११-१७ माघ २०७१ | 25-31 January 2015

मान्छेका कथावाचक

Share:
  
नर्सिङ छाडेर कुची र क्यामरा समातेकी सपना साहले उम्दा काम गरिरहेकी छिन्।

लामा–लामा दुइटा टेबुल वरिपरि पाँच बालबालिका ब्रस चलाइरहेका छन्। “मीस यसमा कुन रङ लगाउनु?” एउटी बालिका सोध्छिन्।

“आफैं सोचेर लगाऊ”, मीसको जवाफ।

बालबालिकालाई चित्रकला सिकाउने कलाकार सपना साहको शैली यस्तै छ। धोबीघाटस्थित आफ्नो घरमा चित्रकला सिक्न आउने बालबालिकालाई उनी न हात समातेर चित्र कोर्न सिकाउँछिन् न त यस्तो रङ भर भनेर निर्देशन दिन्छिन्। “उनीहरूलाई स्वतन्त्र अभ्यास गर्न सिकाउनुपर्छ”, सपना भन्छिन्, “जसबाट उनीहरूमा आफूलाई मन लागेको चित्र आफूखुशी कोर्ने अभ्यास होस्, नक्कलको प्रभाव नपरोस्।”

नानीहरू कोही हिमाल–पहाड त कोही मानव आकृति बनाइरहेका छन्। कोही रङ भरिरहेका छन्। अन्त्यमा सपना भन्छिन्, “वाह, सबैको राम्रो छ।”

सपना आफैं भने कहिले वीर अस्पतालको आकस्मिक कक्षलाई तस्वीरको विषय बनाउँछिन् भने कहिले तेस्रोलिंगीका समस्याहरू खिच्छिन्– फोटो र क्यान्भास दुवैमा। कहिले जन्मथलो बरहथवा (सर्लाही) झारेर देहातको जनजीवन खिच्छिन् त कहिले काठमाडौंका गल्लीहरू उतार्छिन्। “मान्छे र समाजको मनोवृत्ति समात्न खोज्छु” सपना भन्छिन्, “एउटा फोटो–स्टोरी तयार पार्न महीनौं लाग्छ।”

ओम अस्पतालमा नर्सिङ गर्दागर्दै पेन्टिङ र फोटोग्राफीमा लागेकी उनले ललितकला क्याम्पसबाट प्रमाणपत्र र काठमाडौं विश्व विद्यालयबाट स्नातक तह सिध्याएको परिवारले थाहै पाएन। नशा यसरी चढ्यो कि उनले तीनवर्षे नर्सिङलाई चटक्क छाडेर कुची र क्यामेरा समाइन् अनि घरमा रडाको मच्चियो। रडाको यत्ति मच्चियो कि सपनाले विद्रोह गरेर घरै छाडिन्। “अस्पतालमा अरूको भन्दा राम्रो डायग्राम बनाउँथें” सपना सम्झिन्छिन्, “बाबुआमा चाहन्थे, बिहे गर्ने बेलाकी छोरीले नर्सको जागीर नछाडोस्, तर मैले छाडें।”

यद्यपि, उनी नर्सिङप्रति आभारी छिन्। त्यसैले आफूभित्रको चित्रकार चिनाइदिएको उनको अनुभूति छ। अनि उनी मनलाग्दो फोटो खिच्दै, पेन्टिङ गर्दै हिंड्न थालिन्। र, अन्ततः छोरीको लगावले बाबु–आमालाई झुकायो। उनी घर फर्किइन्।

अहिले उनका पेन्टिङहरूले राम्रो मूल्य पाउन थालेका छन्। उनलाई पेन्टिङ बिक्री निको भने लाग्दैन। “पेन्टिङ बिक्री हुँदा मलाई अपराधबोध हुन्छ, आमाले छोराछोरी बेचेजस्तो”, सपना भन्छिन्, “नबेची धर पनि छैन, के गर्नु र”

घरमा बाहेक साताको एक दिन जोरपाटीस्थित एसओएस बालग्रामका बालबालिकालाई चित्रकला सिकाउने सपना यो साता बाङ्लादेशको १० दिने 'छोबी मेला फोटो फेस्ट' मा छिन्, जहाँ उनको तेस्रोलिंगी थिमको पेन्टिङ प्रदर्शनीमा छन्। “फर्केपछि फेरि उही हो”, ढाका जानुअघि उनले भनेकी थिइन्, “कि घरमै चित्र बनाउने कि त स्टोरीका लागि उपत्यका बाहिर जाने। हाम्रा गाउँ–ठाउँमा कथै कथा छन्, तिनलाई ल्याउन जरुरी छ।”

सजना बराल

comments powered by Disqus

रमझम