८-१४ चैत २०७१ | 22-28 March 2015

कुपोषित महानगर

Share:
  
- अरुणा उप्रेती
महानगरभित्र थुप्रै जोगलक्ष्मी छन्, जसको समाचार कहिल्यै आएको छैन। सरकारलाई पनि उनीहरूको खोजी र उपचार गर्ने फुर्सद छैन।

गतांकको हिमाल मा प्रकाशित 'महानगरमा भोक' समाचारको शीर्षक 'महानगरमा कुपोषण' हुनुपर्ने हो। समाचारमा अनुत्तरित थुप्रै कुरा छन्। जस्तो कि, जोगलक्ष्मीका गरीब आमाबुवा घरमा भात, दाल खान्छन् कि चाउचाउ, चिजबल? जोगलक्ष्मीलाई पोषण पुनर्स्थापना केन्द्रबाट क्षयरोग भएकै कारण निकालिएको हो वा औषधि नपाएर? एउटै घरको खाना खाँदा पनि जोगलक्ष्मीका भाइहरूमा किन कुपोषण देखिएन, कतै खानामा विभेद पो थियो कि!

दयालु डाक्टरले जन्मदिनमा केक दिनुप्रति पनि आलोचना गर्ने भनेर पाठकले उल्टै मलाई गाली गर्नुहोला। तर, डाक्टरले दाँत बिगार्ने केक दिनुको साटो फलफूल वा रोटी, सेल, मालपुवा दिएको भए क्षयरोग हुँदा केक होइन, सस्तो र सहजै पाइने फलफूल नै उपयुक्त हुने रहेछ भन्ने सन्देश जानेथियो। यस्ता व्यक्तिलाई पोषणयुक्त खाना दाल, रोटी, भात, खिचडी, दूध, दही, अण्डा, चिज खुवाउनुपर्छ भन्ने कुरा हामीले कहिले बुझने?

मासिक रु.११ हजार ५०० मा काठमाडौमा परिवार पाल्नु गाह्रो कुरा हो। तर, भोकको कारणले मात्र जोगलक्ष्मीलाई कुपोषण भएको हो कि फोहोर पानी, फोहोर चर्पी, जुका र प्याकेटका 'मन्द विष' खानेकुराका कारण उनी बिरामी भएकी हुन्? उनकी आमा निरमायालाई पनि शायद क्षयरोग वा फोक्सोमा दाग देखिएकाले मलेशियाबाट फर्काएको त होइन? छलफल गर्नुपर्छ।

पोषण पुनर्स्थापना केन्द्रमा चार दिनसम्म कुनै भिटामिन वा औषधि नभई भात, दाल, तरकारी, रोटी, दूध, हरिया सागपात खाएर जोगलक्ष्मी तंग्रिएकी हुन्। त्यही खानेकुरा घरमा पनि दिन सकिन्छ। कान्ति बाल अस्पतालमा पुर्‍याइएकी जोगलक्ष्मीलाई क्षयरोगको औषधि नदिएर किन घर पठाइयो? पोषण पुनर्स्थापना केन्द्रका प्रबन्धकले यति कुरा किन बुझेनन्?

केही वर्षअघि नेपालगंजको पोषण पुनर्स्थापना केन्द्रमा यस्तै अवस्थाकी किशोरी जमुना बुढा (हे. तस्वीर) भर्ना भएकी थिइन्। उनलाई पनि सुनाकोठीकै पुनर्स्थापना केन्द्रमा पठाइएको थियो। किशोरी सुनाकोठीमा बसेपछि केही तंग्रिन्। र, आमा आएर छोरी लिएर गइन्। पछि थाहा भयो ती छोरीले असमयमै मृत्यु भोग्नुपर्‍यो।

महानगरकी एक बालिका क्षयरोगले थला परिरहँदा क्षयरोग निवारण गर्ने संस्थाको प्रगति सोध्न मन लागेको छ।

क्षयरोगका कीटाणु सबैतिर छन्। तर, जब शरीरको रोगसँग लड्ने शक्ति कम हुन्छ तब क्षयरोगका कीटाणुले आक्रमण गर्छ। अहिले क्षयरोग निको पार्ने प्रभावकारी उपचार पद्धति उपलब्ध छ। वीर अस्पतालको ढोका नजिकै 'म क्षयरोग रोक्न प्रतिबद्ध छु' भनेर ठूला ठूला मानिसका फोटा टाँसिएका बोर्ड छन्। तर, यस्ता अस्पतालमा मान्छे नचिनेकै भरमा जोगलक्ष्मी जस्ताको उपचार हुन सकेन।

जोगलक्ष्मीको पीडा पत्रिकामा छापिएपछि शायद उनको परिवारको खोजखबर होला, मायालु मन भएकाहरूले खान देलान्, स्वास्थ्य मन्त्रालय र कान्ति अस्पतालले उपचार गराइदेला, तर समस्या अझ्ै बाँकी नै हुनेछ। महानगरमा यस्ता थुप्रै जोगलक्ष्मी छन् जसको समाचार आएकै छैन। कुपोषण त महानगरभरि छ। सुकुम्बासी बस्ती र नदी किनाराका झ्ुपडी कुपोषणका घर नै हुन्।

फेरि पनि मेरो आग्रह चाहिं बालबालिकालाई चिसो पेय, सर्बत, केक, बिस्कुट, चाउचाउ, चिजबल होइन कि घरमै पाकेको दाल, भात ख्वाइयोस् भन्ने हो। यसो गर्न नसके थुप्रै जोगलक्ष्मी कुपोषित भइरहने छन्।

comments powered by Disqus

रमझम