८-१४ चैत २०७१ | 22-28 March 2015

सुफीशहरमा सुकर्म

Share:
  
- शेखर खरेल
३१ वर्षपछि लोकशास्त्रीय धुन लिएर पाकिस्तान पुगेको सुकर्मले वाह्वाही कमाएको छ।

इस्लामावादको पाकिस्तान नेसनल काउन्सिल अफ आर्टस् (पीएनसीए) को प्रेक्षालयमा वृद्धवयका आभायुक्त व्यक्ति लौरोको सहायताले मञ्चमा उक्लिए र सुकर्मका वाद्यवादकहरूलाई अंग्रेजीमा आफ्नो परिचय दिंदै भने, “म अक्रम जाकी; बीपी, गिरिजाप्रसाद कोइरालाको ज्वाइँ। अहिले मेरी श्रीमती छैनन्, छोरीसँग आएको छु। मलाई तपाईंहरूको संगीत एकदमै मनपर्‍यो।” अनि उनले नेपालीमै थपे, “आहा, कति राम्रो!” छोरी तारा जाकी कमाल त ठेट नेपाली नै बोल्दिरहिछन्। भनिन्, “तपाईंको संगीत अत्यन्तै मीठो छ, मलाई मामाघर पुगे जस्तै लाग्यो।”

बीपी कोइरालाकी बहिनी थिइन्, विजयालक्ष्मी कोइराला। पाकिस्तानी कूटनीतिज्ञ तथा राजनीतिक व्यक्तित्व अक्रम जाकीसँगको प्रेम विवाहपछि उनी पाकिस्तान नै बसिन्। जाकी पाकिस्तानी राजदूत, परराष्ट्रमामिला महासचिव, सिनेटर हुँदै परराष्ट्र मन्त्रीसम्म बने। विजयालक्ष्मी दाजु गिरिजाप्रसाद कोइराला अन्तिम पटक प्रधानमन्त्री भएको बखत क्यान्सर रोगबाट बितिन्।

इस्लामावादस्थित नेपाली राजदूतावासद्वारा २६ फागुनमा आयोजित नेपाली लोकशास्त्रीय समूहको सांगीतिक प्रस्तुति सुन्न जाकीसँगै पूर्व परराष्ट्रमन्त्रीद्वय गोहर अयुब खान र मलिक अहमद खान, सिनेटर तथा पूर्व मन्त्री मुस्तफा नवाज खोकर, सिनेटर हाजी मोहम्मद अदील, पाकिस्तान सरकारका सचिवहरू, इस्लामावादस्थित विभिन्न नियोग प्रमुखहरू, राष्ट्रिय दैनिकका सम्पादकहरू र नेपाली समुदायको भीड लागेको थियो। डा. ध्रुवेशचन्द्र रेग्मी (सितार), वरिष्ठ वाद्यवादक होमनाथ उपाध्याय (तबला), भरत नेपाली (सारङ्गी) अनि उमेश पण्डित (बाँसुरी) ले रागहरू आधारित एक दर्जन बढी लोक, शास्त्रीय तथा फ्युजन कम्पोजिसन सुनाउँदा प्रेक्षालय वाह्वाह् र तालीले गुञ्जायमान भएको थियो।

अक्रम जाकी, तारा र राजदूत भरतराज पौड्याल पहिलो लहरमा देब्रेबाट।
संयोग नै मान्नुपर्छ, सांगीतिक यात्रामा सहभागी होमनाथ उपाध्याय तीन दशकअघि पनि पाकिस्तान पुगेका थिए। “सन् १९८४ मा म, गोपालनाथ योगी, उस्ताद गणेशबहादुर भण्डारी र मोहनसुन्दर श्रेष्ठ नेपाल (राजकीय) प्रज्ञा–प्रतिष्ठानको तर्फबाट सांगीतिक प्रस्तुतिका लागि इस्लामावाद, लाहोर र कराँची पुगेका थियौं”, उपाध्यायले सुनाए।

“कार्यक्रममा जुन स्तर र संख्याको उपस्थिति देखियो, त्यो अभूतपूर्व हो, कला–संस्कृति पनि कूटनीतिको एउटा अवयव हो भन्ने कुरा पुष्टि भएको छ”, पाकिस्तानस्थित नेपाली राजदूत भरतराज पौड्यालले भने।

इस्लामावादपछि २८ फागुनमा पाकिस्तानको कला–संस्कृति केन्द्र मानिने लाहोरस्थित लाहोर आर्ट काउन्सिलको प्रेक्षालयमा पनि सुकर्मको राग सुनिएको थियो। स्थानीय जनता, नेपाली समुदाय र उच्चशिक्षा अध्ययनरत् नेपाली विद्यार्थीको उपस्थितिले लाहोर प्रस्तुति विशेष बनेको थियो। पाँच सय जना क्षमताको हलमा दर्शक–श्रोता नअटेर भुइँमा समेत बसिरहेका थिए। साँझको राग भीम, पहाडी धुन, संघर्ष जस्ता कम्पोजिसनले श्रोताको मन जितेको थियो। “नेपाली संगीत विशिष्ट र कर्णप्रिय रहेछ, काउन्सिल भविष्यमा पनि नेपाली टोलीलाई आतिथ्य प्रदान गर्न इच्छुक छ”, काउन्सिलका कार्यकारी निर्देशक अता मोहम्मद खानले भने।

लाहोरस्थित किङ् एडवर्ड मेडिकल युनिभर्सिटीमा पोष्ट ग्य्राजुएटका विद्यार्थी डा. वरुण शाहले लाहोरमा दुर्लभ यसखाले नेपाली जमघट र नेपाली सजावटबीच मौलिक धुनहरू सुन्दा आफू भञ्ज्याङ चौतारीमै भएको अनुभूत गरेको बताए।

सांगीतिक कार्यक्रमलाई पाकिस्तानका सञ्चारमाध्यमहरूले निकै ग्राह्यता दिएका थिए। लाहोरस्थित सिटी टीभी ४२ ले त कार्यक्रमको प्रत्यक्ष प्रसारण नै गरेको थियो।

comments powered by Disqus

रमझम