८-१४ चैत २०७१ | 22-28 March 2015

डाँडाको जूनघाम

Share:
  
- चन्द्रकुमार हतुवाली
नोलमा गाडी बोकेर काठमाडौं भित्र्याउनेहरूमध्ये पाँच जना भेटिए, अरू सबै बितिसकेछन्।

तस्वीरहरुः चन्द्रकुमार हतुवाली
चन्द्रशमशेर राणाको पालामा १९७८ सालमा बेलायतका राजकुमार एडवर्ड (पछि राजा एडवर्ड आठौं) शिकार खेल्न भारतबाट चितवनको कसरा आउँदा नेपालमा पहिलो पटक मोटर प्रयोग भयो। त्यसपछि मोटर राणा शासकहरूको सोख र सानको साधन बन्न थाल्यो। काठमाडौंमा मोटर ल्याउन वीरगंजदेखि ऊबेलाको मकवानपुर जिल्ला सदरमुकाम भीमफेदीसम्म सडक खनियो। भीमफेदीबाट भने वरपरका गाउँका तन्नेरीहरूका सयौं काँध चढेर काठमाडौं भित्रिन्थे, मोटर। २०१३ सालमा त्रिभुवन राजपथ (बाइरोडको बाटो) ले काठमाडौं जोडेपछि मात्र नेपालमा गाडीले मानिसको काँध छोड्यो।

करीब चार दशकको त्यो अवधिमा हजारौं तन्नेरीले लामो–लामो काठका घोचा (नोल) मा गाडी राखेर काठमाडौं ल्याए। बल–बैंसले भरिएका ती दिन र आज अनौठो लाग्ने त्यो कामको कथा सुनाउनेहरू पाँच जना मात्र भेटिए, मकवानपुरमा। उनीहरू भीमफेदीबाट गाडी बोकेर काठमाडौंको गोदामचौर पुर्‍याउँथे। “काठमाडौंका बाबुसाहेबहरूले थानकोटको गोदामचौरबाट गाडी हुँइक्याउँदै आ–आफ्नो घर लैजान्थे”, धनबहादुर गोले (८७) सम्झ्ान्छन्, “हामी ज्याला लिएर छ्याङ खाँदै, रमाइलो गर्दै घर फर्कन्थ्यौं।”

अहिले त नेपालमा सडक नै झ्ान्डै २६ हजार किलोमीटर बनिसकेको छ, १७ लाख सवारी साधन छन्। मोटर नेपालीको आधारभूत आवश्यकता भइसक्यो। मोटर विना पाइलै नसार्ने नाति–पनाति पुस्तालाई काँधमा गाडी बोकेको अनुभव सुनाउने बाजेहरू आजको जिन्दगी देखेर चकित छन्। “अहिले त जहाँ पनि गाडी चढेर मिलिक्कै पुगेको छ, पैसा पनि पुर्‍याएकै छन्”, गोले भन्छन्, “हामीले त पैसा लिएर गाडी बोक्यौं।”

सम्झना बिर्सना

भीमफेदीबाट मोटर बोकेर काठमाडौं लगिंदै।
चित्लाङ–१ भण्डारखर्कका गोलेले २००५ देखि २०११ सालसम्म गाडी बोक्ने पेशा अपनाए। अहिले चित्लाङमै बुढ्यौली बिताइरहेका छन्। मार्खुबजारस्थित घरमा यदाकदा भेटिने इमानसिं रुम्बा (८६) पहिले भारी र उलिन्काठमा मान्छे अनि पछि लामो समय गाडी बोकेको सम्झ्ान्छन्। अहिले धेरैजसो छोरासँग याम्बुरी (काठमाडौंको माछापोखरी) बस्ने उनी आफूले उलिन्काठमा बोकेका मान्छेमध्ये सीता महारानी (भीमशमशेरकी रानी) लाई बिर्सेका छैनन्, रुम्बाले। “१५ वर्षको हुँदादेखि बोक्न थालें”, रुम्बा भन्छन्, “अरू कति मान्छे, कति गाडी बोकें बिर्सिसकें।”

२००३ देखि २००८ सालसम्म ४० वटा जति गाडी बोकेका थाहा नगरपालिका–११ तसरका ८५ वर्षीय जुक्तबहादुर वाइवा अहिले गाउँमा माइला घटुवारे भनेर चिनिन्छन्, पानी घट्ट सम्हालेर बसेकाले। उनी बिहानै छ्याङको खाजा खाएर पानी घट्टतिर लाग्छन्। घट्टमा दैनिक सरदर एक पाथी पीठो उनको भागमा पर्छ। हिजोआज मीलले गर्दा मान्छेहरू घट्टमा आउन छाडेकाले जीविका गाह्रो भएको उनी बताउँछन्। उहिले गाडी बोक्न छाडेर कर्मी पेशामा लागेको बताउने वाइवा भन्छन्, “टिस्टुङ, पालुङतिर मैले बनाएका घर धेरै छन्।”

तसरकै हीराबहादुर घलानको नागरिकता हेर्दा उनी अहिले ८३ वर्षका छन्, तर यो वास्तविक उमेरभन्दा दुई वर्ष घटी भएको उनले बताए। उमेरमा दर्जनौं पटक गाडी बोकेर काठमाडौं गएका उनले बहादुर शमशेरले नेपाल छाड्दा अर्को गाडी बोकेर भीमफेदी झ्ारेको अनुभव पनि सँगाले। उनले गाडी बोकेको नोल पनि पोहोरसम्म राखेका थिए। “पोहोर हिउँदमा नोल चिरेर आगो तापेपछि त्यो बेलाको चिनो हरायो”, घलानले भने।

लइमानसिं रुम्बा।

जुक्तबहादुर वाइवा।

मार्खु–१ सर्बाङका पोते गोले (८१) यीमध्ये सबभन्दा कान्छा गाडी 'भरिया' हुन्। राणाकालमा गाडी बोक्न जाने सर्बाङका २३ जनामध्ये उनी बाहेक सबै बितिसके। गाडीबाहेक काठमाडौंबाट हिन्दुस्तान जाने र हिन्दुस्तानबाट काठमाडौं आउने अनगिन्ती राणाजीका परिवार तथा अन्य साहूमहाजनहरूलाई उलिन्काठमा बोकेको सम्झ्ाने उनलाई दमले च्याप्दै लगेको छ। “सात सालमा हारेर हिन्दुस्तान हिंडेका कति हो कति राणा परिवारलाई भीमफेदी झार्‍यौं, उनीहरू उलिन्काठमा बसेर सुँक्क–सुँक्क रुन्थे।”

भीमफेदीबाट उलिन्काठमा राखेर काठमाडौं पुर्‍याएको ज्याला ४–५ रुपैयाँ हुन्थ्यो। बडेमानको ज्यान भएका जनानालाई उलिन्काठमा राखेर एकै दिनमा थानकोट पुर्‍याएको बताउँदा पोते गोलेको अनुहार तेज देखियो। “तर गाडी बोक्दा बढी ज्याला पाइने हुनाले उलिन्काठ बोक्न छाडें”, उनी भन्छन्।

हीराबहादुर घलान।

पोते गोले ।

गाडी बोक्न घरबाट नोल, एक मुठा पराल र लट्ठी लिएर जानुपर्थ्यो। नोल गाडी बोक्न, पराल चप्पल बनाएर लगाउन र लट्ठी गाडीको भार टेकाउन प्रयोग हुन्थ्यो। गोलेले पछिसम्म पनि राखेको नोल गाउँलेहरूले घरको दलिन बोक्न लगेर हराइदिएछन्। उनको उलिन्काठ भने अझै पनि गाउँमा बेलाबेला बिरामी बोक्न काम दिएको छ।

यी गाडी र उलिन्काठ वाहकहरू जीवनको अस्ताउने टाकुरामा छन्। शारीरिक अस्वस्थता र आर्थिक अभावमा रहेका यी पाँचै जनाको सरकारसँग कुनै माग र कसैसँग कुनै गुनासो छैन। र पनि, सरकारले सामान्य आर्थिक सहयोग उपलब्ध गराएर नेपाली यातायात इतिहासका यी फरक खाले पात्रहरूको आत्मगौरव बढाइदिन नसक्ने होइन।

comments powered by Disqus

रमझम