१७-२३ फागुन २०७१ | 1-7 March 2015

समृद्धिको साँचो

Share:
  
- डम्बरकृष्ण श्रेष्ठ
भैरहवा र पोखरामा निर्माणाधीन क्षेत्रीय विमानस्थलहरूले राजधानीको हवाई चाप घटाए पनि देशको समृद्धिका लागि तीभन्दा ठूला आयोजना जरूरी भइसकेको छ।

डम्बरकृष्ण श्रेष्ठ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल।
एक दशकदेखि विमानहरूको चाप थेग्नै नसकिरहेको राजधानीको ५० वर्ष पुरानो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) विश्वको असुरक्षित एयरपोर्टहरूको सूचीमा छ। भैरहवा र पोखरामा विमानस्थल बनेपछि टीआईएले राहत पाउनेछ। सरकार बारामा देशको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया थाती राखेर भैरहवा र पोखरामा क्षेत्रीय–अन्तर्राष्ट्रिय विमानस्थल बनाउन लागिपरेको छ। करीब रु.३३ अर्बका यी दुई विमानस्थल निर्माणका साथै रु.४ अर्ब लागतमा टीआईएको क्षमता विस्तार पनि गरिंदैछ। संसारभरका बौद्ध धर्मावलम्बीहरूलाई लुम्बिनी नजिक बनाउने भैरहवा र देशकै प्रमुख पर्यटन केन्द्र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्नु आफैंमा महत्वपूर्ण कुरा भए पनि दीर्घकालीन समाधान भने होइन।

बढ्दो हवाई चाप

सन् १९४३ बाट शुरू भएको नेपालको विमान सेवा ७५ वर्षमा विश्वव्यापी बनिसकेको छ। देशको भौगोलिक विकटताका कारण सबैतिर सडक सञ्जाल विस्तार हुन नसक्दा हवाई यातायातले जिल्लाहरूलाई केन्द्रसँग जोड्यो। वैदेशिक रोजगारीमा नेपाली र विश्वभरबाट आउने पर्यटक वृद्धिसँगै नेपालको आन्तरिक र बाह्य दुवै हवाई सेवामा चाप बढेको छ। आन्तरिकतर्फ देशभर ३२ वटा विमानस्थल सञ्चालनमा, १८ वटा बन्द र ६ वटा निर्माणाधीनछन्। राजनीतिक पहुँच र नेताहरूको लहडमा हवाई नीति विपरीत बनेका अधिकांश विमानस्थल बन्द छन्। दुर्गमका कतिपय विमानस्थल चालू अवस्थामा रहे पनि नियमित उडान हुँदैन भने कतिपय विमानस्थल सडक पुगेपछि बन्द भएका छन् (हे. चालू, बन्द र निर्माणाधीन विमानस्थल)। यस्तै, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट सञ्चालन अनुमति तथा प्रमाणपत्र लिएका ५९ वटा वायुसेवा कम्पनीमध्ये १७ वटा सञ्चालनमा छन्।

सन् १९६६ मा पहिलो पटक अन्तर्राष्ट्रिय यात्रु लिएर जेट विमान ओर्लिएको टीआईएमा १९६८ बाट थाई एयरले नियमित सेवा शुरू गरेको थियो। टीआईएमा अहिले साना–ठूला गरी दैनिक ३०० भन्दा बढी विमान आवत–जावत गर्छन्। क्यानको प्रगति विवरण अनुसार, सन् २०१४ को पहिलो १० महीनामा टीआईएबाट २८ लाख ८५ हजार हवाई यात्रुको आवागमन भएको थियो, तीमध्ये ११ लाख ९४ हजार आन्तरिक यात्रु थिए। उपत्यकाको भौगोलिक बनावट र विमानस्थलको सानो आकारका कारण ठूला यात्रुवाहक र कार्गो विमानहरू टीआईएमा ओर्लन सक्दैनन्। अहिले जोडतोडका साथ भइरहेको टीआईए विस्तार बढ्दो स्वदेशी–विदेशी विमानहरूको चाप धान्नलाई नै हो। पाँच वर्षभित्र तयार हुने पोखरा र भैरहवा विमानस्थलले टीआईएको चापलाई मजाले घटाउनेछ। नेपाली समृद्धिको लागि भने बारा विमानस्थल आयोजनालाई नै अघि बढाउनुपर्नेछ।

क्षेत्रीय विमानस्थल

चीनको नर्थ वेष्ट सिभिल एभिएशन एयरपोर्ट कन्स्ट्रक्सन ग्रुपले भैरहवामा बनाइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र टीआईएको क्षमता समान छ। यो विमानस्थलमा नेपाल सरकारले एशियाली विकास ब्याङ्क (एडीबी) को ८५.६ मिलियन डलर लगानी गर्दैछ। गएको १ माघमा प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरेको यो विमानस्थल तीन वर्षभित्र सञ्चालनमा आउने आयोजना निर्देशक मुरारी भण्डारी बताउँछन्। ३ हजार मिटर लम्बाइ र ४५ मिटर चौडाइको धावन मार्ग हुने यो विमानस्थल '४ई क्याटोगरी' को क्षेत्रीय–अन्तर्राष्ट्रिय विमानस्थल हो, जहाँ टीआईएमा जस्तै बोइङ ७७७ र एयरबस ३८० विमानहरू अवतरण हुनेछन्।

शुरुआती चरणमा एक पटकमा ६ वटा ठूला जहाज पार्किङ गर्न मिल्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा इन्स्ट्रूमेन्ट ल्यान्डिङ सिस्टम (आईएलएस) प्रविधि जडान हुनेछ, जुन टीआईएमा छैन। पहिलो चरणमा आन्तरिक ८९ हजार ७४६ र बाह्य ३ लाख २३ हजार ७०७ यात्रु थेग्ने यो विमानस्थलले २०२० सम्ममा त्यसको डेढ गुणा र २०३० सम्ममा २०२० को दोब्बर क्षमता विस्तार गर्ने योजना छ। “शुरूमा प्रति घण्टा आठ आन्तरिक र तीन बाह्य विमान अवतरण हुनेछन्”, परियोजना निर्देशक भण्डारी भन्छन्, “अर्को चरणमा १६ आन्तरिक र चार बाह्य विमान अवतरण हुनेछन्।”

पोखरा विमानस्थल भने भैरहवाको तुलनामा सानो छ। चीनको एक्जिम ब्याङ्कको २१४.६९५ मिलियन डलर (करीब रु.२२ अर्ब) लगानीमा बन्न लागेको २५०० मिटर लम्बाइ र ४५ मिटर चौडाइको धावन मार्ग हुने यो विमानस्थल '४डी क्याटोगरी' को हो। यो विमानस्थल अहिले 'डिजाइन फेज' मै छ। परियोजना प्रबन्धक प्रदीप अधिकारीका अनुसार, विमानस्थल बनेपछि नेपाल वायुसेवा निगमको नयाँ एयरबस ३२० र बोइङ ७५७ विमानहरू अवतरण गर्न सक्नेछन्। यो विमानस्थलमा हरेक घण्टा दुइटा बोइङ ७५७ र तीन वटा एयरबस ३२० सरहका विमान अवतरण हुनेछन्।

टीआईए विस्तार

राजधानीको टीआईएमा सन् १९७२–७६ को गुरुयोजना अनुसार, हालको आन्तरिक उडान क्षेत्रलाई नेपाली सेनाको हवाई विभागसम्म पुर्‍याउने गरी काम भइरहेको छ। अब सेनाको हवाई विभाग विमानस्थलको पूर्वपट्टि सर्नेछ। टीआईएको परियोजना निर्देशक रहिसकेका प्रेमराज लोहनी हरेक पाँच वर्षमा गुरुयोजना पुनरावलोकन गर्नुपर्ने भए पनि हालसम्म तीन पटक मात्र भएको बताउँछन्। त्यो कारण पनि टीआईएलाई चाप थेग्न हम्मे परेको हो। तीन दशकअघि टीआईएमा ऋण लगानी गरेको एडीबीकै अग्रसरतामा अहिले काम अगाडि बढेको छ।

अब टीआईएको धावन मार्ग ३०० मिटर थपिएर ३ हजार ३५० मिटर पुग्नेछ। हालको ९ वटा ठूला जहाजको पार्किङ बढेर १२ वटासम्म अटाउने बन्नेछ। आन्तरिक उडानको पार्किङ क्षमता पनि १८ बाट ४२ पुग्नेछ। एडीबीको साढे ४ अर्ब रुपैयाँ ऋण सहयोगमा विस्तार हुँदै गरेको टीआईएमा रनवे, ट्याक्सी वे, पार्किङ क्षेत्रसँगै अन्तर्राष्ट्रिय टर्मिनल भवन र एक्सेस रोड विस्तार हुँदैछ। २३ हजार स्क्वायर मिटरको अन्तर्राष्ट्रिय टर्मिनल भवन अब ९० हजार स्क्वायर मिटरको हुने विस्तार कार्यमा संलग्न रेसिडेन्स ईन्जीनियर रहेका टीआईएका पूर्व परियोजना निर्देशक लोहनी बताउँछन्। “तर, यो विस्तार अहिलेको साँघुरोपन घटाउन मात्र हो”, लोहनी भन्छन्, “उपत्यकाको एअर स्पेस धेरै साँघुरो भइसकेकोले अबको १० वर्षभित्रै बाराको अन्तर्राष्ट्रिय एयरपोर्ट चाहिन्छ, चाहिन्छ।”

भैरहवामा निर्माणाधीन गौतमबुद्ध विमानस्थलको स्केच।
हिउँदे हुस्सुमा टीआईएमा ओर्लने विमानहरूले राजधानीको आकाशमा दुई घण्टासम्म कुर्नुपर्ने अवस्था छ, अहिले। जम्मा ९ वटा ठूला जहाजले पार्किङ प्याक भएको बेला आउने अर्को जहाज पनि आकाशमै 'होल्ड' हुनुपर्छ। रनवेमा कुनै खराबी आउँदा नजिकै अर्को ठूलो विमानस्थल नहुँदा विमान भारत पुग्नुपर्छ। टीआईए वरिपरिका डाँडाहरूले साँघुरो बनाएको आकाशमा ठूला जहाजहरूलाई 'होल्ड' हुन कठिन हुन्छ। “भौगोलिक र भौतिक हिसाबले टीआईए अन्तर्राष्ट्रिय विमानस्थल होइन”, नेपाल वायुसेवा निगमका पूर्व क्याप्टेन नरेश पुरी भन्छन्, “दिल्लीबाट एक घण्टामा आएको यात्रुले लगेज लिन दुई घण्टा कुर्नुपर्छ।”

टीआईएको स्तरोन्नतिसँगै जापान सरकारको सहयोगमा २५० नटिकल माइल कभर गर्ने इनरुट राडार राखिंदैछ। भट्टेडाँडामा राखिने यो अत्याधुनिक राडारले टीआईएको सन् १९९४ को ६० नटिकल माइल क्षमताको राडारलाई विस्थापित गर्नेछ। १९९२ मा पाकिस्तानी र थाई विमान दुर्घटनापछि जापानकै सहयोगमा टीआईएमा राडार जडान गरिएको थियो। त्यो राडारको आयु पनि सकिएको छ। असार २०७२ सम्ममा नयाँ राडार राखिने बताउँदै क्यानका कम्युनिकेशन नेभिगेशन सर्भिलेन्स डिपार्टमेन्ट (सीएनएस) निर्देशक सूर्यबहादुर थापा भन्छन्, “त्यसपछि नेपालको आकाशमा उडान भर्ने अन्तर्राष्ट्रिय उडानका ९५ प्रतिशत जहाज निगरानीमा आउने छन्।”

विकल्पहीन बारा

सरकारले २०५६ सालमा दुइटा महत्वपूर्ण निर्णय गरेको थियो– बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने र नेपाल वायुसेवा निगममा दुई वटा ठूला जहाज थप्ने। त्यसको डेढ दशकमा एउटा नयाँ जहाज आएको छ भने विमानस्थल निर्माणको योजना थन्किएको छ। कोरियन कम्पनी ल्याण्डमार्क वर्ल्ड वाइड (एलएमडब्ल्यु) ले चार वर्षअघि रु.२६ करोडमा सम्भाव्यता अध्ययन र डिजाइन गरेको आयोजना सिंहदरबारमा थन्किएको हो। सरकारले आयोजना क्षेत्रका बासिन्दालाई अन्यत्र सारेर निर्माणको जिम्मा दिए २०१६ भित्र विमानस्थल सञ्चालनमा ल्याउने एलएमडब्ल्युले जनाएको थियो। १ अर्ब ६० करोड डलर निर्माण खर्च उठाउन ६ वर्ष विमानस्थल सञ्चालन गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्ने एलएमडब्ल्युको प्रस्ताव थियो।

टीआईएको एयर ट्राफिक कन्ट्रोल (एटीसी) ले २४ घण्टा अप्रेसन सञ्चालन गर्न नसकिरहेको र नेपाल आउन चाहेका विमान कम्पनीहरूलाई पार्किङ समस्याले रोकिरहेकोले निजगढ विमानस्थललाई राम्रो समाधान मानिएको छ। पूर्व–पश्चिम धावन मार्ग रहने यो विमानस्थल 'हिमालयन २' (हे.बक्स) हवाई रुट अन्तर्गत दक्षिण एशियाकै 'हब' हुने जानकारहरू बताउँछन्। तराईलाई राजधानीसँग जोड्ने ७५ किलोमीटर लामो 'एक्सप्रेस वे' को अर्को छेउ निजगढ नै हुने भएकोले पनि नेपालको सामाजिक–आर्थिक रूपान्तरणमा यो विमानस्थल मह140वपूर्ण हुने उनीहरूको भनाइ छ। ८० वर्ग किलोमीटरमा बन्ने निजगढ विमानस्थलमा एक पटकमा १५ वटा बोइङ ७४७, ठूला एयरबस र दुई वटा कार्गो हवाईजहाज पार्किङ गर्न सक्नेछन्। साढे ३ किलोमिटरको धावनमार्ग हुने विमानस्थलमा त्यति नै लामो 'ट्याक्सी वे', ५८ हजार वर्गफिटको यात्रु टर्मिनल र ३४ हजार वर्गफिटको कार्गो टर्मिनल रहनेछ।

टीआईएभन्दा पाँच गुणा ठूलो यो विमानस्थलले शुरुआतमै वार्षिक डेढ करोड यात्रु ओहोर–दोहोर गराउनेछ। क्षमता वृद्धि गर्ने प्रशस्त क्षेत्रफल रहेकाले धावन मार्ग थपेर वार्षिक ६ करोड यात्रुको चाप थेग्न सक्ने बनाउन सकिनेछ। वरिपरि डाँडाका कारण टीआईएमा प्रयोग गर्न नसकिने इन्स्ट्रूमेन्ट ल्यान्डिङ सिस्टम (आईएलएस) निजगढमा उपयोग हुनेछ। यो विमानस्थलमा यूरोप–अमेरिकाबाट उडेका ठूला जहाजहरू ओर्लन सक्नेछन्। पूर्व–पश्चिम उड्ने जहाजहरूका लागि यो विमानस्थलले आकस्मिक अवतरणको सुविधा त दिने नै छ, सँगसँगै ट्राञ्जिट, इन्धन भर्ने र मर्मतसम्भार तथा पार्किङस्थल पनि हुनेछ।

नेपाललाई अन्तर्राष्ट्रिय हवाई नेटवर्कमा पार्ने यो विमानस्थलका लागि सरकारले न्यायोचित ढंगले बस्ती खाली गराए पुग्थ्यो। आयोजना स्थल (डुमरवानाको टाँगिया बस्ती, मटियानी र काटघाट गाउँ)का बासिन्दा पुनर्वासका लागि तयार भएर बसेको पाँच वर्ष भइसक्यो। नागरिक उड्डयन प्राधिकरणका उप–निर्देशक धर्मेन्द्र पाण्डे संयोजक रहेको वार्ता समितिले २०६७ को वैशाख र असारमा स्थानीयसँग मुआब्जा लगायतको विषयमा गरेको छलफल पनि सकारात्मक थियो।


'हिमालयन २' को पर्खाइ

बाराको निजगढमा बन्ने अन्तर्राष्ट्रिय विमानस्थल र शहरको डमी ।
हाल सञ्चालित काठमाडौं–दिल्ली हवाई रुट 'एल ६२६' नेपाल–कुनमिङ–हङकङ मार्ग थपिंदा बन्ने सीधा मार्ग हो– 'हिमालयन २'। सन् २००१ बाटै छलफल शुरु भएर अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओ) को विश्व हवाईमार्ग सञ्जालमा तोकिसकिएको यो रुट नेपालमा पूर्वाधार र सरकारी पहल नहुँदा कार्यान्वयन भएको छैन। यो रुट सञ्चालनमा आउनासाथ नेपाल अन्तर्राष्ट्रिय हवाईमार्गमा 'ट्राञ्जिट' को रुपमा स्थापित हुने नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरू बताउँछन्। उनीहरूका अनुसार, निकै ठूलो सम्भावना बोकेको यो रुटले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल पर्खेर बसेको छ।

'हिमालयन २' लाई टीआईएको क्षमताले नथेग्ने हुँदा निजगढ विमानस्थल चाहिन्छ। 'हिमालयन २' र निजगढ विमानस्थल प्राविधिक लगायतका कारणले नजोडिए पनि नेपालको आकाश भएर उड्ने विमानहरूलाई पार्किङ र इन्धनदेखि मर्मतसम्मको सुविधा उपलब्ध गराएर फाइदा लिन सकिन्छ। तीन वर्षअघि ब्याङ्कक्मा भएको दक्षिण एशियाली हवाई रुट पुनरावलोकन बैठकमा चीन र हङकङले 'हिमालयन २' संचालनमा चासो राखेको प्राधिकरणका तत्कालीन उप–महानिर्देशक त्रिरत्न मानन्धर बताउँछन्। बैठकमा नेपालको प्रतिनिधित्व गरेका मानन्धर भन्छन्, “हिमालयन २ नेपालको समृद्धिसँग जोडिएको विषय हो।”

यूरोप–अमेरिकाबाट आएका विमानहरू दिल्ली र कोलकाताको आकाश भएर चीनको कुनमिङ र हङकङ जान्छन्। 'हिमालयन २' सुचारु हुनासाथ ती जहाजहरू महेन्द्रनगरबाट नेपालको आकाशबाट प्रवेश गरेर भारतको बागडोगरा हुँदै कुनमिङ, हङकङ पुग्छन्। यो हवाईमार्गले ११४ नटिकल माइल दूरी (१५ मिनेट) कम गर्ने, हरेक हप्ता १ हजार ८१४ किलो इन्धन बचत गर्ने र प्रति उडान ५ हजार ७०० किलो कार्बन घटाउनेछ। 'हिमालयन २' मार्ग प्रयोग गरेर कुनमिङबाट दिल्ली आउँदा हालको भन्दा ५७ नटिकल माइल (७ मिनेट) कम हुने, प्रति उडान ९१२ किलो इन्धन बचत हुने र २ हजार ८५० किलो कार्बन घटाउने अध्ययनहरूले देखाएका छन्। अन्तर्राष्ट्रिय विमान कम्पनीहरू मनोरम हिमश्रृंखलामाथिको यो रुटमा इच्छुक छन्।

यो रुट चले नेपालले आफ्नो आकाशमा उड्ने विमानहरूले तिर्ने कम्युनिकेशन एण्ड नेभिगेशन चार्ज बापत नै करोडौं आम्दानी गर्नेछ। नेपाल वायुसेवा निगमले काठमाडौं–हङकङ उडानमा ३० मिनेट बंगलादेशको आकाश प्रयोग गरेबापत प्रति उडान ३०० डलर तिर्दै आएको छ। 'हिमालयन २' अन्तर्गत मेची–महाकालीको आकाश छिचोल्दा विदेशी विमानहरूले प्रति उडान ५०० डलरसम्म बुझाउनुपर्छ। अहिले वर्षमा बढीमा १० वटा विमानले नेपाललाई यस्तो रकम तिरिरहेका छन्। 'हिमालयन २' शुरु भए दैनिक २० वटासम्म उडान हुन्छ। विदेशी यात्रुवाहक विमान काठमाडौं आउने बाहेक अरु हवाई रुट छैन। हिमाल नाघेर ल्हासा जाने रुट बी ३४६ कायम रहे पनि यसमा यदाकदा चार्टर्ड उडान मात्र हुन्छ।

'हिमालयन २' रुट सुचारु हुँदा र निजगढ विमानस्थल बन्दा नेपाली आकाश प्रयोगसँगै अन्तर्राष्ट्रिय विमानहरूले नेपालमा 'ट्राञ्जिट' सुविधा लिने सम्भावना पनि छँदैछ।

comments powered by Disqus

रमझम