१७-२३ फागुन २०७१ | 1-7 March 2015

हुसेन रंग अभिनयको

Share:
  
क्षेत्रमा मुस्लिम समुदायकै प्रतिनिधि मोहम्मद नाजिर हुसेन (२३) नेपाली रंगमञ्चका आशलाग्दा प्रतिभा हुन्।

प्रहरी सेवामा रहेकी दिदीको प्रेरणाले ६ वर्ष पहिले बाराको डुमरवानाबाट नृत्यको 'अडिसन' दिन काठमाडौं टेकेका मोहम्मद नाजिर हुसेन अन्य थुप्रै युवा जस्तै राजधानीमै भासिए। तर, उनी नृत्य होइन, अभिनयको संसारमा छन्।

१४ फागुनमा अनामनगरस्थित मण्डला नाटकघरमा भेटिएका हुसेन हतारमा थिए। कारण, उनको शीर्ष भूमिका रहेको नाटक माथा पञ्चर शुरु हुनै लागेको थियो।

त्यसो त डिग्री माइला, चरणदास चोर, स्वप्नमहल, सुनकेशरी, मीतज्यू, जम्पिङ फ्रग जस्ता नाटकमा पनि हुसेनले आफ्नो अभिनय क्षमता देखाइसकेका छन्। चलचित्र जंगे, होस्टेल रिटर्न्स र पुन्टे परेड मा पनि उनलाई देख्न सकिन्छ। तर, हुसेनको मोह भने नाटकमै छ। दुई वर्ष पहिले डिग्री माइला हेरेका दर्शकले काठमाडौं मलमा अटोग्राफ मागेको क्षण उनका लागि बिर्सिनसक्नु बनेको छ। उनी भन्छन्, “दर्शकलाई प्रत्यक्ष अभिनय देखाउन पाउँदाको मज्जा नै बेग्लै छ।” यसबाहेक उनले विभिन्न कलेजमा अभिनय र नृत्य सिकाउँदै आइरहेका छन्।

संयोग पनि कस्तो, राजन खतिवडाकै निर्देशनमा माथा पञ्चर खेलिरहेका हुसेन कक्षा ६ मा पढिरहेका बेला नै खतिवडाको एकहप्ते नाटक कार्यशालामा सहभागी भएका रहेछन्। अहिलेसम्म खतिवडाकै संगतमा रहेका हुसेन मण्डला नाटकघरका सञ्चालकमध्येकै एक हुन्।

“शारीरिक बनावट, हाउभाउ र लचकता नाजिरको सबल पक्ष हो। संवादमा थोरै मिहिनेत गर्ने हो भने लामो दूरीको घोडा बन्नबाट उनलाई कसैले रोक्न सक्दैन”, सुनकेशरी का समेत निर्देशक रहेका खतिवडा भन्छन्।

सन्त गाहा मगर

comments powered by Disqus

रमझम