८-१४ चैत २०७१ | 22-28 March 2015

चिया पकाउन आदेश छैन

Share:
  
- मोहन मैनाली

तस्वीरमा देखिएको वारिको भाग मुगुको सुकाढिक हो भने पारि हरियो देखिएको बारी बाजुरा हो। बीचमा कर्णाली नदी।
२०६१ जेठ, सुकाढिक, मुगु।

पार्टीको निर्णय आइपुग्न चार घन्टा लाग्छ भनेका थिए हामीलाई पक्रने माओवादीले। यो समय बिताउन हामीसँग खासै काम लाग्ने उपाय थिएनन्। चौतारामा जताततै बरका जरा थिए। त्यहाँ सुत्न अथवा अलि आरामसँग ढल्कन सकिंदैनथ्यो।

अघि माओवादी गाउँमा नआएसम्म खुलेर बोल्ने गाउँले हामीसँग बोल्न डराएका थिए। हामीले आफूसँग लगेको हिमाल खबरपत्रिका निकालेर पढे जस्तो गर्‍यौं। गाउँलेहरू नजिक आए। पत्रिका पढ्न रहर गरे। हामीलाई पनि उनीहरूले पत्रिका पढेको हेर्ने रहर लाग्यो।

'हे भाइ! कत्थो (कस्तो) मान्छे निकाल्या (छापेको)?' हिमाल को बाहिरी भागमा छापिएको फोटो देखेर एकजना चकित भए।

'अर्काे प्रधानमन्त्री हो', जवाफ पनि उनीहरू मध्येकै एकले दिए।

'तेत्ता (त्यस्ता) आँखा हुँदा हुन्!' अर्काले आश्चर्य प्रकट गरे।

त्यो फोटो राजा ज्ञानेन्द्रको थियो। (हे. तस्वीर) निकै क्लोजअप फोटो ड्याम्म एक पेजभरि छापिएकाले त्यो फोटो अलि अस्वाभाविक जस्तो लाग्थ्यो। ज्ञानेन्द्रका आँखा ती मान्छेले भने जस्तै अनौठा देखिएका थिए।

हिमाल को त्यस अंकमा राजाका बारेमा छोटो आलोचनात्मक टिप्पणी छापिएको थियो। पत्रिका हेर्न झ्ाुरुम्म भएका मानिसले कनिकुथी गरेर मीठो मान्दै त्यो लेख पढिसिध्याउँदा आधा घन्टा बित्यो।

पत्रिका पढ्न दिएको गुन तिर्न होला, एकजना गाउँलेले छेउको होटलवालालाई हामीलाई चिया बनाइदिन अह्राए। हामी चिया पर्खेर बस्यौं। आधा घन्टापछि होटलवाला 'चिनी छैन' भन्ने खबर लिएर आए। हामीले 'चिनीविनाकै चिया पकाइदिनुस् न' भन्यौं। त्यसको आधा घन्टापछि उनी हामी भएठाउँ आए तर रित्तोहात।

'तपाईंहरूलाई चिया दिंदा साथीहरू (माओवादी) ले के भन्लान्?' उनले भने।
उनको ज्यान खतरामा पारेर हामीलाई चिया खान मन थिएन। चिया खान नपाए पनि हामीले त्यसको पर्खाइमा एक घन्टा बिताउन पाएका थियौं। त्यही ठूलो कुरा भएको थियो।

गाउँमा बसेर हाम्रो चियो गरिरहेकी युवती बेलुका पाँच बजेतिर हामीलाई राखेको चौतारोमा आइपुगिन्। उनका साथमा तीन जना बन्दूक बोकेका र एकजना सकेट बम बोकेका मानिस पनि थिए।

'अब जाऊँ कमरेडहरू, रातापानी', उनले भनिन्।

साढे चार घन्टाको पट्यारलाग्दो बसाइपछि हामीले रातापानी जाने अनुमति पाएछौं। तर स्वतन्त्र रूपमा होइन, उनीहरूको कडा निगरानीमा। बन्दी जस्तो भएर।

हामीलाई कडा पहरामा राख्नेमध्ये सबै जना केही महीनाअघि म्याग्दी सदरमुकाम बेनीमा आक्रमण गर्न गएका रहेछन्। तयारी गर्न, लडाइँ लड्न र त्यहाँबाट फर्कन उनीहरूलाई तीन महीना लागेछ। उनीहरूले स्वाद मानीमानी लडाइँको वर्णन गरे।

२०६० साल चैत ७ गते राति साढे १० बजे माओवादीका पाँच हजार मानिसले बेनीमा आक्रमण गरेका थिए। त्यस कामको नेतृत्व नन्दकिशोर पुन (पासाङ) ले गरेका थिए। त्यस रात उनीहरूले ३३ जना सैनिक, १८ जना प्रहरी र १५ जना निहत्था बजारवासीलाई मारे। आफ्ना ४० जना मान्छे मराए। घाइते कति हो टुंगो थिएन। उनीहरूले त्यहाँका प्रमुख जिल्ला अधिकारीलाई अपहरण गरेर लगेका थिए।

'म्याग्दीमा हामीले जित्यौं। तर विजय उत्सव मनाउन नपाउँदै भाग्नुपर्‍यो। यस्तो जिताइ पनि जिताइ हुन्छ?' एकजनाले भने।

लडाइँको जित क्षणिक भए पनि त्यहाँ लागेको गोली सबैका शरीरमा स्थायी रूपमा बसेका थिए।

'यहाँ, देब्रे कुममुनि गोलीले छेडेको छ', एकजनाले देखायो।

सुकाढिकबाट हिंडेको आधा घन्टा जतिमा हामी आम गाउँभन्दा अलि अघि पुगेका थियौं। आधा घन्टाअघि हामीलाई रातापानी जाने अनुमति आयो भनेर जुन युवतीले भनेकी थिइन्, तिनले हामीलाई रोकिन्।

'आज आमगाउँमै बस्नुपर्ने भयो', उनले भनिन्।

सुकाढिकबाट हिंडेयता ती युवतीले अरू कोही मानिस भेटेकी थिइनन्। उनीसँग सञ्चारका कुनै साधन थिएनन्। त्यसैले हामीलाई आमगाउँ बसाउने निर्देशन उनले भर्खर मात्र पाएकी होइनन्। त्यसैले, रातापानीतिर डोर्‍याइएका हामीलाई अचानक आमगाउँमा किन बसाउनुपर्‍यो भन्ने कुरा हामीले बुझ्न सकेका थिएनौं। तर त्यसपछिका घटनाले सबै कुरा प्रष्ट पारे।

ती युवतीले हामीलाई रातापानी जाऊँ भनेर नाटक गरेकी रहिछन्। हामीलाई सुकाढिकमा बन्दी बनाएको भए हामी त्यहाँबाट भाग्न सक्ने ठानेर उनले अलि कुनाको गाउँमा ल्याएकी रहिछन्।

अघिल्लो नाटक सकिएपछि अर्को नाटक शुरु भयो।

माओवादीले आमगाउँमा हाम्रो परिचयपत्र हेर्न थाले। हामीले दिउँसो सुकाढिकछेउ माओवादीलाई देखाएको परिचयपत्र फेरि देखायौं।

'तपाईंहरू प्रहरीको पत्रकार हो?' एकजनाले सोध्यो।

'प्रहरीको पनि पत्रकार हुन्छ?' हामीले जवाफ दियौं।

धनगढी पोस्टका संवाददाता प्रकाशविक्रम शाहको परिचयपत्रमा दर्ता नं. को अगाडि जिल्ला प्रशासन कार्यालयको छोटो रूप जिप्रका लेखेको रहेछ। माओवादीले जिप्रका भनेको जिल्ला प्रहरी कार्यालय मात्र जान्दथे। यत्ति पनि नबुझ्ने भनेर हामी नरिसाइन्जेल उनीहरूले गलफत्ती गर्न छाडेनन्।

'रातापानी गाउँ छ भनेर कसले भन्यो?' जिप्रकाको प्रसङ्गमा हारेको अनुभव गरेको एकजनाले अर्को अत्तो थाप्यो। हामीले त्यो कुरा थाहा पाउनु उसका विचारमा अपराध थियो।

'तिमीहरूले लेखेर समस्या समाधान हुन्छ?' हामीले जवाफ दिन नपाउँदै उसले थप कुरा सोध्ने निहुँले हामीलाई हप्कायो।

त्यसपछि उनीहरूले हाम्रो नोटबुक हेर्न मागे। भर्खर यात्रा शुरु गरेकाले मेरो नोटबुक झ्ान्डैझ्ान्डै खाली थियो। हिजो बेलुका गाउँबाट उठीबास लागेर कोल्टीमा बसिरहेका गाउँले र माओवादी त्यागेर फर्केका युवतीहरूका बारेमा केही कुरा टिपेको थिएँ। त्यो कुरा देख्ने हो भने उनीहरूले हामीलाई त्यसै छाड्ने थिएनन्। उनीहरूको छाँट नराम्रो देखेकाले मैले अलिक अघि नै पिसाब फेर्न जाने निहुँमा अलि कोल्टे परेको ठाउँमा गएर ती पेज च्यातेर भित्री खल्तीमा राखिसकेको थिएँ। स्पाइरल नोटबुक हुनाले पाना च्यातिएको छनक कसैले पाउँदैनथ्यो। त्यसैले, मलाई नोटबुक देखाउन आपत्ति थिएन। तर उनीहरूले गरेको व्यवहारलाई हामीले निकृष्ट ठानेका छौं भन्ने कुराको जनाउ दिनु जरुरी थियो।
'तिमीहरू शाही सेनाभन्दा अझ क्रूर छौ। आजसम्म सेनाले नोटबुक हेर्न मागेको छैन', मैले भनें।

नोटबुक हेर्न कसिने मान्छे वाल्ल पर्‍यो।

'केही लेखेको भए नोटबुक देखाउने थिइनँ। अहिलेसम्म केही लेखेको छैन, त्यसैले तिमीहरूले जति हेरे पनि हुन्छ।'

यति भनेर मैले मेरो सानो नोटबुक माओवादीलाई दिएँ।

मेरो नोटबुकमा बाँकी रहेका ९० वटा जति खाली पानालाई उसले दोहोर्‍याई तेहेर्‍याई पल्टायो। त्यसपछि चुपचाप नोटबुक मलाई फर्कायो।

त्यसपछि उनीहरूले थप खोचे थाप्ने ठाउँ पाएनन्। ठाउँ पाएनन् त नभनौं। चाहेका भए उनीहरूले जेमा पनि, हामीले लगाएको लुगाको रङमा पनि, निहुँ खोज्ने थिए। त्यसो गर्न पुग्यो जस्तो लाग्यो होला उनीहरूलाई।

झमक्क साँझ परेपछि उनीहरूले हामीलाई गाउँलेको घरमा एकएक जनाका दरले राख्ने भने। हामी भएठाउँ भेला भएका गाउँलेले त्यसो गर्नुभन्दा सबैलाई एउटै घरमा राख्दा सजिलो हुन्छ भनेपछि हामी सबै जना एकै ठाउँमा बस्न पाउने भयौं। उनीहरूले हामीलाई बाटोभन्दा एक कान्ला तल्तिरको एउटा सानो घरमा लगे।

हामी बसेको भन्दा माथ्लो घरमा तीनजना बन्दूकधारी, एकजना सकेट बमधारी र एकजना निरस्त्र माओवादी हाम्रो पहरामा खटिए।

घरको एकतला माथि, माटो छापेको खुला ठाउँमा पुर्‍याएपछि अर्काे चरणको केरकार शुरु भयो।

'हाम्रा बङ्करको फोटो किन खिचेको?' साँझ्ा थपिएका अर्का माओवादीले नयाँ निहुँ खोजे।

'बङ्कर भनेको के हो र त्यो कहाँ थियो?' हामीले भन्यौं।

'उहाँहरू पल्लो बाटो आउनुभएको हो', एकजना उनकै कमरेडले जवाफ दिए।
उनले त्यसो नभनेका भए देख्दै नदेखेको वस्तुको फोटो खिचेको अपराधमा हामीलाई कारबाही गर्न बेर थिएन उनीहरूले।

'आज रातभरमा खबर आइपुग्छ, तपाईंहरूलाई अघि बढ्न दिने कि नदिने भन्ने बारेमा' भनेर उनीहरू हिंडे।

फाइनप्रिन्टबाट प्रकाशित पत्रकार मैनालीको मान्ठा डराएको जुग आज अर्थात् ८ चैत २०७१ मा बजारमा आएको छ।

comments powered by Disqus

रमझम