१७-२३ फागुन २०७१ | 1-7 March 2015

बाह्रैमास बेहाल

Share:
  
कमजोर व्यवस्थापनले बदनाम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल देशकै छविमा दाग बन्दैछ।

१४ फागुनको बिहानैदेखि वर्षा हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अस्तव्यस्त बन्यो। बाक्लो हुस्सुले आकाश ढाक्दा विमानहरूलाई उड्न, अवतरण गर्न गाह्रो पर्‍यो।

मुश्किलले अवतरण गरेकाहरूले पार्किङ गर्ने ठाउँ पाएनन्। वर्षा नहुँदा पनि यस्तै अस्तव्यस्त रहन्छ, देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल। यो कति साँघुरो छ भने तीन ठूला विमान अवतरण हुनेबित्तिकै अरूलाई पार्किङस्थल नै पुग्दैन, 'होल्ड' हुन आकाशमा चक्कर मारिरहनुपर्छ।

समस्या अनेकौं छन्। अध्यागमन झ्ञ्झ्टिलो छ। शौचालय फोहोर छ। ट्रली पनि पुग्दो छैनन्। लगेज बेल्ट बिग्रिरहन्छ। सामानहरू टुट्छन्, फुट्छन्, हराउँछन्। नागरिक उड्डयन प्राधिकरणको सुधार प्रयास अपर्याप्त छ। यस्तै भए पनि यो महङ्गो विमानस्थलमा दरिएको छ। यसको एउटा कारण नेपाल वायुसेवा निगमले थाई एअरवेज र इन्डियन एअरलाइन्स बाहेक अरू सबै विमान कम्पनीको 'ग्राउन्ड ह्यान्डलिङ' गर्नु पनि हो। काठमाडौंमा भरिने इन्धन शुल्क पनि महङ्गो छ। यो मूल्य विमान कम्पनीहरूले तिर्छन्, तर त्यसको भार यात्रीकै थाप्लोमा पर्छ।

'गाइड टु स्लिपिङ इन एअरपोर्टस्' वेबसाइटको वार्षिक सर्वेक्षणमा यो वर्ष काठमाडौं विमानस्थल संसारकै झूर विमानस्थलको सूचीको तेस्रो नम्बरमा पर्‍यो। यात्रा सम्बन्धी सूचनाहरू उपलब्ध गराउने यो वेबसाइटले आराम, सुविधा, सफाई र ग्राहक सेवाको आधारमा संसारका उत्कृष्ट र खत्तम विमानस्थलको सूची सार्वजनिक गर्छ।

त्रिभुवन विमानस्थलको अध्यागमनलाई सबभन्दा पीडादायी प्रक्रिया मानिन्छ। यात्रीहरू घण्टौं लाइनमा बस्नुपर्छ। अध्यागमन कर्मचारीहरूको अशिष्टता र रूखोपन यात्रुले कहिल्यै नबिर्सिने खालको हुन्छ। राति नौ बजे काठमाडौं ओर्लिएको आफ्ना विदेशी पाहुनाहरू विमानस्थल बाहिर निक्लिंदा साढे १२ बजेको पर्यटन व्यवसायी रामकुमार गुरुङले बताए। अध्यागमन कर्मचारीहरू सानोभन्दा सानो निहुँ निकालेर रोक्ने, उल्ल्याउने, धम्क्याउने र सके पैसा असुल्ने ताकमा रहने यात्रीहरूको गुनासो हुन्छ। “यात्रुले केही सोधे राम्ररी उत्तर दिंदैनन्, उनीहरूले सोध्न परे अशिष्ट ढंगले प्रस्तुत हुन्छन्”, काठमाडौंस्थित एउटा अन्तर्राष्ट्रिय गैससमा कार्यरत एक जना स्वीस नागरिक भन्छन्।

यात्री प्रतीक्षालय र विमान पार्किङस्थल साँघुरो हुनु अर्को ठूलो समस्या हो। २५ वर्षअघिको आवश्यकतामा बनाइएको यो विमानस्थलमा अहिले वार्षिक ३२ लाखभन्दा बढी यात्री र २४ हजार विमान ओहोर–दोहोर गर्छन्। सुधार–विस्तार भने भएकै छैन भन्दा हुन्छ। “शौचालय सफा राख्न, ट्रली संख्या बढाउन र लगेज बेल्ट चुस्त राख्न त सकिन्छ नि!” पर्यटन व्यवसायी गुरुङ भन्छन्, “तर, त्यत्ति काम पनि भएको छैन। पर्यटकहरू हाम्रो विमानस्थलको हालत देखेर खिन्न हुन्छन्, यसबाट देशकै बेइज्जती भइरहेको छ।”

विमानस्थल प्रशासनका महाप्रबन्धक वीरेन्द्र श्रेष्ठ भने सुधारका धेरै प्रयास भइरहेको बताउँछन्। उनका अनुसार, केही महीनायता अझ् बढी सरसफाईकर्मी परिचालन भएका छन्। तर, भनेर के गर्नु, देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको हालत जो कोहीले दिनदिनै देखेकै छन्, सयौं विदेशीले पनि। एशियाली विकास ब्याङ्क (एडीबी) को सहयोगमा विमानस्थल विस्तार परियोजना भने चलेको छ, जसअन्तर्गत अबको दुई वर्षभित्र धावनमार्ग र अध्यागमन क्षेत्र फराकिलो हुनेछ। “विमानस्थल प्रशासन आफैंले पनि तीनवटा 'पार्किङ वे' बनाउन छिट्टै टेन्डर आह्वान गर्दैछौं”, महाप्रबन्धक श्रेष्ठ भन्छन्।

तर, जुन गतिले यात्री र विमानको चाप बढ्दैछ, तीन वटा 'पार्किङ वे' पर्याप्त हुने छैन। अर्कोतर्फ, एडीबीको परियोजना पनि अपेक्षाकृत अघि बढ्नसकेको छैन। यसले विमानस्थलको अस्तव्यस्तता दूर नहुने देखाउँछ। त्यसको सबै दोष नागरिक उड्डयन प्राधिकरणको थाप्लोमा थोपर्न नमिल्ने विमानस्थल प्रशासनका महाप्रबन्धक श्रेष्ठ बताउँछन्। यो विमानस्थलमा २३६ वटा सरोकारवाला संस्था भएको उनले सम्झाए। काठमाडौं विमानस्थललाई खराब एअरपोर्टहरूको सूचीमा राखिएकोमा पनि उनको चित्त बुझेको छैन। “दोहा, दिल्ली र हङकङ जस्ता ट्रान्जिट एअरपोर्टलाई हेरेर त्यो सूची बनाइएको छ”, श्रेष्ठ भन्छन्, “हाम्रो त ट्रान्जिट एअरपोर्ट होइन नि!”

तर, यस्तो तर्कले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई असल प्रमाणित गरेर खराब सूचीबाट निकाल्न सक्दैन। यसलाई राम्रो पारेर देशको छवि पनि सुधार्न त काम नै गर्नुपर्ने हुन्छ। त्यसका लागि आयोजना अगाडि बढाउँदै पर्यटन व्यवसायी गुरुङले भनेझैं शौचालय सफा राख्नु, ट्रली थप्नु, लगेज बेल्ट चुस्त राख्नु अनि शिष्ट व्यवहार गर्नु त पर्छ नै।

ओमआस्था राई

comments powered by Disqus

रमझम