सन् १९६७ तिर बेलायतका एल विलियम्स र जे स्टेन्टनले पूर्वको धरान क्षेत्रबाट वनस्पतिका थुप्रै नमूना संकलन गरेका थिए। तिनैमध्येको एकलाई १९७२ मा जापानका हिरोसी हाराले 'न्यु टु साइन्स' भनी जर्नलमा छपाए। ८ देखि २२ सेन्टिमिटरसम्म अग्लो हुने उक्त वनस्पतिले 'बेगोनिया मिनिकार्पा' नाम पायो। नेपालमा सर्वप्रथम वनस्पति संकलन गर्ने इष्ट इन्डिया कम्पनीका प्रतिनिधि बुखानन् ह्यामिल्टनले पनि १८१० मा मोरङबाट 'बेगोनिया मिनिकार्पा' को नमूना संकलन गरेका थिए। अहिले ती नमूना लण्डन र स्कटल्याण्डका रोयल बोटानिकल गार्डेनमा संग्रहित छन्।
नेपालको रैथाने वनस्पति 'बेगोनिया मिनिकार्पा' अहिले अस्तित्वमा छ/छैन, पत्तो छैन। वनस्पति विभागले फागुन पहिलो साता निकालेको 'क्याटलग अफ् नेप्लिज फ्लावरिङ प्लान्टस् सप्लिमेन्ट–१' पुस्तकमा यसको हर्बेरियम तस्वीरसम्म हेर्न पाइन्छ। पुस्तकमा ५६० प्रजातिका वनस्पतिका परिचय सहित हर्बेरियम तस्वीरहरू छन्। केशवराज राजभण्डारी, गंगादत्त भट्ट, रिता क्षेत्री र सञ्जिवकुमार राईले तयार गरेको पुस्तक राष्ट्रिय हर्बेरियम तथा वनस्पति प्रयोगशालाको हर्बेरियम हाउसमा संग्रहित वनस्पतिका नमूनामा आधारित छ। यसअघि २०१०–१२ मा 'क्याटलग अफ नेप्लिज फ्लावरिङ प्लान्टस्' को तीन भाग प्रकाशित भएका थिए, तर विना हर्बेरियमका।
अनुसन्धानका क्रममा १९ प्रजाति र एक भेराइटीका फूल फुल्ने नयाँ वनस्पति पत्ता लागेको किताबमा उल्लेख छ। लेखकहरू इमानदार नभएको भए उनीहरूले यसबारे विभिन्न जर्नलमा २० वटा छुट्टै लेख छपाउन सक्थे। नेपालका फूल फुल्ने ३०० जति रैथाने वनस्पतिमध्ये १२७ प्रजातिको नमूना प्रयोगशालामा सुरक्षित रहेको लेखकहरूले खुलाएका छन्।
बोटानिकल गार्डेन र हर्बेरियम स्पेसीमेन हुनुलाई गौरवको विषय मानिन्छ। यस्तो गर्व गर्ने देशमा बेलायत अग्रपंक्तिमा छ। लण्डनको रोयल बोटानिकल गार्डेनमा नेपालका भीरपाखामा फुल्ने थुप्रै फूल राखिएका छन्। सन् २००५ मा यो पंक्तिकार त्यहाँ पुग्दा संसारभरका २०० प्रजातिका गुराँस एकै ठाउँमा फुलेका थिए।
ह्यामिल्टनले काठमाडौं उपत्यकाबाट संकलन गरेका नमूनाहरू पनि त्यहाँ छन्।
हाम्रो राष्ट्रिय प्रयोगशालामा भने एक लाख भन्दा बढी हर्बेरियम स्पेसीमेन अनुसन्धानकर्ताको अनुहारै नदेखी कुहिंदैछन्। हर्बेरियम व्यवस्थापनमा वन मन्त्रालयको चाख देखिएको छैन। यस्तो अवस्थामा आएको वनस्पति विभागको यो प्रकाशन आफैंमा महत्वपूर्ण छ। हर्बेरियमका रंगीन तस्वीरहरूले पुस्तकलाई महत्वपूर्ण बनाएको छ, तर ती यति साना छन् कि लेबल पढ्न पनि मुश्किल पर्छ। एक पृष्ठमा चारवटासम्म तस्वीर खाँदिएका छन्। यत्रो किताब निकाल्दा दुई–चार पेज कागज जोगाउने कन्जुस्याइँ नदेखाएको भए जाती हुन्थ्यो।
कमल मादेन