छरपस्ट 'सद्भावना परिवार'

Share:
  
- सञ्जीव शर्मा
३ वैशाखमा अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टीद्वारा आयोजित पार्टी स्थापनाको रजतजयन्ती कार्यक्रममा सहभागी भएका सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले ४ वैशाखमा 'सद्भावना परिवार' को नाममा एकीकरण पहल शुरू गरेका छन्।

नेपाल सद्भावना पार्टी र नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) लाई पत्र लेखेर 'परिवार' एकीकरणको पहल थालेको बताउने महतो अन्य दलहरूसँग एकीकरण गरी शक्तिशाली सद्भावना पार्टी निर्माण गरिने बताउँछन्। “यसअघि पनि विभिन्न मधेशवादी दलहरूसँग गरिएको एकीकरण प्रयास सफल नभए पनि अहिले कम्तीमा सद्भावना परिवारलाई एकीकृत गर्ने प्रयास थालेका छौं”, महतोले ४ वैशाखमा हिमाल सँग भने।

गजेन्द्रनारायण सिंहले मधेश–मुद्दालाई लिएर ३ वैशाख २०४७ मा स्थापना गरेको नेपाल सद्भावना पार्टी अहिले पाँच टुक्रामा विभाजित छ। रामजनम तिवारी, गजेन्द्रनारायण सिंह, रामचन्द्र मिश्र लगायतले २०४० सालमा 'नेपाल सद्भावना परिषद्' को नामबाट थालेको सामाजिक आन्दोलनले नै २०४६ पछि मधेशको मुद्दामा केन्द्रित राजनीतिक पार्टीको स्वरुप लिएको थियो। २०४७ असारमा जनकपुरमा भएको पार्टीको प्रथम महाधिवेशनले मधेशको भाषा–संस्कृति, नागरिकता, संघीयता, समानुपातिक प्रतिनिधित्व, आरक्षण लगायतका विषयमा ९ बुँदे माग तय गरेको थियो। सद्भावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्ण भन्छन्, “त्यो बेला देश टुक्र्याउन खोजेको भनिएका ती मागमध्ये धेरैजसो पूरा भएका छन्।”

सिंहले प्रजातन्त्र पुनर्स्थापनापछि २०४८ को संसद्मा धोती–कुर्ता लगाएर हिन्दीमा सम्बोधन गर्दा ठूलै विरोध भएको थियो। त्यही विरोध र खैलाबैलाबाट नेपालका विविध भाषा–संस्कृतिले भोगेका विभेदबारे औपचारिक बहस शुरू भएको कर्ण बताउँछन्। उनका पार्टी अध्यक्ष राजेन्द्र महतो 'मधेश' सुन्नै नचाहनेहरूका बीच सिंहले मधेशको पहिरन र भाषाको बम फाल्दा देश तरंगित भएको बताउँछन्। अहिलेजस्तो सञ्चार र गैरसरकारी संस्थाहरूको विकास भइनसकेको त्यसबेला सिंहले मधेश र मधेशीलाई राष्ट्रिय मूलधारमा स–सम्मान जोड्ने प्रयास थालेका थिए ठूलो विरोधका बाबजूद। तर, २०५८ मा सिंहको निधनपछि छरपस्ट भएका पार्टीहरूले सिंहको भावनालाई समेट्न सकेनन्, बरु चरम साम्प्रदायिक नारा समेत उरालिन थाले मधेशमा।

अहिले संविधानसभामा प्रतिनिधित्व गरिरहेका तीन दल (सद्भावना पार्टी, तराई–मधेश सद्भावना पार्टी र नेपाल सद्भावना पार्टी) ले आफ्नो नाममा 'सद्भावना' शब्द बोकेका छन्, तर तिनमा न सिंहको ओज छ न लोकप्रियता। 'सद्भावना' शब्द बोकेका नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) र नेपाल सद्भावना पार्टी (युनाइटेड) को त राजनीतिक गतिविधि समेत शून्यप्रायः छ।

फूटको श्रृंखला

२०४८ सालमा राष्ट्रियसभा सदस्य मनोनयनमा नपरेपछि रामजनम तिवारीले नेपाल सद्भावना पार्टी (आर) खोलेर पहिलो पटक नेपाल सद्भावना पार्टी फुटाए। अर्का नेता हृदयेश त्रिपाठीले सार्वजनिक लेखा समितिको सभापति बन्ने आफ्नो इच्छामा पार्टी तगारो भएपछि २०५२ मा नेपाल समाजवादी जनता दल खोले। गजेन्द्रनारायण सिंहको निधनपछि त पार्टीभित्र यति चलखेल चल्यो कि पंचायतकालीन मन्त्री बद्री मण्डल नै यसका अध्यक्ष हुन आइपुगे, जो तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ असोजमा गठन गरेको सरकारमा समेत मन्त्री बने।

मण्डलले 'प्रतिगमनलाई समर्थन गरेपछि' राजविराज महाधिवेशनमा नेपाल सद्भावना पार्टी दुई चिरा भयो। राजेन्द्र महतो, भरत विमल यादव लगायतका नेताहरूले संस्थापक नेता सिंहकी पत्नी आनन्दीदेवीको नेतृत्वमा नेसपा (आनन्दीदेवी) बनाएर २०६१ सालको शाही 'कु' विरुद्ध आन्दोलनमा होमिए। २०६४ जेठमा नेसपा (आनन्दीदेवी) र बद्री मण्डल अध्यक्ष रहेको नेसपाबीच एकीकरण हुँदा आनन्दीदेवी अध्यक्ष र बद्री मण्डलको पार्टीका तर्फबाट लक्ष्मणलाल कर्ण वरिष्ठ उपाध्यक्ष भए।

त्यसको तीन महीनामा भएको एकता महाधिवेशनमा भने अध्यक्ष आनन्दीदेवी सहित श्यामसुन्दर गुप्ता, खुशीलाल मण्डल, देवेन्द्र मिश्र लगायतका नेताहरू अनुपस्थित भए। अधिवेशनबाट राजेन्द्र महतो पार्टी अध्यक्ष भए पनि निर्वाचन आयोगले पार्टीको आधिकारिकता अनुपस्थित समूहलाई दिएपछि महतोले सद्भावना पार्टी दर्ता गराए।

सद्भावना (आनन्दीदेवी) नाम पाएको समूह पनि टुक्रेर सरिता गिरीको नेतृत्वमा नेपाल सद्भावना पार्टी र श्यामसुन्दर गुप्ताको नेतृत्वमा नेपाल सद्भावना पार्टी (युनाइटेड) गठन भयो। २०६४ मंसीरमा निर्वाचन आयोगमा हस्ताक्षर गर्न हिंडेका नेताहरूलाई अपहरण गरेको आरोप लागेका श्यामसुन्दर गुप्ता अहिले व्यापारी अपहरण गरेको प्रमाणित भएर जेलमा छन्।

२०६८ साउनमा सद्भावनाबाट अलग्गिएको संघीय सद्भावना र नेपाल सद्भावना पार्टी (आनन्दीदेवी) फुटेर बनेको नेसपाबीच २०७१ फागुनमा एकीकरण भई नेपाल सद्भावना पार्टी बन्यो भने तमलोपाबाट टुक्रिएको समूहसँग सद्भावना पार्टीबाट टुक्रिएको राष्ट्रिय सद्भावना गाँसिएर तराई–मधेश सद्भावना पार्टी बन्यो। अघिल्लो संविधानसभा निर्वाचनमा ९ सीट जितेको महतो नेतृत्वको पार्टी दोस्रो संविधानसभामा ६ सीटमा खुम्चिए पनि संगठन र संसद्मा प्रतिनिधित्वका हिसाबले अरूभन्दा ठूलो छ।

२०६४ पछि थपिएका मधेश केन्द्रित दलहरू तराई मधेश लोकतान्त्रिक पार्टी र मधेशी जनअधिकार फोरम नेपालमा पनि फूटको श्रृंखला उस्तै छ। मधेशकेन्द्रित दलहरू नयाँ सरकार गठन वा कुनै नियुक्ति अघि फुट्ने र चुनाव अघि जुट्ने गरेका छन्। “मधेशवादी दलहरू फुट्नुमा धेरै जसो व्यक्तिगत महत्वाकांक्षा र सत्तास्वार्थ देखिएको छ”, नेसपा अध्यक्ष अनिल झा भन्छन्। आफूले मधेशको मात्र नभई देशभरका विभेदमा परेका र सीमान्तकृतका मुद्दा उठाएको दाबी गर्दै झा भन्छन्, “हामी समान विचार भएका दलहरूसँग एकीकरण गर्दै बलियो राष्ट्रिय शक्ति बन्ने प्रयासमा छौं।” मधेश राजनीतिका जानकार तुलानारायण साह कांग्रेस–एमाले जस्तो लामो समयसम्म संघर्षको इतिहास नहुँदा मधेशकेन्द्रित दलहरूमा बलियो नेतृत्वको विकास हुन नसकेको बताउँछन्। “निर्वाचन र सत्तामा सहभागिताले मात्रै बलियो नेतृत्वको विकास हुँदैन”, साह भन्छन्, “संघर्षको लामो इतिहास नहुँदा नेता, कार्यकर्ताबीचको दूरी पनि हुँदैन त्यसैले यस्ता दलहरूमा फुट्ने र जुट्ने क्रम चलिरहन्छ।” सिंहले शुरू गरेको आन्दोलनको आयतन र सहभागिता अहिले बढेको उनको ठहर छ।

comments powered by Disqus

रमझम