ग्यालरी धाउँछन्” आदित्य भन्छन्, “सामान्य मान्छेलाई उनीहरूकै पायक पर्ने ठाउँमा चित्र देखाउनुपर्छ।” 'सेल्फ प्रमोसन' का लागि स्ट्रिट आर्ट वा ग्राफिटी निकै उपयोगी हुने श्रद्धा बताउँछिन्। भन्छिन्, “हामी जस्ता युवा चित्रकारका लागि स्ट्रिट आर्ट आफूलाई प्रस्फुटन गर्ने गतिलो माध्यम बन्न सक्छन्। आफ्नो काम देखाउन ग्यालरी नै पर्खिनुपर्ने बाध्यता रहँदैन।”

श्रद्धा खासमा ग्राफिक डिजाइनर हुन्। पढाइ अनुसारकै जागिर खाने धुनमा उनी एकपल्ट 'एड एजेन्सी' मा पुगेकी थिइन्। तर, चार महीनाभन्दा बढी टिकिनन्। “बिहानदेखि साँझसम्म एकै ठाउँमा बसेर एउटै काम गरिरहन सकिनँ” उनी भन्छिन्, “दिक्क लाग्यो, छोडिदिएँ।” त्यसपछि उनी आर्ट ल्याबतिर लागिन्। र, चित्र कोर्न थालिन्। कार्टून, कमिक र फ्यान्टासी शैलीका चित्रमा उनको विशेष लगाव छ।

उच्च शिक्षाका लागि फ्रान्स पुगेका आदित्य वर्षदिनमै स्वदेश फिरे। व्यवस्थापन विषयमा उनको मन अडिएन। म्याथ्यू मालो नामका फ्रान्सेली चित्रकारसँगको संगतपछि त झन् उनी फ्रान्समा बस्नै नसक्ने भए। “तुरुन्त नेपाल आएँ र चित्रकारिता पढ्न थालें” उनी सम्झन्छन्, “म्याथ्यूले मेरो आँखा खोलिदिएका थिए।”

भक्तपुरका सुदीप चाहिं दाजुकै प्रेरणाले चित्रकारितामा होमिए। उनी देवी–देउताको चित्र कोर्न खप्पिस थिए। एसएलसीपछि चित्रकलालाई मुख्य विषय बनाई अध्ययन गर्न थाले। “काठमाडौं विश्वविद्यालयमा फाइन आर्टस् पढ्न थालेपछि म अर्कै भएँ। अब त पेन्टिङबाहेक केही सोच्न सक्दिनँ”, उनी भन्छन्।

ललितकला क्याम्पसकी रीति महर्जन (२२) ले कक्षा १० मा छँदा नै आफ्ना चित्र प्रदर्शन गरेकी थिइन्। भासरा सेकेन्डरी स्कूलमा आयोजित कार्यक्रममा उनले भगवानका 'पेन्सिल स्केच' बनाएकी थिइन्। सन् २००७ मा 'मिररः पास्ट एन्ड प्रिजेन्ट' नामक प्रदर्शनीमा सहभागी उनले अहिलेसम्म चारवटा संयुक्त र दुइटा एकल प्रदर्शनी गरिसकेकी छन्।

नेपालमा चित्रकारितालाई व्यावसायिक रुपमा अघि बढाउन गाह्रो भएको रीतिको अनुभव छ। उनी भन्छिन्, “तर, यत्तिकैमा निराश भइहाल्नु पर्दैन। निरन्तर लाग्यो भने बाटा खुल्छन्।” रीति केही स्कूलमा चित्रकला सिकाउँछिन् भने 'चंगा' नामक बालपत्रिकाका लागि इलुस्टे्रसन बनाउँछिन्।

सुदीप वल्ल

रीति महर्जन

आदित्य भने नेपालमा आफू जस्ता युवा चित्रकारका कला प्रदर्शन गर्ने उचित भेन्यूको खाँचो रहेको औंल्याउँछन्। “टीनएजरलाई लक्ष्य गरेर चित्र बनाउँछौं” उनी गुनासो गर्छन्, “ग्यालरीहरूमा प्रदर्शन गर्‍यो, पाको–पाको मान्छे आइदिनुहुन्छ। युवाहरूलाई ग्यालरीसम्म तान्न जरुरी छ।”

सुदीप भने नेपालमा नयाँ शैलीको सम्मान नगरिएकोमा दुःखेसो पोख्छन्। “फोटो वा अब्जेक्ट जस्तो छ, दुरुस्तै त्यस्तै तस्वीर कोर्न सके स्याबासी पाइन्छ। त्यसमा आफ्नो पनि कन्सेप्ट मिसाएर नयाँ गर्न खोज्यो भने 'यसलाई चित्र बनाउन आउँदैन' भन्न थाल्छन्”, उनले सुनाए।

अप्ठ्यारासँगै अहिले विकल्प पनि भएकाले हतास हुनुपर्ने कारण देख्दिनन्, श्रद्धा। “चित्रकलालाई अन्य माध्यममा रुपान्तरण गर्न सकिन्छ” उनी भन्छिन्, “जस्तै, चित्रहरूलाई टी–सर्ट, कप, ब्याग आदिमा छाप्ने। स्टीकरको रुपमा निकाल्ने। चित्रलाई क्यान्भासमा मात्रै सीमित राख्नुपर्दैन।”

सजना बराल

comments powered by Disqus

रमझम