१७-२३ फागुन २०७१ | 1-7 March 2015

श्री ३–रेजिडेन्ट परिसंवाद

Share:
  
- ज्ञानमणि नेपाल
जंगबहादुर राणाले आफूपछिको रोलक्रम बाँध्दा गरेको त्रुटिले भाइ र छोरा–भतिजाबीच रोपेको शीतयुद्धको बीज उनको शेषपछि भयानक रूपले प्रकट हुन थाल्यो।

वीरशमशेर।
श्री ३ जंगले सबै विघ्नबाधा, विद्रोह पन्छाएर ३० वर्ष अकन्टक शासन चलाएको हिमाल का अघिल्ला परिसंवादहरूमा स्पष्ट भइसकेको छ। ३७ साल पर्वले राजपरिवारलाई निःशक्त बनायो भने उदीयमान भारदारका वंशजहरूलाई पनि विमाख पारिदियो। त्यस पर्वमा साढे तीन दर्जन जति भारदार मारिए, कति निर्वासित भए। १०–११ जना बाहुन मुडिएर देश निकाला भए। भारत तीर्थमा रहेका जंगका जेठा छोरा जगतजंग फर्कन लाग्दा ३७ साल पर्वको खबर सुनी पटनामै बडो दुःखले ऋण खाई बसे। उनलाई त्यही काण्डमा पोलेर दण्डित गर्ने धीरशमशेरको योजना सफल नहुँदा पछि माफी पाएर नेपाल आए, जसको सप्रमाण चर्चा आगामी दिनमा गरिनेछ।

४२ साल पर्वमा रणोद्दीप पछि मारिने मुख्य जगतजंग नै भए। उनका छोरा 'नाति जर्नेल' पनि त्यसै पर्वमा परे। त्यो पर्वमा अरू कति मारिए, कति निकालिए। रेजिडेन्टमा शरण लिने जति बाँचेर भारत पसे। जंगका छोरा–नाति, छोरी–बुहारी पत्नीहरूले ठूलो हवाल पाए। ४२ साल पर्वका मुख्य कर्ता रहेका खड्गशमशेर पनि पछि पाल्पा धपाइए। त्यसपछि निर्वासित जीवन बिताइरहेका जंगका छोरा रणवीरजंगले सत्ता प्राप्ति हेतु तराईका हनुमाननगर, जलेश्वर, बुटवल आदि स्थानमा उधूम विद्रोह उठाए। पाल्पा लिने चेष्टा पनि भयो। काठमाडौंबाट खटिएको सैनिक दलले विद्रोह दबायो। 'अकार्थमा रक्तपात मच्चाई सत्ता हातमा लिएर हामीलाई निर्वासित गरी बहुतै ठूलो दुःख हवाल दिएको छ, शरणार्थी बनेर ब्रिटिश–भारतमा जिउन परेको छ' भन्ने बेहोराको नवराज पृथ्वीविक्रमकी जेठी आमा जंगपुत्री र निर्वासित जंगपुत्रहरूले वायसराय र बेलायतमा समेत दुःख–दर्र्द विसाए। विलियम डिग्वीको पुस्तकले वीरशमशेरको अन्याय र शरणार्थीहरूको हवालको बढाइचढाइ प्रचार गरिदिइरहेको थियो।

त्यस्तै अवस्थामा श्री ५ पृथ्वीविक्रमले वायसरायलाई लेखेको पत्र रेजिडेन्ट कर्णेल वाइलीलाई दिन कर्णेल महावीर र मिरमुन्सी लैनमा जाँदा वाइलीले शरणार्थी (रिफ्युजी) हरूको के बन्दोबस्त गरिंदैछ भनी महाराजसँग कुरा गर्न चाहेछन्। त्यसपछि महाराज स्वयं लैनमा गएर शरणार्थीको बेलीविस्तार लगाएका र श्री ३–रेजिडेन्ट परिसंवादबाट विशेष कुरा पाठकमा खुलस्त हुने हुँदा यहाँ अरू व्याख्या आवश्यक परोइन।


४२ साल पर्वपछि जंगबहादुरका सन्तानले पाएको हविगत

सम्वत् १९५० साल मिति वैशाख सुदी रोज ५ मा बेहान ११ बजे श्री ५ महाराजाधिराजबाट लाठसाहेबलाई लेखीबक्स्याको खरिता पुर्याउन कर्नेल महाविरसिंग गर्तौला क्षेत्री र मिरमुन्सी लैनमा रजिडेन्ट साहेबले लेफ्टेन्ट कर्णेल वाईली साहेबले कर्णेल महाविरसंग श्री ३ माहाराजबाट रीफ्युजीहरूको वातमा क्याक्या बंदोवस्त भयाको छ भनी मसंग सोधे यो कुरा श्री ३ महाराजसंग गर्न जानलाई म यक फेरा श्री ३ महाराजसाहेबसंग भेट गर्न जानेछु भन्या कुरा गरेछन् र सो कुरा कर्नेल महाविरसीं गढतौला क्षेत्रीले श्री ३ महाराजा वीरशमसेरका हजुरमा आई बीन्ती चढाउदा उसै दिन् बेलुकाको २ बजे श्री ३ महाराजबाट सर्दार बलबान्सिंलाई साथमा ली अघिबाट रजिडन्ट साहेबलाई केही खबर नदी बगीमा सवारी गरी लैन्मा सवारी हुदा कुरा कहानी भयाको :

श्री ३ महाराजबाट हुकुम भयाको रीफ्युजीहरूको बात्मा तपायींबाट कुरा गर्नुछ भनि भर्नुभयो भनि कर्नेल माहावीरले मसंग अर्ज गरे...

रजिडंत साहेबले बोलेको

हो, भाई रसायेबाट मलाई रीफ्युजीहरूको बातमा नेपालबाट क्या बन्दोबस्त भयोको छ. बुझी लेखी पठाउनु भन्या मसंगपछि भेट हुँदा भन्नुभयो. लाठसाहेबबाट सोधनु भयाको अरु कारणले होइन. बीलायत्मा डीगवी र अरु यस्तै मानीसहरूले धेरै इनीहरूका बात्मा यस्तो वंदोवस्त भयाको छ भनि जांन नीमित्त हो...

श्री ३ सर जंगका काहीला माहारानी डंबरजंगका मुमालाई पाल्पामा राखीदीयाको थियो. डंबरजंगलाई पनि तही पाल्पाको नजिकैमा राखेको थियो. डंबरजंग ताहांबाट हीन्दुस्थानतर्फ गयो काहीला माहारानीले पनि हीन्दुस्थानमा रह्याका रीफ्युजीहरूसंग जालसाज बाध्याको जीतजंगका छोरा दलबिक्रमले पाल्पा हांन आउंदा नीज पक्राउ हुंदा निज काहीला माहारानीले जालसाज् बाध्याको कागज् नीकल्दा तिनिलाई तिमीले याहा बस्न हुदैन हीन्दुस्थानमा आफ्ना छोरा भयाका ठाउंमा गै बस भनि पठाई दीयां र कासीमा गै छोरासंग बस्याका थीया पछि छोराले खान लाउनालाई समेत नदी दुख दीदा मलाई साह्रै दुखभयो खानले पनि मरै भनि लेखी पठाउदा तेसो होे भने याहा आउंछौ भन्या आउ म परबरीस् गरुंला भनि पठाई दिदा याहा आयर उनलाई महीनाको रु.४०० ले वर्षको ४८०० दी पाटनमा राखी दियाको छ. यसबाहेक् खानापिनालाई भाडावर्तन् विछ्याउना ईत्यादी यक् थोक् पनि नहुनाले चांदीका भाडावर्तनहरू र अरु सामानहरू गरी ८।९ हजार रुपैया लगाई बनाई राखी दीयाको छ...

रजि– इनि याहा आयोको कति भयो...

श्री ३– ३ वर्षको करिब भयो... सर जंगका अर्का महारानी गोरखपुरी महारानी भन्यालाई अघी सरजंग छंदा उन्लाई वर्षको १० हजार बक्स्याको थियो मैले पनि वहाबाट केही नगरेको हुनाले सोही १० हजार सालीआना थामी दीयाको छ...

सर रणउद्दीपसिंहका कांछा महारानीले मसंग यसपाला बनारसमा भेट हुँदा धोजनरसिंहले अघि खर्चलाई महीनाको २ सै दीयो सो पनि ४ महिनादेखि बंद गरिदियो धोजनरसिंका छोराछोरीहरू र यहाँ मसंगै रह्याको छ। खानैले पनि साह्रै दुख पायां ९ बालखहरूलाई पनि कसो गरी पालुं वासगास पनि केही ठेगाना छैन भन्या कुरा गर्दा उनलाई मैन्हाको ५०० का दरले छ हजार सालीआना घर कींनालाई पनि रु.१० हजार दीयां हेर्नुहोस् साहेब मैले इन्हेरुको चलधन कसैको यक् दाम लियाको छैन। धोजनरसिं याहाबाट जादा नगद जवाहेरात गरी जम्मा २०।३० लाख लग्याका हुन्। ई धन इनि माहारानीका हुन् भन्या धोजनरसिंहले आज इन्हेरुलाई खानाबाट पनि यस्तो गरी मारे उल्टो मसंगबाट रुपैया लीया भनि आजकाल धोजनरसिंहले इनी माहारानीहरूसंग लेखापढि आवतजावतलाई छोडी दीया भन्या सुन्दछु...

रजि– धोजनरसिं ई. महारानीका को हुन्...

श्री ३– माहारानीहरूको संतान नहुदा धोजनरसिलाई धर्मपुत्र गरी राखेका हुन्। धनका मालीक हीसाबले इनै माहारनी हुन् ... सर जंगका जेठा छोरा

जगतजंगका ४ छोराहरूलाई जनहि वर्ष १ को रु.१६०० ले ६४०० दी नीजहरूलाई बस्नालाई ६।७ हजार रुपैया खर्च लगाई घर बनाई पाल्पामा राखी दीयाको छ...
सर जंगका माहिला छोरा जीतजंगका छोरा ४ लाई जेठालाई मैन्हाको १५० अरुलाई ३ जनहि महिन्हाको १०० ले वर्ष १ को ५४०० दी राखीदीयाको छ ई ४ रै जना सडें (द्दे) पट्रीका होइनन्...

रजि– इनीहरू याहां कैले आये...

श्री ३– जेठा चाहि नेपाल आयाको ३ वर्ष करीब भयो. अरु ३ जना यही साल आये... जगतजंगका याहां रह्याका जहानलाई कसैलाई वर्ष १ कै ४०० कसैलाई ६०० गरी जम्मा ६ जनालाई ५ हजार दीयाको छ. इन्हेरु सबै रखेली हुन्. विवाहीता होइनन्...

रजि– इनीहरू यहीं नजीकमा रह्याका हुन् की ...

श्री ३– हुन्. छोराछोरी नभयाका हुनाले यहीं राखी दीयाको छ. छोरा हुनेहरूलाई अलिक फरक गरी राखी दीयाको छ... जगत्जंगका जेठा छोरा जुद्धप्रताप जंगका जाहान् छोरालाई वर्ष १ के ४४०० दी याहांबाट ३ दीनको बाटो पुर्व झागाझोली भन्या ठाउंमा राखी दीयाको छ...

रजि– जुद्ध प्रतापजंग बांचेकै छन् कि...

श्री ३– छैनन्, ति मरे... सर जंगका अर्का छोरा बबरजंगका रानी अघि सर जंग छदैमा बीधुवा भयाकालाई सर जंगबाट वर्षको १० हजार बक्स्याको थियो मैले पनि तीनलाई सोही १० हजार थामी यहां राखी दीयाको छ...

सरजंगका अर्का छोरा वीरजंगलाई वर्षको ४ हजार दीया पाल्पामा राखी दीयाको छ... केदारनरसिंहका मुमालाई पनि केदारनरसिंह केही याद विचार गरी दीयन छ र मलाई तीनीले खानाबाट पनि मरें छोराले मलाई याद विचार केही गरेनन् भनि पठाउंदा तिनलाई महीनाको रु.१०० ले वर्ष १ को १२०० दीयाको छु...

उनका रानीहरूमा १ जना बाटामा आये कलैया पुगेको खबर आयो ४।५ दीन्मा याहां आई पुग्नन्. उनलाई पनि ४०० रुपैया दी राखी दीउंला तर केदारनरसिंका वीवाहीता स्वास्नी हुन्. इनीले केदारनरसिंको दौलथबाट इन्को हीस्सा पाउनु पर्ने हो केदार नरसिंहले उईलमा आफ्ना मुमाको समेत हक मारी आफ्ना रानीहरूलाई पनि संग बसे पाउने नबसे नपाउने गरी लेखी दीयाको छ भन्या सुन्दछु. इन्ले आफु हक पाउंछ पाउदैनन्...

रजि– सायद केदारनरसिंको मुराद उन्हेरु सबै कलकत्तैमा यसै साथ रहुन् भन्या हो की...

श्री ३– उनका बाँकी अरु जाहान सबै बनारसमा आयाका छन््. कलकत्तामा कोही छैनन्...

रजि– यो अरुको कुरा अैले यसै हो भनि भंनुहुदैन. उनका रानी याहा आई पुग्यापछि तपायींबाट उनीसंग सबै कुरा बुझि यस् वात्मा तपायींबाट यउटा याददास्त लेखी पठाउनु होला र म लेखी पठाउंला...

श्री ३– सर जंगका छैठौं भाई कम्याण्डर इनचीफ जगतसमसेर जंगका छोरा भुपेन्द्रजंगलाई महीनाको ५०० ले वर्ष १ को ६००० दीयाको छ. जस्का छोरा धोजनरसिं काहां रह्याको झीकाई पाउं भन्या इनै हुन्...

रजि– ति बालक आयो की...

श्री ३– बाटामा आयाको छ. ३।४ दीन्मा आई पुगला... तिनीहरूलाई मैले दीयाको तपाईबाट प्रश्न मांनु भयो की कसो हो...

रजि– बेस दीनु भयाको छ... तपायींलाई यस पाला दगा गर्नाको मतलब गर्‍याको छ भंन्या कुरामा तपायींबाट विसेस केही खबर पाउनु भयो की...

श्री ३– मलाई २।३ ठाउंबाट लेखी आउंदा सो वेजिनीस् चीठी तपायींलाई देखायाको हो तेसदेखि बाहेक अर्को हालखबर केही छैन. तवरले यो खवर रणबिरजंगहरूले मलाई तर्साउनाका लागि गलवा खवर उठायाको हो की भन्या मेरा चीत्तमा आउंछ...

रजि– यसपाला अरु रीफ्युजीहरूसंग तपायीले कसकससंग भेट भयो. कोही याहां आउंछु भनि दर्खास्त दीय की...

श्री ३– अंवरजंग बनारसमा भेट गर्न आयाको तपायींलाई थाहै छ. अरु कसैसंग भेट भएन...

रजि– जितजंगले आउंछु भन्या भन्या आउन दीनुहंछ की...

श्री ३– तिनी आउंछन् भन्या तिनलाई पनि आउन दींछु. तर तिन्लाई आफ्ना मुलुकको हैसीयत अनुसारको बंदोवस्त गरी राखी दीउंला अघी याहां पाया झैं पाउन सक्दैन...

comments powered by Disqus

रमझम